आइसिसी महिला टी–२० च्यालेन्ज ट्रफीमा नेपालले दोस्रो हार व्यहोरेको छ। शुक्रबार रुवान्डामा रहेको किगाली गहंगा क्रिकेट ओभलमा नेपाल भानुआटुसँग २२ रनले पराजित भएको हो।
भानुआटुले दिएको ९८ रनको लक्ष्य पछ्याएको नेपाल १५.३ ओभरमा मात्रै ७५ रनमा अलआउट भयो । नेपालका लागि ओपनर सम्झना खड्काले सर्वाधिक २४ रन बनाइन्। कप्तान इन्दु बर्माले १३ रन जोड्दा अन्य ब्याटरको प्रदर्शन सम्झन लायक रहेन।
बलिङतर्फ भानुआतुकी नसिमानाले ३ विकेट लिइन् भने सेलिना सोलमनको नाममा २ विकेट रह्यो।
त्यसअघि, टस जितेर पहिला ब्याटिङ गरेको भानुआटुले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर ९७ रन बनाएको थियो। भानुआटुका लागि भ्यालेन्टा लाङ्गियातु सर्वाधिक ४२ रन बनाइन्।
नेपालका लागि रिया शर्माले २ विकेट लिँदा मनिषा उपाध्याय ,रचना चौधरी र कविता कुवरले समान १/१ विकेट लिए।
प्रतियोगितामा कुल ५ टोलीको सहभागिता रहेको छ। यसअघि नेपाल अमेरिकासँग पराजित भएको थियो भने इटाली र घरेलु टोली रुवान्डालाई हराएको थियो।
प्रकाशित: ११ वैशाख २०८३ १५:३६ शुक्रबार





