१५ फाल्गुन २०८२ शुक्रबार
image/svg+xml
खेल

नेपालले अझै पनि पाउनुपर्ने एक्सपोजर पाएको छैन : कप्तान रोहित

नेपाली पुरुष क्रिकेट टोलीका कप्तान रोहित कुमार पौडेलले नेपालले अझै पनि पाउनुपर्ने एक्सपोजर नपाएको बताएका छन्।

रोहितले इटालीसँग खेल्नुअघि भएको पत्रकार सम्मेलनमा उक्त कुरा व्यक्त गरेका हुन्। जारी टी-२० विश्वकपमा नेपालले समूह चरण अन्तर्गत आफ्नो पहिलो खेलमा इंग्ल्यान्डसँग ४ रनको साँघुरो हार व्यहोरेको थियो।

‘हामीले यसअघि खेलेको विश्वकपपछि लागेको थियो, हामीले राम्रो टोलीहरूसँग खेल्ने मौका पाउँछौँ तर, दुई वर्षमा पनि हामीले त्यो खाले एक्सपोजर पाएको छैनौँ। मलाई लाग्छ हाम्रो लागि केही राम्रा टोलीविरुद्ध खेल्ने र उनीहरूको अगाडि हाम्रो सीप परीक्षण गर्ने एक्सपोजर र अनुभव प्राप्त गर्नु धेरै महत्त्वपूर्ण छ’ रोहितले भने।

नेपालको लागि यस्तो खाले एक्सपोजरहरू आवश्यक रहेको उनी बताउँछन्। उनले हाल जारी विश्वकपपछि त्यो सम्भव हुने आश राखेका छन्।

‘हामीले ठूलो टोलीविरुद्ध खेल्ने मौका पायौँ भने उनीहरूको अगाडि आफूलाई परीक्षण गर्न सक्छौँ जसले गर्दा पूरै टोलीलाई फाइदा हुन्छ’ रोहित भन्छन्। ‘वर्षमा ६-७ वटा सिरिज नभए पनि कम्तीमा एक-दुई वटा सिरिज खेल्न पाउने अवसर चाहिन्छ जस्तो लाग्छ।’ उनले सुनाए।

नेपालले इंग्ल्यान्डविरुद्ध बहादुरीपूर्ण प्रदर्शन गरेको थियो। इंग्ल्यान्डसँगको पहिलो भेटमा नै नेपाली टोलीले इंग्ल्यान्डलाई दबाबमा राखेको थियो।

नेपालले आज इटालीसँग दिउँसो सवा तीन बजे खेल खेल्दै छ।

प्रकाशित: २९ माघ २०८२ १२:५२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App