विश्व फुटबल महासंघ (फिफा) द्वारा लगाइएको निलम्बनका कारण नेपालले तीनवटा अन्तर्राष्ट्रिय फुटबल प्रतियोगितामा सहभागिता गुमाउने भएको छ।
एसियाली फुटबल महासंघ (एएफसी) ले अखिल नेपाल फुटबल संघ (एन्फा) का महासचिव किरण राईलाई पत्र पठाउँदै निलम्बनका कारण नेपालले तीन अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्न नपाउने जानकारी गराएको हो। तेस्रो पक्ष अर्थात् सरकारी हस्तक्षेप भएको भन्दै फिफाले गत जुन २४ (असार १०) गते एन्फामाथि निलम्बन लगाएको थियो।
नेपाली खेलकुदको कार्यकारी निकाय राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले गत चैत १३ गते तय भएको एन्फाको अर्ली निर्वाचन हुन नदिएको तथा एन्फाका पदाधिकारीलाई एएफसी र फिफाका कार्यक्रममा सहभागी हुनबाट रोकिएको लगायतका कारण देखाउँदै फिफाले नेपालमाथि प्रतिबन्ध लगाएको हो।
निलम्बनका कारण नेपालले अब तीनवटा महत्वपूर्ण अन्तर्राष्ट्रिय प्रतियोगिता गुमाउने भएको छ। एन्फाले एएफसी महिला च्याम्पियन्स लिग २०२६/२७ का लागि नेपाल पुलिस क्लब (एपिएफ) को नाम दर्ता गरिसकेको भए पनि फिफाको निलम्बनका कारण नेपाल प्रतियोगिताबाट बाहिरिएको जनाएको छ।
एएफसीले मंगलबार सार्वजनिक गरेको प्रतियोगिताको सूचीमा नेपालका कुनै पनि क्लब समावेश थिएनन्। यसअघि घरेलु महिला लिग स्थगित भएका कारण नेपालले प्रतिनिधि क्लब पठाउन नसकेको अनुमान गरिए पनि एन्फाले भने साविक विजेता एपिएफलाई नेपालको प्रतिनिधिका रूपमा मनोनयन गरी दर्ता गरिसकेको दाबी गरेको छ।
फिफा निलम्बनकै कारण नेपालले आगामी एएफसी यू–१७ महिला एसियन कप २०२७ छनोट तथा एएफसी यू–२० छनोट प्रतियोगिता पनि गुमाउने जोखिम बढेको छ।
एन्फाका प्रवक्ता सुरेश शाहले यी प्रतियोगिताका लागि नेपालले नाम पठाइसकेको भए पनि निलम्बनका कारण खेल्न नपाउने जानकारी दिनुभयो। एएफसीले निलम्बन कायम रहे नेपाललाई ती प्रतियोगिताबाट समेत हटाइने चेतावनी पत्रमार्फत दिएको छ।
यो निलम्बनका कारण एन्फाले आर्थिक प्रतिबन्धसमेत सामना गर्नुपर्ने भएको छ। जसका कारण अधिकांश घरेलु प्रतियोगितासँगै ग्रासरुट फुटबल कार्यक्रमहरू पनि प्रभावित हुने देखिएको छ।
प्रकाशित: १७ असार २०८३ २०:४५ बुधबार





