नागोया-आइचीमा जारी २०औँ एसियाली खेलकुदअन्तर्गत नेपाल र श्रीलंकाबीचको पुरुष क्रिकेट क्वार्टरफाइनल खेल वर्षाका कारण रद्द भएको छ।
निसिनस्थित कोरोगी स्पोर्ट्स पार्कमा लगातार वर्षा भएपछि निर्धारित समयसम्म खेल सुरु हुन सकेन। मैदान खेल्न योग्य नबनेपछि खेल एक बल पनि नखेली रद्द गरिएको हो।
खेल रद्द भएपछि प्रतियोगिताको नियमअनुसार उच्च वरीयतामा रहेको श्रीलंका सेमिफाइनलमा पुगेको छ। श्रीलंकाले क्वार्टरफाइनलमा सोझै प्रवेश पाएको थियो भने नेपाल समूह ‘ए’ को विजेता बनेर अन्तिम आठमा पुगेको थियो।
यससँगै नेपाल एसियाली खेलकुदको पुरुष क्रिकेटबाट बाहिरिएको छ। नेपालले समूह चरणमा अफगानिस्तानलाई ५ विकेटले पराजित गरेको थियो भने जापानसँगको खेल पनि वर्षाका कारण पूरा हुन सकेको थिएन। जापानविरुद्ध नेपालले १५ ओभरमा १४९ रन बनाए पनि वर्षाका कारण जापानले जवाफी ब्याटिङ गर्न नपाएपछि खेलको नतिजा आएको थिएन।
वर्षाले लगातार प्रभावित प्रतियोगितामा यसअघि पनि पाकिस्तान र हङकङ तथा भारत र अफगानिस्तानबीचका क्वार्टरफाइनल खेल एक बल पनि नखेली रद्द भएका थिए। ती खेलमा पनि उच्च वरीयताका आधारमा पाकिस्तान र भारत सेमिफाइनल पुगेका थिए।
प्रकाशित: १३ आश्विन २०८३ ०६:०४ मंगलबार



-600x400.jpg)

