६ आश्विन २०८३ मंगलबार
image/svg+xml
राजनीति

जेनजी आन्दोलनपछि पनि देशमा परिवर्तन भएन : आरन राई

प्रतिनिधिसभा सदस्य आरन राईले जेनजी आन्दोलनका क्रममा क्षति भएका संरचनाको पुनर्निर्माणमा ढिलाइ भएको बताएका छन्। प्रतिनिधिसभाको बैठकमा बोल्दै राईले जेनजी आन्दोलनका क्रममा ठूलो भौतिक क्षति भए पनि क्षतिग्रस्त संरचनाहरू अझै जस्ताको तस्तै रहेको बताए। 

‘दुःखका साथ भन्नुपर्छ, जेनजी आन्दोलनमा देशभर ठूलो क्षति भयो। तर अझै पनि क्षति भएका संरचनाहरू सबै जस्ताको तस्तै छन्। पुनर्निर्माण कहिले हुने हो ?’ उनले प्रश्न गरे। 

युवाले नयाँ भविष्यका लागि आन्दोलन गरे पनि अहिले आम नागरिकमा निराशा देखिएको राईको भनाइ थियो। ‘यत्रो आन्दोलन युवाले नयाँ भविष्यका लागि गरे। तर अहिले हरेक मान्छेमा निराशा छ। यो किन भइरहेको छ ?’ उनले प्रश्न गरे। 

राईले पछिल्ला महिनामा भएका आत्मदाहका घटनालाई समेत राज्यप्रति नागरिकको निराशासँग जोडेर अध्ययन गर्नुपर्ने बताए। केही दिनअघि मोटरसाइकल चालक र त्यसपछि बस चालकले आत्मदाह गरेको घटनालाई उदाहरण दिँदै उनले सार्वजनिक रूपमा देखिएका यस्ता पात्रबाहेक समाजमा अरू कति नागरिक निराश अवस्थामा छन् भन्ने विषयमा समेत सरकारले अध्ययन गर्नुपर्ने बताए। 

साथै ट्राफिक प्रहरीको कार्यशैली र त्यससँग जोडिएका विवादबारे निष्पक्ष ढंगले छानबिन गर्नुपर्ने उनले बताए। आत्महत्या तथा आत्मदाहका घटना बढ्नुका कारणबारे सरकारले गम्भीर अध्ययन गर्नुपर्ने र सडक, भौतिक पूर्वाधार तथा सामाजिक संरचनामा रहेका समस्याको पहिचान गर्नुपर्ने उनले बताए। 

‘कहाँ कहाँ हामीले त्रुटि गर्‍यौँ, कहाँ कहाँ हाम्रा समस्या छन्, नीतिगत समस्या हो कि अरू के समस्या छन्, कम्तीमा यससम्बन्धी सरकारले विशेष पहल गरोस्,’ राईले भने। 

प्रकाशित: ६ आश्विन २०८३ १४:०७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App