२३ फाल्गुन २०८२ शनिबार
image/svg+xml
खेल

नेपाली तेक्वान्दो निर्णायक ढकाल अष्ट्रेलिया प्रस्थान

तस्बिर : नेपाली सेनाका अन्तर्राष्ट्रिय तेक्वान्दो निर्णायक दीपेन्द्र ढकालको फेसबुकबाट

नेपाली सेनाका अन्तर्राष्ट्रिय तेक्वान्दो निर्णायक दीपेन्द्र ढकालले अष्ट्रेलियामा हुने विश्व वरीयताको तेक्वान्दो प्रतियोगितामा निर्णायकको भूमिका निर्वाह गर्नेछन्।

उनी यही अगस्ट १४ देखि १७ सम्म अष्ट्रेलियाको गोल्डकोस्टस्थित कारा रङ्गशालामा हुने डब्लुटी प्रेसिटेन्ड कप ओसियना, डब्लूटी प्रेसिटेन्ड कप र विश्व वरीयता जी–२ अष्ट्रेलियन ओपन अन्तर्राष्ट्रिय प्रतियोगितामा निर्णायकको जिम्मेवारी सम्हाल्ने तयारीमा छन्।

सन् २०२५ विश्व तेक्वान्दो प्रेसिडेन्ट कप (ओशियानिया) र अष्ट्रेलियाली ओपन जस्ता प्रतिष्ठित प्रतियोगिता यही अगस्ट १४ देखि १७ तारिखसम्म गोल्ड कोस्ट स्पोट्र्स एण्ड लेजर सेन्टरमा हुनेछन्। जसले विश्वभरका उत्कृष्ट ब्ल्याक बेल्ट खेलाडीलाई आकर्षित गर्नेछ।

विश्व वरीयता प्राप्त यो प्रतियोगितामा स्पेयरिङ, पारा–क्योरुगी, पुम्से प्याटर्न, र पारा–पुम्से समावेश हुनेछन्। विश्व–स्तरीय गोल्ड कोस्ट खेलकुद र मनोरञ्जन केन्द्रले ७० भन्दा बढी देशका प्रतिस्पर्धीका साथै खेल अधिकारी सहभागी हुनेछन्।

यो प्रतियोगिता तेक्वान्दो खेलकुदको अन्तर्राष्ट्रिय स्तरमा नेपाली प्रतिनिधित्व र प्रतिष्ठालाई बलियो बनाउने महत्त्वपूर्ण अवसर भएको जनाइएको छ।

त्रिभुवन आर्मी क्लबमा आबद्ध ढकालले विसं २०७१ देखि विभिन्न तेक्वान्दो प्रतियोगितामा निर्णायकको जिम्मेवारी सम्हाल्दै आएका छन्। काभ्रेको कुशादेवीस्थित लालीगुराँस तेक्वान्दो डोजाङबाट तेक्वान्दो खेल्न थालेका ढकाल तेक्वान्दोका पाँचौ डान हुन्। नेपाली सेनाबाट डब्लुटिए तेक्वान्दोको अन्तर्राष्ट्रिय निर्णायक बन्ने उनी पहिलो हुन्। उनी त्रिभुवन आर्मी क्लबमा तेक्वान्दो प्रशिक्षकको जिम्मेवारीमा छन्। चीनको वुहानमा विसं २०७६ कात्तिकमा भएको सातौँ विश्व सैनिक खेलकुद प्रतियोगितामा समेत रेफ्रीको भूमिका निर्वाह गरेका थिए।

ढकाल ‘रोयल स्पेनिस इन्टरनेसनल ओपन तेक्वान्दो प्रतियोगिता २०२२’ मा वेष्ट निर्णायकसमेत घोषित भएका थिए। विश्वका ७९ देशका एक हजार बढी खेलाडीबिच प्रतिस्पर्धा भएको उक्त प्रतियोगिताका लागि ६५ भन्दा बढी मुलुकका निर्णायक सहभागी थिए।

यसअघि नेपालमा सम्पन्न साउथ एसियन प्रतियोगिता, माउन्ट एभरेस्ट प्रतियोगितालगायत क्यानडा, चीन, पाकिस्तान, बेल्जियम, फ्रान्स, जर्मनी, उज्बेकिस्तान भएका अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा पनि ढकाल निर्णायक भइसकेका छन्।

रेफ्री ढकाल राष्ट्रिय प्रतिभा पुरस्कार २०८० बाट समेत सम्मानित भएका थिए। युवा तथा खेलकुद मन्त्रालयले आयोजना गरेको खेलकुद प्रतिभा एवम् खेलकुद पत्रकारिता पुरस्कारसमेत प्राप्त गरेका ढकालले विभिन्न अन्य पुरस्कारसमेत प्राप्त गरेका छन्। रासस

प्रकाशित: २६ श्रावण २०८२ ०६:३० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App