नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोली अहिले संयुक्त अरब इमिरेटमा (यूएई)मा ऐतिहासिक सिरिज खेल्न गएको छ।
आउँदो असोज ११, १३ र १४ (सेप्टेम्बर २७, २९ र ३०) गते नेपाली टोलीले वेस्ट इन्डिजसँग तीन वटा टी-२० ऐतिहासिक सिरिज खेल्दै छ। यो खेल खेल्न टोली सोमबार त्यसतर्फ प्रस्थान गरिसकेको छ।
नेपालले यूएईमा वेस्ट इन्डिजसँग ऐतिहासिक सिरिज खेल्दै नेपाली क्रिकेटको नयाँ युगको सुरुआत गर्नेछ। नेपालले पहिलो पटक टेस्ट राष्ट्र वेष्ट इन्डिजसँग तीन खेलको सिरिज खेल्न लागेको हो । यो पहिलो र ऐतिहासिक सिरिज भएकाले टोली एकदमै उत्साहित रहेको कप्तान रोहित पौडेल बताउँछन्। उनले भने, 'हामी वेस्ट इन्डिजविरुद्ध खेल्न एकदमै उत्साहित छौँ, अहिले हाम्रो टोली सन्तुलित पनि छ।'
यो सिरिज खेलसँगै नेपाली क्रिकेटमा एउटा इतिहास रचिने छ। वेस्ट इन्डिजविरुद्ध खेल्न लागेको नेपाली टोली एकदमै उत्साहित देखिएको छ। टोलीले विश्वकपमा सहभागिता जनाए पनि यति ठूलो अवसर कहिल्यै पाएको थिएन।
वेस्ट इन्डिजसँग खेल्न पाउनु नेपालको राम्रो अवसर रहेको टोलीका सहायक प्रशिक्षक ज्ञानेन्द्र मल्ले बताउँछन्। गत बिहीबार नेपाल क्रिकेट संघ (क्यान)को बिदाइ कार्यक्रममा उनले भने, 'विश्वकप छनोटमा जानुअघि यो सिरिज एकदमै ठूलो अवसर हो, हामीले यो अवसरलाई सदुपयोग गर्नछौँ।'
नेपाली टोलीले आगामी महिना ओमानमा हुने विश्वकप छनोटको तयारी स्वरुप यो सिरिज खेल्न लागेको हो। नेपालले खेल्न लागेको वेस्ट इन्डिज दुई पटकको विश्वविजेता टोली हो । यो टोलीसँगको नेपालको प्रतिस्पर्धा अघिल्लो चरण प्रवेशमा उपयोगी हुने विश्वास गरिएको छ ।
'हाम्रो लागि वेस्ट इन्डिज एकदमै राम्रो एक्जपोजर हो । त्यहाँ निकै नाम चलेका र राम्रा खेलाडीूसँग खेल्ने मौका पाउँदै छौँ,' कप्तान रोहितले भने, 'हामी उच्च मनोबलको साथ वेस्ट इन्डिजविरुद्ध खेल्ने लक्ष्यमा छौँ।'
वेस्ट इन्डिजले नेपालविरुद्ध खेल्न मुख्य खेलाडीलाई टोलीमा नसमेटे पनि नेपालविरुद्ध खेल्न लागेको टोलीको राम्रो अनुभव छ। यता, नेपाली टोलीमा पनि यो सिरिजमा दुई खेलाडीले पुनरागमन गरेका छन्। जसबाट नेपाली टोली थप मजबुत देखिएको छ।

मोहम्मद अदिल अन्सारी झन्डै तीन वर्षपछि नेपाली राष्ट्रिय टोलीमा फर्किएका छन्। त्यस्तै, सन्दीप जोराले पनि टोलीमा स्थान बनाएका छन्।
तीन वर्षपछि टोलीमा पुनरागमन गरेका आदिलले वेस्ट इन्डिजविरुद्ध उत्कृष्ट खेल्ने बताए। 'तीन वर्षपछि राष्ट्रिय टोलीमा स्थान पाएको छु, अझै वेस्ट इन्डिजविरुद्धको खेलसँग एकदमै उत्साहित छु,' उनले भने, 'म आफैँ व्यक्तिगत पनि राम्रो प्रदर्शन गर्न लक्ष्यमा छु।' नेपाली राष्ट्रिय टोलीले यसअघि अघिल्लो वर्ष आफ्नै मैदानमा वेस्ट इन्डिज 'ए' सँग प्रतिस्पर्धा गरेको थियो।
पाँच खेलको टी-२० सिरिज खेलेको नेपाली टोली त्यस सिरिजमा ३-२ ले हारेको थियो। तर, यस पटक टोली नतिजा आफ्नो पक्षमा पार्ने लक्ष्यमा छ। कप्तान रोहित भन्छन्, 'हामीले वेस्ट इन्डिज 'ए' सँग खेल्दा सिरिज गुमाएका थियौँ, तर यस पटक सिरिज जित्ने टोलीको मुख्य लक्ष्य छ।' नेपालले यो सिरिज जितेमा एउटा ऐतिहासिक सफलता हुनेछ ।
सिरिज जित्नेमा सकारात्मक आदिल पनि छन्। उनी भन्छन्, 'हाम्रो टोली अहिले एकदमै सन्तुलित छ, सबैले आ-आफ्नो भूमिका निर्वाह गर्नेछौँ, हामी वेस्ट इन्डिजलाई टक्कर दिनेछौँ।' नेपाली टोली विश्वकप छनोटमा जानुभन्दा अघि हुने यो अन्तिम अभ्यास खेल हुनेछ ।

यसपछि टोली सिधैँ ओमान प्रस्थान गर्नेछ। नेपालले विश्वकप खेल्न निकै लामो समयदेखि तयारी गरिरहेको छ । हङकङमा भएकाे चार देश सम्मिलित टि-२० सिरिजदेखि अष्ट्रेलियाको टप एण्ड टी-२० सिरिज तयारी स्वरुप खेलेको छ।
'विश्वकपकै लागि भनेर हामीले राम्रो तयारी गरौँ, जहाँ अष्ट्रेलियासम्म पुगेर हामीले सिरिज खेल्यौँ, यो सबैले गर्दा हामीले एकदमै मद्दत पुगेको छ विश्वकप छनोट खेल्नको लागि,' रोहित भन्छन्, 'अझै वेस्ट इन्डिजसँग राम्रो गर्न सक्यौँ भने हामीलाई प्लस पोइन्ट हुन्छ।'
नेपाल र वेस्ट इन्डिजबीचको पहिलो खेल असोज ११ गते यूएईको शहराज क्रिकेट रगंशालमा हुनेछ। तीन दिन सिरिज खेलेपछि टोली त्यतैबाट ओमान प्रस्थान गर्नेछ। ओमानमा अक्टोबर ८ देखि १७ सम्म एसिया प्यासिफिक क्षेत्रीय छनोटको हुनेछ।
प्रकाशित: ९ आश्विन २०८२ १४:०२ बिहीबार





