१३ चैत्र २०८२ शुक्रबार
image/svg+xml
खेल

नेप्लिज तेक्वान्दो एकेडेमी च्याम्पियन

नेप्लिज तेक्वान्दो एकेडेमी १५औं इन्टरनेसनल ओपन फ्रेन्डसिप तेक्वान्दो च्याम्पियन्सीप (आइओएफटिसी) मा टिम च्याम्पियन भएको छ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलुकद परिषद्को कभर्डहलमा शनिबार सम्पन्न प्रतियोगितामा नेप्लिज तेक्वान्दो एकेडेमीले सर्वाधिक ४५ स्वर्ण, ३२ रजत र ३१ कांस्य पदक जित्दै टिम च्याम्पियनको उपाधि उचाल्यो। प्रतियोगितामा कोटेश्वर तेक्वान्दो डोजाङ दोस्रो र चन्द्रागिरी तेक्वान्दो डोजाङ तेस्रो भए। च्याम्पियन नेप्लिज तेक्वान्दोले ट्रफीसहित ५० हजार रुपैयाँ प्राप्त गर्‍यो।

कोटेश्वर ३७ हजार पाँच सय र चन्द्रागिरी २५ हजार रुपैयाँ पायो। कोटेश्वरले ३१ स्वर्ण, २० रजत र १५ कांय पदक जित्यो। चन्द्रागिरीले ९ स्वर्ण, सात रजत र तीन कास्ंय पदक प्राप्त गर्‍यो। चौथो हुने अमेरिकाले आठ स्वर्ण र दुई रजत पदक जित्यो।

ग्रान्ड च्याम्पियनमा पहिलो इभेन्टअन्तर्गत पुरुषतर्फ भुवन महरा र महिलामा माल्दिभ्सकी फाटिमा इब्राहिम विजेता भए। ग्रान्ड च्याम्पियनतर्फ दोस्रो इभेन्टमा पुरुषतर्फ अमेरिकाका डेनिस कारन्जित र महिलामा कोटेश्वर तेक्वान्दो डोजाङकी मनीषा विश्वकर्मा च्याम्पियन भए।

 ग्रान्ड च्याम्पियनअन्तर्गत तेस्रो इभेन्टमा पुरुषतर्फ निराप लामा र महिलामा इसिका राना पहिलो भए। ग्रान्ड च्याम्पियन ६ जना विजेता खेलाडीले जनही ५० हजार रुपैयाँ पुरस्कार पाए। प्रतियोगितामा क्योरुगीतर्फ चन्द्रागिरीका समीर ठाकुर सर्वश्रेष्ठ पुरुष र मनीषा नेपाल सर्वश्रेष्ठ महिला खेलाडी घोषित भए।

पुम्सेमा बंगलादेशका अफिफ अहमद उत्कृष्ट पुरुष र सुमिना वाइबा उत्कृष्ट महिला खेलाडी चुनिए। चारै खेलाडी जनही २५ हजार रुपैयाँबाट पुरस्कृत भए। प्रजुन कुइँकेलले उकृष्ट पुरुष रेफ्री र जमुना श्रेष्ठले उत्कृष्ट महिला रेफ्रीको सम्मान पाए। अमेरिकाका अनमोल गोर्खालीले सर्वश्रेष्ठ पुरुष प्रशिक्षक र भारतकी कविता घर्ती सर्वश्रेष्ठ महिला प्रशिक्षकले सम्मानित भए।

सर्वश्रेष्ठ रेफ्री र प्रशिक्षकले जनही २५ हजार रुपैयाँ पुरस्कार पाए। सर्वाधिक सहभागी तीन टिमलाई पनि नगद पुरस्कारसहित सम्मान गरिएको थियो। नेप्लिज तेक्वान्दो एकेडेमीबाट सर्वाधिक सहभागिता रहेको थियो।

नेप्लिजले प्रोत्साहनस्वरूप ५० हजार रुपैयाँ पायो। कोटेश्वर तेक्वान्दो डोजाङलाई ३७ हजार पाँच सय र काभ्रे तेक्वान्दो डोजाङले २५ हजार रुपैयाँ पाए। यी दुई सर्वाधिक खेलाडी सहभागिता गराउने सूचीमा क्रमशः दोस्रो र तेस्रो स्थानमा थिए। पूर्वमन्त्री जीवनराम श्रेष्ठले विजेता तथा उत्कृष्ट खेलाडी, प्रशिक्षक र रेफ्रीहरूलाई पुरस्कृत गरेका थिए।  

प्रकाशित: ६ पुस २०८२ ०७:४१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App