भारतका ब्याट्सम्यान श्रेयस अय्यर हाल अष्ट्रेलियाविरुद्धको तेस्रो एकदिवसीय खेलमा खेल्दा घाइते भएपछि सिड्नीस्थित अस्पताल भर्ना भएका छन्। उनको स्प्लीनमा गहिरो चोट लागेको छ। चोटका कारण उनलाई आइसीयुमा राखेर उपचार सुरु गरिएको हो।
भारतीय क्रिकेट बोर्ड (बीसीसीआई) का अनुसार, फिल्डिङका क्रममा अय्यरको बायाँ छेउको रिब्समा गम्भीर चोट लागेको थियो। खेलका क्रममा एलेक्स क्यारीको क्याच लिन पछाडि दौडिएका उनको शरीरमा बलले लागेको थियो। त्यसपछि उनले तुरुन्तै रिब्स समात्दै मेडिकल सहायता मागेका थिए।
बीसीसीआईको विज्ञप्तिमा भनिएको छ, “श्रेयस अय्यरको स्क्यान गर्दा उनको स्प्लीनमा चिरा भेटिएको छ। उनी अहिले स्थिर अवस्थामा छन्। उपचार जारी छ र सिड्नी तथा भारतका चिकित्सकको निगरानीमा छन्।”
हाल श्रेयस अस्पतालमै छन् र उनको अवस्था स्थिर भए पनि निरन्तर निगरानीमा राखिएको छ। भारतीय टोलीका चिकित्सक सिड्नीमै रहेर उनको स्वास्थ्य अवस्थाको दैनिक मूल्यांकन गरिरहेका छन्। उनको अवस्था गम्भीर बनेपछि भारतबाट आफन्तहरु समेत अस्ट्रेलिया गएका छन् ।
श्रेयस अय्यरले बाँकी खेल खेल्न सक्नेछैनन्। भारतले तेस्रो एकदिवसीयमा ९ विकेटको जित हासिल गरे पनि तीन खेलको श्रृंखला २-१ ले गुमाएको थियो।
अस्ट्रेलिया भ्रमणमा रहेको भारतले अब अक्टोबर २९ देखि टी-२० सिरिज खेल्नेछ। लगत्तै गृहमैदानमा दक्षिण अफ्रिकाविरुद्धको एकदिवसीय सिरिज खेल्नेछ।
प्रकाशित: १० कार्तिक २०८२ १७:२५ सोमबार





