१३ चैत्र २०८२ शुक्रबार
image/svg+xml
खेल

काभा भलिबलमा नेपालको तेस्रो हार

तेस्रो हारसँगै नेपाल जारी सेन्ट्रल एसिया भलिबल संघ (काभा) कप पुरुष भलिबलको फाइनलमा पुग्ने सम्भावनाबाट बाहिरिएको छ।

बंगलादेशको राजधानी ढाकामा भएको काभा कप पुरुष भलिबल प्रतियोगितामा नेपाल आइतबार अफगानिस्तानसँग ३-० को सोझो सेटमा नै पराजित भयो। यससँगै नेपालले चार खेलमा तेस्रो हार सामना गर्‍यो। ६ राष्ट्र सम्मिलित प्रतियोगिताको लिगचरणमा शीर्ष दुईमा रहने टोली फाइनलमा पुग्ने प्रावधान छ। तर, चार खेलबाट नेपाल दुई अंकसहित चौथो स्थानमा छ।

चौथो खेलमा नेपाल अफगानिस्तानविरुद्ध जित निकाल्ने लक्ष्यमा थियो तर, युवा खेलाडीले भरिएको नेपाली टोलीले चुनौती दिन सकेन। ढाकाको इन्डोर हलमा नेपालले अफगानिस्तानसँग ३-० को सोझो सेटमा नै खेल गुमायो। नेपालले पहिलो दुई सेट १८-२५ र १७-२५ ले सहजै गुमाएको थियो। तर, तेस्रो सेटमा चुनौती दिँदै नेपालले पुनरागमनको प्रयास गर्‍यो।

यद्यपि, नेपाली टोलीले तेस्रो सेट पनि २१–२५ ले गुमाउन पुग्यो र अफगानिस्तानले सहजै खेलमा जित निकाल्यो। नेपालले यसअघि तुर्किमिनिस्तानसँग ३–० र घरेलु टोली बंगलादेशसँग ३–२ को सेटमा हार बेहोरेको थियो।

बंगलादेशसँग दुई सेटले पछि परेको स्थितिमा उत्कृष्ट पुनरागमन गर्दै नेपाल जितको संघारमा थियो तर, निर्णायक सेटमा नेपाली टोली १६–१४ को प्रतिस्पर्धात्मक नतिजामा पराजित हुन पुग्यो। त्यो नै नेपालका लागि स्तब्धपूर्ण नतिजा रह्यो। नेपालले माल्दिभ्समाथि भने ३–० को सेटमा जित निकाल्दै फाइनलमा पुग्ने सम्भावना जीवन्त राख्यो तर फेरि अर्को हारसँगै फाइनलमा पुग्ने नेपालको सम्भावना समाप्त भएको छ। अब नेपालले लिगको अन्तिम खेलमा सोमबार नै श्रीलंकासँग खेल्नेछ।

यो खेलमा जित निकाल्दै नेपाल कम्तीमा चार स्थानमा भित्र रहँदै कांस्य पदकका लागि खेल्न चाहन्छ। लिगको तेस्रो र चौथो स्थानमा रहने टोलीले कांस्य पदकका लागि खेल्नेछ। शीर्ष चारभित्र रहन श्रीलंकाका लागि पनि यो खेल जित्नुको विकल्प छैन। समान चार खेलबाट श्रीलंकाको पनि चार अंक नै छ।

श्रीलंकाले पनि आइतबार माल्दिभ्समाथि ३–० को सोझो सेटमा जित निकालेको थियो। चार खेलसम्म अपराजित तुर्कमिनिस्तान १२ अंकसहित शीर्ष स्थानमा छ। घरेलु टोली बंगलादेश समान खेलबाट सात अंकसहित दोस्रो स्थानमा छ। नेपालविरुद्ध जितसँगै अफगानिस्तानले पनि सात अंक नै जोडेको छ। त्यसैले अफगानिस्तान र बंगलादेश दुवै टोलीको दोस्रो स्थानमा रहँदै फाइनलमा पुग्ने सम्भावना छ।  

प्रकाशित: १० कार्तिक २०८२ ०९:२७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App