१३ चैत्र २०८२ शुक्रबार
image/svg+xml
खेल

लिग-२ मा १२औं हारपछि दबाबमा नेपाल

बलिङसँगै फिल्डिङमा पनि साथ नपाउँदा नेपालले आइसिसी विश्वकप लिग-२ को त्रिदेशीय शृंखलामा फेरि अमेरिकासँग हार बेहोरेको छ।

संयुक्त अरब इमिरेट्स (युएई) मा जारी त्रिदेशीय शृंखलामा शनिबार राम्रो ब्याटिङ गरेको नेपालले बलिङमा साथ नपाउँदा अमेरिकासँग चार विकेटको हार सामना गर्‍यो। यस शृंखलामा तेस्रो र लिग–२ मा नेपालको यो १२औं हार हो।

कुल ३६ खेलको लिगमा लगातारको हारसँगै शीर्ष चारमा रहेर विश्वकप क्वालिफायर २०२७ मा पुग्ने नेपालको लक्ष्यमा दबाब बढेको छ। यसै शृंखलामा नेपाल यसअघि अमेरिकासँग एक सय ६ रन र घरेलु टोली युएईसँग पाँच विकेटले पराजित भएको थियो। १९ खेल सकिँदा नेपाल १२ अंक जोड्दै सातौं स्थानमा छ। शीर्ष स्थानको अमेरिकाको २३ खेलबाट ३४ अंक छ।

२३ खेलमा १७औं जित निकाल्दै अमेरिकाले शीर्ष चारको दाबेदार बलियो बनाएको छ। यस शृंखलामा अमेरिकाको तेस्रो जित हो। लिग–२ मा नेपालले खराब ब्याटिङ सामना गरिरहेको थियो। शनिबार भने नेपाली ब्याटरले सुधारिएको प्रदर्शन गरे। यससँगै दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा नेपालले दुई सय ७२ रनको राम्रो लक्ष्य दियो तर नेपालले बलिङमा साथ पाउन सकेन।

अमेरिकाले ४९औं ओभरमा मात्र ६ विकेट गुमाएर लक्ष्य भेट्टायो। फिल्डिङमा उत्कृष्ट प्रदर्शन गर्दै आएको नेपालले अमेरिकासँग सोही लय देखाउन सकेन। अर्को हार सामना गर्दै लिग–२ मा नेपालको खराब नतिजा जारी रह्यो।

अमेरिकाका मध्य क्रमका ब्याटर साइतेजा र मिलिन्ड कुमारले उत्कृष्ट लय कायमै राख्दै आफ्नो टोलीलाई जित दिलाए। दुवैले अर्धशतक प्रहार गरे। यी दुईले चौथो विकेटका लागि एक सय २३ रनको महत्त्वपूर्ण साझेदारी गरे। साइतेजाले १०१ बलमा सर्वाधिक ७५ रनको योगदान दिए। उनको इनिङमा दुई चौका र एक छक्का रह्यो।

मिलिन्ड कुमारले ६६ बलमा ७० रन जोडे। उनले सात चौका र एक छक्का हिर्काए। शायन जहानगिरले ३६, कप्तान मोनांक पटेलले २१,  शुवम रन्जानेले १९, स्मिथ पटेलले १६ रन जोडे। पहिलो विकेटका लागि शायन र स्मितबीच ५३ रनको साझेदारी भएको थियो।

अन्तिम चार ओभरमा नेपालले दबाब बनाउने प्रयास गर्‍यो तर सञ्जय कृष्णमुर्ती १५ रनमा र हरमित सिंहले १३ रनको अविजित इनिङ खेल्दै जित दिलाए। नेपालको बलिङमा सन्दीप लामिछानले तीन तथा करण केसी, नन्दन यादव र  गुलसनकुमार झाले समान एक विकेट लिए।

टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले ४९.५ ओभरमा अलआउट हुनुअघि दुई सय ७१ रनको योगफल बनाएको थियो। मध्य क्रमका ब्याटर दीपेन्द्रसिंह ऐरीसँगै थप चार ब्याटरबाट राम्रो साथ पाएपछि नेपालले राम्रो योगफल बनाएको हो। दीपेन्द्रसिंह ऐरीले ६७ बलमा सर्वाधिक ७५ रन जोडे। उनको इनिङमा तीन छक्का र दुई चौका रह्यो।

ओपनर कुशल भुर्तेलले ४७, भीम सार्कीले ४३, कप्तान रोहितकुमार पौडेलले ३७ रन र आठौं नम्बरमा आएका करणले ४९ रनको महत्त्वपूर्ण इनिङ खेले। दोस्रो विकेटका लागि कुशल र भीमले ८६ रनको साझेदारी गरे। त्यसपछि दीपेन्द्र र रोहितबीच पाँचौं विकेटका लागि ८९ रनको साझेदारी हुँदा नेपाल राम्रो योगफलमा अग्रसर भएको हो तर बलिङ र फिल्डिङमा नेपालले साथ पाउन सकेन।

अमेरिकाको बलिङमा हरमित सिंहले तीन विकेट लिए। सौरभ नेत्रवाल्कर, नोस्थुश केन्जिगेले समान दुई तथा जसदीप सिंह र शुभम् रन्जानेले समान एक विकेट लिए। अब नेपालले आगामी बुधबार घरेलु टोली युएईसँग यस शृंखलाको अन्तिम खेल खेल्नेछ।  

प्रकाशित: १६ कार्तिक २०८२ ०७:४४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App