३१ भाद्र २०८३ बुधबार
image/svg+xml
खेल

अब एकदिवसीय मान्यता जोगाउन नेपाललाई चुनौती

फायल तस्बिर

आइसिसी विश्वकप क्रिकेट लिग-२ को जारी संस्करणमा नेपालको खराब प्रदर्शनपछि नेपाल क्रिकेट संघ (क्यान)ले गरेको कप्तान परिवर्तनको निर्णय सही दिशातर्फ गएको देखिन थालेको छ। क्यानले गत साउनमा रोहितकुमार पौडेललाई कप्तानबाट हटाउँदै सन्दीप लामिछानेलाई एकदिवसीय टोलीको नेतृत्वको जिम्मेवारी दिएको थियो।

अन्तर्राष्ट्रिय क्रिकेटमा निरन्तर उत्कृष्ट प्रदर्शन, चर्चित विदेशी व्यावसायिक क्रिकेट लिगको अनुभवलगायत कारण कप्तानमा सन्दीपको पुनरागमन सम्भव भयो। क्यानले एकदिवसीय टोलीमा कप्तानमात्र नभई केही खेलाडीसमेत परिवर्तन गरेको थियो। कप्तानमा नियुक्त भएलगत्तै उनको सामु सर्वाधिक ठूलो चुनौती थियो, एसिसी एसिया कपमा छनोट हुनु।

नयाँ र पुराना खेलाडी मिश्रित टोली व्यवस्थापनको चुनौतीबीच पनि सन्दीपले दुईवटै भूमिकामा उत्कृष्ट प्रदर्शन गरे। उनी नेतृत्वको नेपालले एसिसी प्रिमियर कप २०२६ मा कुल छ खेल खेल्यो। जसमा नेपालले पाँचमा जित र एक खेलमा मात्र पराजित भयो। समूह विजेताको हैसियतमा टोलीले सेमिफाइनलमा स्थान बनाएको थियो। सेमिफाइनलमा पनि सानदार प्रदर्शन गरेर नेपालले सहजै फाइनलमा स्थान सुरक्षित गर्यो।

फाइनल खेलमा नेपालले युनाइटेड अरब इमिरेट्स (युएई)लाई ४४ रनले हराउँदै उपाधिमात्र जितेन दोस्रोपटक एसिया कपमा पनि स्थान बनायो। नेपालले एसिया कपको यात्रा गर्नुमा कप्तान लामिछानेको भूमिका प्रमुख रह्यो। उनले बलिङमा हरेक खेलमा विपक्षी टोलीविरुद्ध दबाब राखे।

सन्दीपले प्रतियोगिताको छ खेलमा २.९८ को सानदार इकोनमी रेटमा सबैभन्दा बढी १७ विकेट लिए।

टोलीको सफलतामा निर्णायक प्रदर्शन गरेका कप्तान लामिछाने प्रतियोगिताकै ‘सर्वोत्कृष्ट खेलाडी’ घोषित भए। उनी एकदिवसीय ढाँचाको एसिसी प्रिमियर कपमा लगातार दोस्रोपटक ‘सर्वोत्कृष्ट खेलाडी’ चयन भएका हुन्।

कप्तान लामिछानेले सन् २०२३ को संस्करणमा पनि उक्त अवार्ड प्राप्त गरेका थिए। उनले यसपटक व्यक्तिगत प्रदर्शनमात्र नभई कप्तानको भूमिका पनि कुशलतापूर्वक निर्वाह गर्दा नेपालले उपाधि जित्न सफल भएको राष्ट्रिय क्रिकेट टोलीका पूर्वखेलाडी दीपेन्द्र चौधरीको भनाइ छ।

'एसिसी प्रिमियर कपमा नेपालको नतिजा कप्तानमा सन्दीप सफल देखिएको प्रमाण हो। उनले जुन प्रकारले टोलीको नेतृत्व गरिरहनुभएको छ, त्यसले अरू खेलाडीलाई पनि मद्दत पुगिरहेको छ', चौधरीले भने, 'प्रतियोगितामा सन्दीपले बलरको सही सदुपयोग गर्नुभयो। टोलीमा धेरै नयाँ खेलाडी हुँदा पनि उहाँको कप्तानी उत्कृष्ट रह्यो। आगामी प्रतियोगिताहरूमा पनि यस्तै नतिजाको आशा छ।'

क्यानको खेलाडी छनोट समितिका पूर्वसंयोजकसमेत रहनुभएका चौधरीले एसिसी प्रिमियर कपमा अन्य खेलाडीको प्रदर्शन पनि उत्कृष्ट रहेको बताए। टोली एकढिक्का भएर खेल्दा सकारात्मक नतिजा आउने उल्लेख गर्दै उनले दबाबमा पनि खेलाडीले धैर्य भएर खेल्दा नेपालले उपाधि जितेको बताए।

'सन्दीपको उत्कृष्ट कप्तानी त रह्यो नै टोलीको सफलतामा अरू खेलाडीको प्रदर्शनलाई पनि नजरअन्दाज गर्न मिल्दैन। बसिर अहमद, करण केसी, गुलशन झा, आसिफ शेख, अर्जुन कुमाललगायतको प्रदर्शन पनि टोलीले उपाधि जित्नमा अहम् रह्यो', चौधरीले भने।

उनले अब सन्दीपसामु आइसिसी विश्वकप लिग-२ को अन्तिम शृङ्खलामा उत्कृष्ट नतिजा ल्याउनुपर्ने चुनौती रहेको बताए। नेपाली टोली अहिले एकदिवसीय मान्यता जोगाउन तालिकाको शीर्ष छभित्र पर्नैपर्ने दबाबमा छ।

'नेपालले अब विश्वकप लिग-२ को जारी चक्रमा एउटा शृङ्खलामात्र खेल्न बाँकी छ। जुन सिरिजमा हामीले ओमान र क्यानडाको सामना गर्नेछौँ। यी दुई टोलीको पछिल्लो प्रदर्शन हेर्दा त्यति उत्कृष्ट छैन। एसिसी प्रिमियर कप जितेकाले नेपाली टोलीमा आत्मविश्वास उच्च छ। नेपालले त्यसको फाइदा उठाउन सक्छ', पूर्वखेलाडी चौधरीले भने।

ताजा अवस्थामा नेपाल विश्वकप लिग-२ तालिकाको सातौँ स्थानमा छ। नेपालले ३२ खेल खेल्दा १९ मा हार र ११ खेलमा जित निकालेको छ। नेपालले दुई खेलमा भने अंक बाँडेको छ। शीर्ष ६ मा परेर एकदिवसीय मान्यता जोगाउन नेपालले अब कम्तीमा तीन खेल जित्नुपर्ने समीकरण बनेको छ। नेपालले लिग-२ को अन्तिम शृङ्खला आगामी अक्टोबरमा खेल्ने तालिका छ।

प्रकाशित: ३१ भाद्र २०८३ ०७:५२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App