१६ श्रावण २०८३ शनिबार
image/svg+xml
खेल

खेलाडीलाई छैन विश्राम

अगस्ट २१ देखि इङ्लिस प्रिमियर लिग

फिफा विश्वकपको सकिएको एक महिनाजति पनि नबित्दै विश्वकै चर्चित लिगमध्ये एक इङ्लिस प्रिमियर लिगको नयाँ सिजन सुरु हुँदै छ।

आगामी अगस्ट २१ तारिखदेखि सुरु हुने लिग र जुलाई १९ तारिखमा अमेरिकामा सम्पन्न विश्वकप फाइनलबिचको अन्तर मात्र ३३ दिनको छ। यो समय व्यावसायिक क्लबका लागि पर्याप्त मानिएको छैन। किनभने फिफाकै नियमअनुसार विश्वकप खेलेका खेलाडीले कम्तीमा तीन साताको विश्राम पाउनुपर्छ। त्यसपछि मात्र उनीहरू क्लबमा फर्किएर टोलीसँग अभ्यास गर्न पाउँछन्। यसले विशेष गरी विश्वकपको अन्तिम चरणसम्म पुगेका खेलाडी रहेका क्लबलाई अप्ठ्यारो परेको छ। इङ्लिस प्रिमियर लिग क्लब टोटेनहम त्यसको उदाहरण हो। क्रिस्टियन रोमेरो र नयाँ अनुबन्धित खेलाडी मार्कोस सेनेसी अर्जेन्टिनासँग फाइनल पुगे। पेड्रो पोरो स्पेनको विश्वकप विजेता टोलीका सदस्य हुन्। उनी टोटेनहमकै स्टार पनि हुन्।

यही क्लबका डिजेड स्पेन्स इङ्ल्यान्डसँग तेस्रो स्थानको प्लेअफसम्म पुगेका थिए। फिफाको विश्रामसम्बन्धी प्रावधान लागू गर्दा फाइनल खेलेका खेलाडीहरू ९ अगस्टअघि क्लबमा फर्किन सक्दैनन्। स्पेन्सको हकमा त्यो मिति ८ अगस्ट हुन्छ। महत्त्वपूर्ण खेलाडी नहुँदा क्लबहरूले सुरुमा नै क्षति बेहोर्न सक्छन्।

अगस्ट २२ मा ब्रेन्टफोर्डविरुद्ध प्रिमियर लिगको पहिलो खेल खेल्नुअघि टोटेनहमसँग अभ्यास गर्ने समय करिब दुई साता मात्र हुनेछ। यद्यपि, अर्जेन्टिनाको टोलीमा अन्तिम समयमा समावेश भएका र विश्वकपमा दुई खेल खेलेका सेनेसी प्रिसिजन परीक्षणका लागि क्लबको प्रशिक्षण केन्द्र पुगिसकेको टोटेनहमले जनाएको छ। तर प्रशिक्षकहरूको चिन्ता खेलाडी ढिलो फर्किनुमा मात्र सीमित छैन।

प्रिसिजनको अधिकांश समय नयाँ रणनीति अभ्यास गर्ने, खेलाडीको फिटनेस सुधार्ने र मैत्रीपूर्ण खेलमार्फत टोलीलाई लयमा ल्याउने काममा खर्च हुन्छ। विश्वकपबाट ढिलो फर्किने खेलाडीले यी सबै प्रक्रिया गुमाउँछन्। त्यसपछि उनीहरूलाई पुनः टोलीमा घुलमिल गराउँदै फिटनेस पनि कायम राख्नुपर्ने चुनौती प्रशिक्षकसामु हुन्छ। म्यानचेस्टर सिटी र आर्सनलको पनि उस्तै चिन्ता छ।

विश्वकपको अन्तिम चरणसम्म सबैभन्दा धेरै खेलाडी पुग्ने प्रिमियर लिग क्लबमा म्यानचेस्टर सिटी र आर्सनलका हुन्। सिटीका रोड्रीले ७२६ मिनेट खेल्दै स्पेनलाई दोस्रोपल्ट पुरुष विश्वकप उपाधि जिताउन भूमिका खेले। उनी विश्वकपको महत्वपूर्ण खेलाडी पनि चयन भएका थिए। उनले विश्वकपमा गोल्डेन बल पाएका थिए।

मार्क गुएही र इलियट एन्डरसन इङ्ल्यान्डको अन्तिम सप्ताहसम्मको यात्रामा सहभागी थिए। निको ओ राइली इङ्ल्यान्डबाट सेमिफाइनलसम्म पुगे भने एर्लिङ हालान्ड र जेरेमी डोकु क्वार्टरफाइनलसम्म खेले। आर्सनलका डेक्लान राइस र बुकायो साका पनि तेस्रो स्थानको प्लेअफसम्म इङ्ल्यान्ड टोलीमा रहे। मार्टिन जुबिमेन्डी र मिकेल मेरिनो स्पेनसँग फाइनल पुगे। विलियम सालिबाले फ्रान्सलाई तेस्रो स्थानको प्लेअफसम्म पु¥याउन मद्दत गरे। तर त्यसपछि उनी ढाडको चोटका कारण बाहिरिए। नोनी माडुके अन्तिम सप्ताहसम्म इङ्ल्यान्ड टोलीमा रहे। तर उनी क्वार्टरफाइनलपछि मैदान उत्रिन पाएनन्। नर्वेका कप्तान मार्टिन ओडेगार्ड भने क्वार्टरफाइनलसम्म पुगे।

देखिन थाल्यो खेलभारको असर

फिफा विश्वकप सकिएलगत्तै केही खेलाडी चोटका कारण केही समय मैदानबाहिर रहने निश्चित भएको छ। म्यानचेस्टर सिटीका रोड्रीको हालै ढाडको शल्यक्रिया भएको छ।  

उनी सिजनको सुरुआती केही खेल गुमाउने सम्भावना छ। आर्सनलका सालिबाले शल्यक्रिया गर्नुपरेन। तर ढाडको समस्याका कारण उनी लामो समय मैदानबाहिर रहने क्लबले जनाएको छ। यी चोटलाई विश्वकपकै प्रत्यक्ष परिणाम भन्न सकिँदैन तर निरन्तर बढिरहेको खेल संख्या र व्यस्त तालिकाले खेलाडीमाथि कति ठूलो शारीरिक दबाब परेको छ भन्ने संकेत भने यसले दिन्छ। केही प्रमुख खेलाडीसँग पूर्ण प्रिसिजन तयारी नै नगरी सिटी, आर्सनल, टोटेनहम र चेल्सीले नयाँ सिजन सुरु गर्नुपर्ने अवस्था आउन सक्छ।

विश्वकपमा सबैभन्दा धेरै समय मैदानमा बिताउने प्रिमियर लिग खेलाडी एस्टन भिल्लाका गोलरक्षक एमिलियानो मार्टिनेज रहे। अर्जेन्टिनाको फाइनल यात्रामा उनले सबै ८१० मिनेट खेले। लिभरपुलका एलेक्सिस म्याक एलिस्टर ७४९ मिनेटसहित दोस्रो र स्पेनका रोड्री ७२६ मिनेटसहित तेस्रो स्थानमा रहे। धेरै खेलाडीले विश्वकपभर आठ खेल बराबरको समय मैदानमा बिताएका छन्।

 फिफाको नियमअनुसार फाइनल खेलेका रोड्री, पेड्रो पोरो, मार्टिन जुबिमेन्डी, एलेक्सिस म्याक एलिस्टर, एन्जो फर्नान्डेज, एमिलियानो मार्टिनेज र लिसान्ड्रो मार्टिनेज ९ अगस्टअघि क्लबमा फर्किन पाउने छैनन्। इङ्ल्यान्डका तेस्रो स्थानको प्लेअफ खेलेका खेलाडी भने एक दिनअघि फर्कनेछन्। यसले नयाँ सिजन सुरु हुनुअघि आफ्ना प्रमुख खेलाडीलाई पुनः टोलीमा समायोजन गर्न क्लबहरूसँग झन्डै १२ दिनमात्र बाँकी रहने अवस्था बनाएको छ।

व्यस्त हुँदै तालिका

चिन्ता यस वर्षको विश्वकपसम्म सीमित छैन। विश्व फुटबलका धेरै शीर्ष खेलाडीले लगातार तीन ठूला प्रतियोगिता खेलेका छन्। सन् २०२४ को युरोपियन च्याम्पियनसिप र कोपा अमेरिका, त्यसपछि विस्तारित क्लब विश्वकप र अहिलेको विश्वकप। स्पेनका रोड्रीले सन् २०२४ मै अत्यधिक खेलभारका कारण खेलाडी हडतालसम्म जान सक्ने चेतावनी दिएका थिए। आर्सनलका प्रशिक्षक मिकेल आर्टेटा र म्यानचेस्टर सिटीका प्रशिक्षक एन्जो मारेस्काले पनि पटकपटक व्यस्त खेल तालिकाप्रति चिन्ता व्यक्त गर्दै आएका छन्।

विश्वकपका क्रममा देखिएका चोटहरूले पनि ती चिन्तालाई थप बल दिएका छन्। एस्टन भिल्लाका अमाडु ओनानाले बेल्जियमका लागि खेल्दा घुँडाको गम्भीर चोट बेहोरे। म्यानचेस्टर युनाइटेडका मानुएल उगार्टेको विश्वकप पनि चोटकै कारण समयअघि समाप्त भयो।

ह्यामस्ट्रिङ समस्याबाट फर्किरहेका रिसे जेम्सको खेल समय इङल्यान्डले सावधानीपूर्वक व्यवस्थापन गर्‍यो। विश्वकपको यात्रा सकिएलगत्तै प्रिमियर लिग सुरु हुन दिनगन्ती सुरु भइसकेको छ। तर धेरै खेलाडीका लागि अहिले पहिलो प्राथमिकता प्रतिस्पर्धा मात्र होइन शरीरलाई पूर्ण रूपमा तयार बनाउनु हुनेछ।

प्रकाशित: १६ श्रावण २०८३ ०८:४५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App