८ चैत्र २०८२ आइतबार
image/svg+xml
खेल

तेस्रो पटक टी-२० विश्वकप खेल्ने लक्ष्य बोकेर ओमानमा नेपाली टोली

बुधबारबाट ओमानको मस्कटमा आइसिसी पुरुष टी–२० विश्वकप २०२६ को एसिया तथा इस्ट एसिया प्यासिफिक छनोट सुरु हुँदैछ।  

सो छनोटमा कूल ९ टोलीले प्रतिस्पर्धा गर्दछन्। ती ९ टोलीलाई तीन समूहमा विभाजन गरिएको छ। समूह ए मा मलेसिया, कतार र संयुक्त अरब इमिरेट्स (यूएई) रहेको छ भने समूह बी मा नेपाल, जापान र कुवेत रहेका छन्। त्यसैगरी समूह सी मा ओमान, पपुवा न्युगिनी र सामाेआ रहेका छन्।  

हरेक समूहका शीर्ष दुई टोली सुपर सिक्समा पुग्नेछन्। सुपर सिक्समा पुगेपछि शीर्ष स्थानमा रहेको तीन टोलीले विश्वकप खेल्नेछ। नेपाल तेस्रो पटक विश्वकप खेल्ने लक्ष्यमा रहेको छ। उच्च मनोबल र विश्वकपमा छनोट हुने लक्ष्य बोकेर नेपाली राष्ट्रिय क्रिकेट टोली ओमान पुगेको छ।  

विश्वकप छनोटको लागि तयारी राम्रो भएको नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहित कुमार पौडेलले बताए। ‘समग्रमा हेर्दा हाम्रो तयारी एकदमै राम्रो भएको छ, हामीले यहाँ आएर पनि दुई वटा अभ्यास खेले खेलेका छौँ, र टोली विश्वकप छनोट खेल्न तयार छ’ कप्तान रोहितले नेपाल क्रिकेट संघ (क्यान)को आधिकारिक युट्युब च्यानलबाट भने। नेपालले यसअघि दुई पटक टी- २० विश्वकप खेलिसकेको छ। यसपटक लगातार दोस्रो पटक र समग्रमा तेस्रो पटक विश्वकपमा पुग्ने लक्ष्य लिएको छ।  

नेपालले सन् २०१४ मा पहिलो पटक टी- २० विश्वकप खेलेको थियो। त्यसपछि एक दशक अर्थात् १० वर्षपछि नेपालले दोस्रो पटक विश्वकप खेल्यो। अहिले नेपाली टोली कुनै अन्तर नराख्दै लगातार दोस्रो पटक विश्वकप खेल्न चाहन्छ। यही विश्वकपको लागि नेपाली टोलीले महिनौँ देखि तयारी गरेको छ।  

‘हामीले विश्वकप छनोटको तयारीको लागि जति टुर्नामेन्टहरु खेल्यौँ त्यसले हाम्रो आत्मविश्वास एकदम बढाएको छ’, कप्तान रोहित भन्छन्, ‘हामीले विश्वकप छनोटको सुरुआती खेलेदेखि नै राम्रो सुरुआत गर्नेछौँ।’ नेपालले हङ्कङको सिरिज देखि अस्ट्रेलियामा समेत गएर अभ्यास गरेको छ।  

योभन्दा पनि नेपाली टोलीको लागि सबैभन्दा फाइदा वेस्ट इन्डिजसँगको खेल भयो। टेस्ट राष्ट्र वेस्ट इन्डिजसँगको सिरिजमा २- १ को जित हात पारेर नेपालले इतिहासमा आफ्नो नाम कोर्‍यो।  

वेस्ट इन्डिजसँगको सिरिजले एकदमै मद्दत पुगेको रोहित बताउँछन्। तर, नेपालको असली परीक्षा अब सुरु हुनेछ। किनभने, यो छनोटको दाबेदारको रुपमा नेपाललाई हेरिएको छ।  

पछिल्लो समय नेपाली क्रिकेट टोलीले एउटा उचाइ हासिल गरेको छ। त्यो उचाइ हासिलकै कारण अब सबैको ध्यान नेपाली क्रिकेट माथि नै हुनेछ।  

वेस्ट इन्डिज जस्तो टेस्ट राष्ट्रलाई हराएको नेपाललाई विश्वकपमा छनोट हुने दबाब छ। नेपालले समूह चरणका विपक्षी टोली कुवेतसँग धेरै प्रकारको प्रतियोगिताहरु खेलेको छ। नेपाल र कुवेतले एकअर्कालाई चिनेका छन्। तर, नेपाल र जापानको यहाँ पहिलो भेट हुनेछ। त्यसपछि नेपाल सुपर सिक्समा प्रवेश गरेपछि नेपाली टोलीले चिनिरहेको टोलीसँग प्रतिस्पर्धा गर्नेछ। ‘हाम्रो असली परीक्षा अबबाट सुरु हुँदैछ, हामीले सुरुदेखि नै सुरुआत गर्नेछौँ’ कप्तान रोहितले भने, ‘विश्वकपमा छनोट हुने हाम्रो लक्ष्य छ।’  

नेपालले पहिलो विश्वकप खेलेको १० वर्षपछि मात्र दोस्रो पटक विश्वकप खेलेको थियो। यसपटक भने, नेपाली टोली त्यति विशाल अन्तर गर्न चाहँदैन। टोली सन्तुलित, राम्रो तयारी र खेलाडीहरुको उच्च मनोबल भएको कारण टोलीले विश्वकपमा आफ्नो स्थान बनाउने छ। नेपाली टोली लगातार दोस्रो पटक विश्वकपमा छनोट हुन चाहन्छ।  

विश्वकप छनोट अन्तर्गत समूह चरणको पहिलो खेलमा नेपालले बुधबार कुवेतको सामना गर्ने छ भने शुक्रबार जापानसँग प्रतिस्पर्धा गर्न छ।  

नेपाली टोलीमा रोहित पौडेल (कप्तान), दीपेन्द्रसिंह ऐरी (उपकप्तान), आसिफ शेख, कुशल भुर्तेल, सन्दिप लामिछाने, नन्दन यादव, आदिल आलम, सन्दिप जोरा, आरिफ शेख, सोमपाल कामी, ललित राजवंशी, गुलशन झा र लोकेश बम रहेका छन्।

प्रकाशित: २१ आश्विन २०८२ १४:०० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App