विश्वकप २०२६ पछि सार्वजनिक गरिएको फिफा पुरुष विश्व वरीयतामा नर्वे सबैभन्दा धेरै स्थान सुधार गर्ने टोली बनेको छ। क्वार्टरफाइनलसम्मको प्रभावशाली यात्रापछि नर्वे १२ स्थान उक्लिँदै १९औँ स्थानमा पुगेको हो।
विश्वकप विजेता स्पेनले भने अर्जेन्टिनालाई पछि पार्दै फेरि विश्व वरीयताको शीर्ष स्थान कब्जा गरेको छ। फाइनलमा अतिरिक्त समयमा अर्जेन्टिनालाई १–० ले हराउँदै स्पेनले दोस्रोपटक विश्वकप उपाधि जितेको थियो। यसअघि स्पेनले सन् २०१० मा दक्षिण अफ्रिकामा पहिलो विश्वकप जितेको थियो।
४८ टोली सहभागी विश्वकपमा कीर्तिमानी १ सय ४ खेल सम्पन्न भएका थिए। प्रतियोगितापछि सार्वजनिक नयाँ वरीयतामा स्पेन १ हजार ९ सय ९५.८८ अंकसहित पहिलो स्थानमा छ भने अर्जेन्टिना १ हजार ९ सय ७०.३७ अंकसहित दोस्रो स्थानमा रहेको छ।
फ्रान्स तेस्रो र इंग्ल्यान्ड चौथो स्थानमा यथावत् रहँदा ब्राजिल पाँचौँ, मोरक्को छैटौँ, पोर्चुगल सातौँ, बेल्जियम आठौँ, नेदरल्यान्ड्स नवौँ तथा आयोजक मेक्सिको दशौँ स्थानमा छन्।
मेक्सिकोले चार स्थान सुधार गर्दै मार्च २०२२ यता पहिलोपटक शीर्ष १० मा पुनरागमन गरेको छ। अमेरिका एक स्थान माथि उक्लिँदै १६औँ स्थानमा पुगेको छ भने क्यानडा ३०औँ स्थानमै कायम रहेको छ।
डिआर कंगो पाँच स्थान सुधार गर्दै ४१औँ स्थानमा पुगेको छ। विश्वकपमा डेब्यु गरेको केप भर्डे तीन स्थान उक्लिँदै ६४औँ स्थानमा पुगेको छ।
उत्तर अफ्रिकाका टोलीमध्ये मोरक्कोले क्वार्टरफाइनल यात्राको प्रभावस्वरूप छैटौँ स्थानमा पुग्दै आफ्नो इतिहासकै उत्कृष्ट वरीयता बनाएको छ। विपरीत, ट्युनिसिया १२ स्थान तल झर्दै ५७औँ स्थानमा पुगेको छ।
प्रकाशित: ५ श्रावण २०८३ १२:४० मंगलबार





