भारतले श्रीलंकालाई १४७ रनले पराजित गर्दै एसियाली खेलकुदको महिला क्रिकेटमा स्वर्ण पदक जितेको छ।
निसिनमा आज भएको फाइनलमा भारतले दिएको २१७ रनको लक्ष्य पछ्याएको श्रीलंका १५.४ ओभरमा ६९ रनमै अलआउट भयो। श्रीलंकाका लागि कप्तान चामारी अटापट्टुले सर्वाधिक २९ रन बनाइन्। कौशिनी नुथ्याङ्गानाले १४ तथा कविशा दिलहारीले ११ रन जोडिन्।
भारतका लागि दीप्ति शर्माले चार ओभरमा ६ रन खर्चेर तीन विकेट लिइन्। श्रेयांका पाटिल, शफाली वर्मा र श्रेया चारानीले समान २-२ विकेट हात पारे।
त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको भारतले निर्धारित २० ओभरमा तीन विकेट गुमाएर २१६ रन बनाएको थियो। भारतका लागि स्मृति मन्धानाले ४५ बलमा ७९ रनको उत्कृष्ट इनिङ्स खेलिन्। उनले पाँच चौका र सात छक्का प्रहार गरिन्। शफाली वर्माले २९ बलमा ४८ रन बनाइन्।
रिचा घोषले २२ बलमा अविजित ४९ रन जोडिन्। उनले ६ चौका र तीन छक्का प्रहार गरिन्। कप्तान हरमनप्रित कौरले १९ रन बनाइन्।
श्रीलंकाका लागि सुगन्धिका कुमारी, कविशा दिलहारी र चामुडी प्रभोदाले एक-एक विकेट लिए।
प्रकाशित: ६ आश्विन २०८३ १३:५५ मंगलबार





