३ चैत्र २०८२ मंगलबार
image/svg+xml
खेल

नेपाली महिला फुटबलर फेरि फाइनलमा असफल

एकपल्ट फेरि नेपाली महिला खेलाडी फाइनलमा चुक्दा नेपालको एपिएफ क्लबले साफ क्लब च्याम्पियनसिपको पहिलो संस्करणको उपाधि घरमा नै राख्न असफल भएको छ।

नेपाली राष्ट्रिय महिला टोलीको सदस्यले भरिएको एपिएफ उपाधि भिडन्तमा पराजित भएसँगै घरेलु मैदानमा ट्रफी उचाल्न असफल भयो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सम्पन्न फाइनलमा एपिएफले शनिबार इस्ट बंगालसँग ३–० को लज्जास्पद हार बेहोर्‍यो। झन्डै चार दशकको अन्तर्राष्ट्रिय यात्रामा नेपाली महिला फुटबलमा अझै उपाधिविहीन बन्यो। यसअघि नेपाली राष्ट्रिय टोली १३ पल्ट फाइनलमा पराजित भएको थियो। नेपालकै एपिएफ क्लब पनि उपाधि भिडन्तमा असफल बन्यो। नेपाली महिला फुटबलमा अन्तर्राष्ट्रिय ट्रफीको खडेरी अझै तोडिएन। लिगमा अपराजित एपिएफले फाइनलमा खराब प्रदर्शन गरेपछि उपाधि उचाल्न असवर गुमाउन पुग्यो।

एपिएफले लिगचरणमा उत्कृष्ट डिफेन्स र गोलकिपिङ गरेका थियो। यस क्रममा एउटा पनि गोल सामना गरेन तर विदेशी खेलाडीले भरिएको इस्ट बंगालसँग भने एपिएफको रक्षापंक्ती खराब साबित भयो । एपिएफका प्रशिक्षक जीवेश पाण्डेले आफ्नो टोलीले हरेक पक्षमा गल्ती गरेको बताए। ‘एउटा खेलाडीले मात्र होइन। हरेक खेलाडीले गल्ती गरे। हाम्रो योजनाअनुरूप खेल नै हुन सकेन। अन्तर्राष्ट्रियस्तरमा एपिएफले अभैm सुधार गनुपर्ने देखिएको छ,’प्रशिक्षक पाण्डेले भने। इस्ट बंगालका प्रशिक्षक एन्थोनी सामसनले लक्ष्यअनुरूप सफलता मिलेको धारणा राखे। ‘हामी जुन लक्ष्य लिएर आएका थियौं, त्यो पूरा भएको छ। एपिएफले खराब खेलेको होइन। उनीहरूले पनि धेरै प्रयास गरेका थिए,’इस्ट बंगालका प्रशिक्षक एन्थोनीले उल्लेख गरे।

इस्ट बंगालकी कप्तान फाजिला इक्वापुटले दुई र सिल्कीदेवि हमामले एक गोल गरिन्। फाजिलाले यससँगै प्रतियोगिताभर सर्वाधिक ९ गोल पूरा गरिन्। उनी सर्वाधिक गोलकर्ता र मस्ट भ्यालुएबल प्लेयर पनि भइन्। इस्ट बंगालले यस प्रतियोगिताभर एक गोल पनि सामना गरेन। इस्ट बंगालकै गोलकिपरको पान्थोई चान्नु उत्कृष्ट भइन्। यी दुवैले एक हजार अमेरिकी डलर पाए। एपिएफले यसअघि एक गोल पनि खाएको थिएन तर फाइनलमा तीन गोल सामना गर्‍यो। नेपाली महिला फुटबलमा १४औं पटक अन्तर्राष्ट्रिय फाइनल खेले पनि फेरि उपाधिविहीन भयो। खेल अवधिभर एपिएफले दबाबमै रहेर खेल्यो। खेलको २२औं मिनेटमा कप्तान फजिलाले इस्ट बंगाललाई अग्रता दिलाइन्।

सरिता युम्नामको पास सदुपयोग गर्दै इक्वापुटले बललाई जाली चुमाइन्। देब्रे भागमा एपिएफकी डिफेन्डर मनमाया दमाइले हेडर क्लियर गर्न नसकेको बल फाजिलाले नियन्त्रणमा लिइन्। उनले एपिएफकी अर्की डिफेन्डर गीता रानालाई पनि छक्याउँदै गोल गरिन् । योसँगै एपिएफले च्याम्पियनसिपमा पहिलो गोल गर्‍यो। यसपछि इस्ट बंगाल थप आक्रामक बन्यो । ३५औं मिनेटमा इस्ट बंगाल गोल गर्न पनि सफल भयो। सिल्कीदेविले गोल गर्दै पाहुना टोलीको अग्रता दोब्बर बनाइन्।

आसलता देवीले राइट साइटबाट गरेको क्रसलाई सिल्कीदेवीले टप कर्नर हेडरबाट गोल गरेकी हुन् । त्यसअघि तेस्रो मिनेटमा एपिएफकी रश्मिकुमारी घिसिङले अवसर गुमाइन। रश्मिले पेनाल्टी बक्सभित्र हिराकुमारी भुजेलले दिएको क्रस नियन्त्रणमा लिन नसक्दा गोल गर्न असफल भइन्।

२३औं मिनेटमा अञ्जनाले एपिएफको खतरा टारिन्। इस्ट बंगालकी रेस्टी नान्जिरीले पेनाल्टी बक्स भित्रबाट गरेको प्रहारलाई अञ्जनाले नियन्त्रणमा थिइन्। त्यसपछि थप गोल भएन र पहिलो हाफमा इस्ट बंगाल २–० ले अगाडि रह्यो। दोस्रो हाफको सुरुमै एपिएफले तेस्रो गोल बेहोर्‍यो। ४७औं मिनेटमा एपिएफकी गोलकिपर अञ्जनाको गल्तीमा इस्ट बंगालले तेस्रो गोल गर्‍यो। पेनाल्टी बक्सबाहिरबाट फाजिलाले गरेको सट अञ्जनाको हातमा पुगे पनि उनले फुत्काएपछि बलले जाली चुम्यो। ५२औं मिनेटमा एपिएफले गोल अवसर बुन्यो। अनिता बस्नेतको कर्नर प्रहारमा रश्मिको हेडर इस्ट बंगालकी गोलकिपर पान्थोई चान्नुले सहजै नियन्त्रणमा लिइन्।

५६औं इस्ट बंगालकी फाजिलाले वान भर्सेस वानको स्थितिमा गोल गर्न सकिनन्। त्यसपछि इस्ट बंगाल र एपिएफले केही अवसर बुने तर गोल भने निस्किएन। भारतीय टोली इस्ट बंगालले पहिलो संस्करणको क्लब च्याम्पियनसिपको उपाधि उचाल्यो। उपाधि विजेता इस्ट बंगालले १० हजार र एपिएफले पाँच हजार डलर पुरस्कार पाए।  

प्रकाशित: ६ पुस २०८२ ०६:१४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App