बिर्सनलायक ब्याटिङ र बलिङ प्रदर्शन गरेपछि नेपालले भारतमा जारी आइसिसी टी ट्वान्टी विश्वकपमा खराब नतिजासँगै लगातार दोस्रो हार सामना गरेको छ।
मुम्बईमा भएको समूह ‘सी’ को आफ्नो दोस्रो खेलमा कमजोर ब्याटिङसँगै नेपालले बिहीबार इटालीसँग १० विकेटको लज्जास्पद हार बेहोरेको हो। विश्वकपमा नेपालले अहिलेसम्मकै खराब प्रदर्शन गरेको दिन इटालीले ऐतिहासिक जित निकाल्यो। डेब्यु विश्वकपमा इटालीले जित आत्मसात् गर्यो। तेस्रोपल्ट विश्वकपमा खेलिरहेको नेपालले भने लगातार पाँच हार बेहोर्यो। पछिल्लो विश्वकपमा जितविहीन (तीन हार) नेपाल यस विश्वकपमा पनि दुई खेलमा पराजित भयो। दसौं संस्करणको पहिलो खेलमा दुईपल्टको च्याम्पियन इङ्ल्यान्डलाई कडा चुनौती दिँदै नेपालले आफू कमजोर नरहेको संकेत गरेको थियो। पहिलो खेलमा नेपाली टोली ४ रनले पराजित भएको हो। तर, दोस्रो खेलमा भने नेपालले बलिङ र ब्याटिङ दुवैमा खराब प्रदर्शन गर्दै नेपाली समर्थकलाई निराश बनायो।
इटाली र नेपालले हारबाट विश्वकप यात्रा सुरु गरेका थिए। त्यसैले दुवै टोली दोस्रो खेलबाट जित निकाल्ने लक्ष्यमा थिए। टस जितेर पहिले बलिङ रोजेको इटाली सबै पक्षमा हाबी भयो। एसोसिएट क्रिकेटको बलियो टोली मानिएको नेपालमाथि रबाफिलो जित रच्यो। वाङ्खेडे स्टेडियममा नेपालले एक सय २४ रनको झिनो लक्ष्य दियो। तर, इटालीले १२.२ ओभरमा बिनाविकेट लक्ष्य पूरा गर्यो। दाजुभाइ जस्टिन मोस्का र एन्थोनी मोस्का चम्किँदै ४४ बलअगावै इटालीलाई ऐतिहासिक जित दिलाए। मोस्का दाजुभाइले एक सय २४ रनको शतकीय साझेदारी गरे। दुवै ब्याटर नेपाली बलरमाथि पूर्ण हाबी भए र सबै जोनमा रन बटुले।
जस्टिनले ४४ बलमा ६० रन र एन्थोनीले ३३ बलमा ६२ रन जोडे। जस्टिनको इनिङमा पाँच चौका र तीन छक्का रह्यो। एन्थोनीले तीन चौका र ६ छक्का हिर्काए। नेपालले ६ बलर प्रयोग गर्यो। त्यसमा सबै महँगा साबित भए। लगातार दोस्रो हारसँगै नेपालको सुपर आठमा पुग्ने सम्भावना कमजोर भएको छ। खेलपछि नेपालका आरिफ शेखले पावरप्लेपछि मध्य इनिङमा पनि राम्रो ब्याटिङ गर्न नसक्दा हार बेहोरेको प्रतिक्रिया दिए। ‘पावरप्लेमा राम्रो गर्न सकेनौं। मध्य इनिङमा मैले र दीपेन्द्र (सिंह ऐरी) ले अगाडि अगाडि बढाउन खोजेका हौं। तर, दीपेन्द्र आउट भएपछि इनिङ धराशयी भयो,’ आरिफले भने।
उनले आगामी खेलमा राम्रो प्रदर्शन गर्ने आशा व्यक्त गरेका छन्। अब नेपालले समूहको तेस्रो खेलमा वेस्ट इन्डिज र अन्तिम खेलमा स्टकल्यान्डसँग खेल्नेछ। खराब प्रदर्शनमा नेपालको बलिङ पनि सन्तोषजनक रहेन। नेपालका बलर सन्दीप लामिछानेले कमजोर लक्ष्य रक्षा गर्न उत्कृष्ट बलिङ हुनुपर्ने भए पनि त्यसमा राम्रो नभएको बताए। ‘न्यून लक्ष्य रक्षा गर्दा पहिलो ओभरदेखि नै उत्कृष्ट बलिङ गर्नुपर्छ। हाम्रा बलरसँग यो लक्ष्य पनि रक्षा गर्ने क्षमता पछि छ। तर, त्यस किसिमको प्रदर्शन आउन सकेन,’ सन्दीपले भने, ‘यो खराब प्रदर्शनको जिम्मेवारी म पनि लिन्छु। इटाली आज राम्रो योजनामा आएको रहेछ। त्यसमा सफल पनि भयो। आज हाम्रो खराब दिन पनि रह्यो।’
त्यसअघि जितेर इटालीले पहिले बलिङ गर्ने निर्णय लियो। जुन सही साबित पनि भयो। इटालीले नेपाललाई १९.३ ओभरमा एक सय २३ रनको सामान्य योगफलमै अलआउट ग¥यो। मोस्का दाजुभाइ चम्किँदा इटालीले सहजै लक्ष्य पनि भेट्टायो। जितपछि इटालीका प्रशिक्षक जोन डेभिसनले आफ्ना खेलाडीको आँखा खुसीले रसाएको बताए।
‘जितपछि मेरा खेलाडी भावुक देखिए। मोस्का दाजुभाइले उत्कृष्ट ब्याटिङ गरे। बलिङ पनि हाम्रो योजनाअनुरूप नै भए। सबै हाम्रो योजनाअनुरूप नै भयो,’ प्रशिक्षक डेभिसनले भने, ‘यो जितले इटालीको क्रिकेटलाई उचाइ लाने विश्वास लिएको छु। इटालीका पत्रपत्रिकामा फ्रन्ट पेजमा समाचार बन्ने आशा छ। यसले देशमा क्रिकेट ऊर्जाशील बनाउने विश्वास छ।’
प्रशिक्षक डेभिसनले नेपालबारे इङ्ल्यान्डसँग कुराकानी गरेको र त्यसअनुरूप रणनीति बनाएको पनि उल्लेख गरे। १० रन जोड्दा पाँच विकेट गुमेपछि नेपालले खराब लक्ष्य दिएको हो। इटालीका बलरले पनि अनुशासित बलिङ प्रदर्शन गरे। दोस्रो ओभरमै नेपालले पहिलो विकेट गुमायो। ओपनर कुशल ५ रनमा आउट भए। यससँगै नेपालले खराब सुरुआत सामना गर्नुपर्यो तर कप्तान रोहित पौडेलले ठूला सट खेल्दै इनिङ उकास्ने प्रयास गरे। पावरप्लेमा नेपालले ४६/१ को अवस्थामा थियो। तर सातौं र आठौं ओभरमा लगातार विकेट पतन भयो। कप्तान रोहित २३ रनमा दोस्रो विकेटका रूपमा आउट भए। बेन मानेन्टीको बलमा रोहित लङ अनमा क्याच भए।
रोहितले १४ बलमा दुई छक्का प्रहार गरे। दुई बलको अन्तरमा तेस्रो विकेट गुमायो। अर्का ओपनर आसिफ २० रनमा स्टम्पिङ भए। बेन म्यानेन्टीको बलमा विकेटकिपर जियान मिडले उनलाई स्टम्पिङ गरेका हुन्। आसिफको इनिङमा दुई चौका मात्र रह्यो। यो विकेटपछि नेपालले सुस्त ब्याटिङ गर्यो। मध्यक्रमका ब्याटर दीपेन्द्रसिंह ऐरी र आरिफ शेखबीच ४४ रनको साझेदारी बन्यो। १४औं ओभरमा दीपेन्द्र १७ रनमा बोल्ड भए। १७ बल खेलेका उनले कुनै बाउन्ड्री प्रहार गर्न सकेनन्। यो विकेटपछि नै नेपालको इनिङ धरासयी बन्यो। १३.५ ओभरमा नेपाल ९३/४ को अवस्था पुग्यो। अघिल्लो खेलमा आक्रामक ब्याटिङ गरेका लोकेश बम १ रनमा नै पभेलियन फर्किए।
गुल्सन झा ३ रनमा मिडविकेटमा क्याच भए। नन्दन यादव शून्यमै रनआउट हुन पुगे। १६.५ ओभरमा नेपाल १०२/८ को नाजुक अवस्थामा पुग्यो। तर, नवौं विकेटका लागि करण केसी र सन्दीप लामिछानेबिच २१ रनको साझेदारी बन्यो। डेथ ओभरको पहिलो बलमा सन्दीप ५ रनमा आउट भए। लगत्तै दुई बलपछि ललित राजवंशी रनआउट हुन पुगे। करण १८ रनमा नटआउट रहे।
११ बलमा उनले समान एक चौका र छक्का प्रहार गरे। इटालीको बलिङमा बेन मानेन्टीले दुई र क्रिसान कालुगामगेले तीन विकेट लिए। अली हसन, जेजे स्मट्स र जसप्रीत सिंहको नाममा समान एक विकेट रह्यो। जितपछि इटालीका कप्तान ह्यारी म्यानेन्टीले यो जित इटालीको क्रिकेटमा खेलाडीलाई खेलेर नै अगाडि बढ्ने माध्यम बन्ने आशा गरेका छन्।
प्रकाशित: १ फाल्गुन २०८२ ०७:०० शुक्रबार





