नेकपा (एमाले) का उपाध्यक्ष विष्णुप्रसाद पौडेलले निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठनसम्बन्धी प्रतिवेदनले एमाले जनतासँग टाढिएको विषय स्पष्ट पारेको बताएका छन्।
ललितपुरमा जारी पार्टीको तेस्रो केन्द्रीय कमिटीको बैठकको दोस्रो दिनमा बोल्दै उनले यस्तो बताएका हुन्। जनतासँग टुटेको सम्बन्ध पुनर्स्थापित गर्न पार्टीभित्र एकताबद्ध नेतृत्व र बलियो संगठन निर्माण आवश्यक रहेको उनले बताए।
पौडेलले पार्टीलाई पुनर्गठित गर्दै जनतासँगको सम्बन्ध थप सुदृढ बनाउनुपर्नेमा जोड दिएको सचिव महेश बस्नेतले बताए। पौडेलको भनाइ उद्दत गर्दै बस्नेतले सरकार संविधान र लोकतान्त्रिक मूल्य–मान्यताविपरीत अघि बढिरहेको आरोप लगाएको बताए।
सोही क्रममा पौडेलले ट्रेड युनियन अधिकारमाथिसमेत प्रहार भइरहेको बताएका छन्। उनले पछिल्लो निर्वाचनमा एमालेले पराजय बेहोरेको उल्लेख गर्दै अब पार्टीलाई पुनर्गठन गरेर अघि बढ्नुपर्नेमा जोड दिए। जनताको बहुदलीय जनवादलाई मार्गदर्शन बनाएर पार्टी निर्माणको अभियान अघि बढाउनुपर्ने उनको भनाइ छ।
'सरकार संविधान र लोकतान्त्रिक मूल्य–मान्यताविपरीत चलिरहेको छ। ट्रेड युनियन अधिकारमाथि समेत प्रहार भइरहेको छ। पछिल्लो निर्वाचनमा एमालेले पराजय बेहोरेको छ। पार्टीलाई पुनर्गठित गर्दै जनताको बहुदलीय जनवादलाई मार्गदर्शन बनाएर अघि बढ्नुपर्छ,' पौडेलको भनाइ उद्दत गर्दै बस्नेतले सामाजिक सञ्जालमा लेखेका छन्, 'निर्वाचन समीक्षा र पार्टी पुनर्गठनसम्बन्धी प्रतिवेदनले एमाले जनतासँग टाढिएको कुरा स्पष्ट पारेको छ। जनतासँग टुटेको सम्बन्ध पुनर्स्थापित गर्न एकताबद्ध नेतृत्व र बलियो संगठन निर्माण गर्नुपर्छ।'
प्रकाशित: ६ आश्विन २०८३ १३:५५ मंगलबार





