७ फाल्गुन २०८२ बिहीबार
image/svg+xml
खेल

नेपालले वेस्ट इन्डिजलाई दियो १४९ को लक्ष्य

क्याप्शन

शारजाहमा जारी ऐतिहासिक ट-२० शृंखलाको पहिलो खेलमा नेपालले विश्वविजेता वेस्ट इन्डिजलाई जितका लागि १४९ रनको चुनौती प्रस्तुत गरेको छ।

टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १४८ रन बनायो। नेपाललाई सस्तैमा समेट्ने क्रममा वेस्ट इन्डिजका अनुभवी अलराउन्डर जेसन होल्डरले घातक बलिङ गर्दै सर्वाधिक ४ विकेट लिए।

नेपालको सुरुवात भने निकै खराब रह्यो। पावरप्ले भित्रै नेपालले १२ रन बनाउँदा आफ्ना दुवै ओपनर कुशल भुर्तेल (६) र आसिफ शेख (३) लाई गुमाएको थियो।

सुरुवाती संकटमा परेको नेपालको इनिङ्सलाई तेस्रो विकेटका लागि कप्तान रोहित पौडेल र कुशल मल्लले ५९ रनको महत्वपूर्ण साझेदारी गर्दै उकासेका थिए।

कुशल मल्लले २१ बलमा २ चौका र २ छक्कासहित ३० रनको विस्फोटक पारी खेले। कप्तान पौडेलले ३५ बलमा ३ चौका र १ छक्कासहित टोलीका लागि सर्वाधिक ३८ रन बनाए।

त्यसपछि आएका ब्याट्सम्यानहरूले पनि राम्रो सुरुवातलाई ठूलो स्कोरमा बदल्न सकेनन्। गुलशन झाले १६ बलमा २२ रन जोडे भने दीपेन्द्रसिंह ऐरीले १९ बलमा १७ रन बनाए।

अन्तिममा सन्दीप जोराले ६ बलमा अविजित रहँदै ९ रन बनाए भने करण केसी पहिलो बलमै शून्यमा आउट भए।

वेस्ट इन्डिजका लागि बलिङमा जेसन होल्डर नायक बने। उनले आफ्नो ४ ओभरमा मात्र १८ रन खर्चेर ४ महत्वपूर्ण विकेट लिए। त्यस्तै, नविन बिदाइसीले ३ विकेट लिँदा कप्तान अकिल होसेनले १ विकेट हात पारे। अब वेस्ट इन्डिजले केहीबेरमा जवाफी ब्याटिङ सुरु गर्नेछ।

प्रकाशित: ११ आश्विन २०८२ २१:५८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App