५ आश्विन २०८३ सोमबार
image/svg+xml
खेल

२०औं एसियाली खेलकुदः नेपालको एकपछि अर्को नीरस प्रदर्शन

आशा गरिएको करातेसँगै नेपालका लागि टेबल टेनिस र उसुका खेलाडीले पनि जापानमा भएको २०औं एसियाली खेलकुदमा खराब नतिजा सामना गरेका छन्।

नागोया सहरमा भएको एसियाली खेलकुदमा कुल २१ खेलमा नेपालले प्रतिस्पर्धा गर्दै छ। तीमध्ये सबैभन्दा आशा गरिएको खेल करातेले खराब नतिजा सामना गर्‍यो। टेबल टेनिस र उसुका खेलाडीले पनि सुखद नतिजा दिलाउन सकेनन्। टेबल टेनिसमा महिला टिम र पुरुष टिम स्वर्धामा नेपाल पराजित भएको हो।

महिलामा नेपाल चीनसँग ३–० र पुरुषमा चाइनिज ताइपेईसँग ३–० ले पराजित भयो। महिला टिम विधामा नेपालकी इभाना थापा, नविता श्रेष्ठ र योङ्गी पौडेल थिए। पाँच प्रतिस्पर्धामध्ये चीनले पहिलो तीन खेल नै आफ्नो पक्षमा पार्‍यो। महिला एकलमा इभाना चीनकी चेन यीसँग ११–१, ११–६, ११–५, नविता चीनकी कुवई मानसँग ११–४, ११–३, ११–४ र योङ्गी चीनकी फान सुहानसँग ११–१, ११–५ र ११–१ को खराब नतिजामा पराजित हुन पुगे।

यससँगै चीनले चौथो र पाँचौं खेल खेल्नु नै परेन। पुरुष टिममा भने संयोग कपाली, रुबिन महर्जन र गनञ्जय दाहालले नेपालबाट प्रतिस्पर्धा गरेका थिए। यी तीनै खेलाडीले खराब प्रदर्शन गरे र एउटा सेट पनि जित्न सकेनन्। रुबिन महर्जनले लिन यु जुसँग ११–५,११–१ र ११–७, संयोगले हङ जिनसँग ११–५, ११–५ र ११–४ ले र गनञ्जयले ११–३, ११–२,११–० ले सहजै नतिजा गुमाए। उसुमा नेपालले थाउलो र सान्सौं विधामा प्रतिस्पर्धा गर्दै छन्। कुल ११ जना खेलाडीले उसुमा चुनौती प्रस्तुत गर्दै छन्। त्यसमध्ये थाङछ्वान विधामा विजय सिन्जालीले खराब नतिजा सामना गरेका छन्।

यस विधामा कुल २१ खेलाडीमध्ये विजय १९औं स्थानमा रहे। उनले कुल ९.१४६ अंक ल्याए। यो विधामा मकाउका कियोङ ची र सङ चीले क्रमशः स्वर्ण र कांस्य पदक जिते। इन्डोनेसियाका सिरोगार सेरागले कांस्य पदक प्राप्त गरे। यी तीनले क्रमशः ९.७२३, ९.७२० र ९.७२० ले अंक ल्याए। थाउलोको थायची छ्वान/थायची चेनमा सविता राई दशौं स्थानमा खुम्चिइन। यस विधामा कुल १४ खेलाडी समावेश थिए। जहाँ सविताले ९.१८३ अंक ल्याइन्। स्वर्ण पदक विजेता तोङ छिनले ९.७८३ अंक प्राप्त गरिन्।

महिला भलिबलको जित

आइची/नागोया एसियाली खेलकुदमा नेपालको महिला भलिबलमा पदक सम्भावना सकिसकेको छ। वरीयताको प्लेअफ खेलमा भने नेपाली महिला टोलीले किर्गिस्तानलाई ३–० को सोझो सेटमा पराजित गरेको छ।

आइतबार ओकाजाकी चुवो सोगो पार्क जिम्न्यासियममा भएको नवौंदेखि १४औं स्थानको प्लेअफमा नेपालले किर्गिस्तानलाई २५–२०, २५–१६ र २५–२० ले हरायो। समूहका पुछारमा रहेका ६ टोली अहिले नवौंदेखि १४औं स्थानका लागि प्रतिस्पर्धा गरिरहेका छन्।

किर्गिस्तानलाई हराएसँगै नेपाल ९ देखि १२औं स्थानका लागि हुने खेलमा प्रवेश गरेको छ। अब नेपाली टोलीले सोमबार हङकङसँग प्रतिस्पर्धा गर्नेछ। यो खेलमा पनि विजय हासिल गरे टोली नवौं स्थानको प्रतिस्पर्धाका लागि छनोट हुनेछ।

भलिबलमा जितसँगै नेपालले आइतबार एसियाली खेलकुदमा कुल पाँच खेल जित्यो। करातेमा चार जित र महिला भलिबलमा एक जित रचे पनि नेपालका लागि सुखद भने हुन सकेन। जहाँ स्वर्ण पदकको आशा गरिएकी करातेकी एरिका गुरुङ कांस्य पदक नै जित्न असफल भइन्।

उनीसँगै राकेश मानन्धर र मीनबहादुर तामाङ पनि कांस्य पदकको प्रतिस्पर्धामा असफल भए। महिला व्यक्तिगत कातामा भने सानुमाया थिङले पहिलो चरण नै पार गर्न सकिनन्। तोहोहासी जिम्नाजियममा कुमुतेमा सेमिफाइनलसम्म पुगेका एरिका, राकेश र मीनबहादुर कांस्य पदकको लागि प्रतिस्पर्धामा पनि असफल भए।

सेमिफाइनलमा पराजित तीनै खेलाडी कांस्य पदकमा पनि असफल भए। महिला कुमुते ६८ केजी तौल समूहमाथि कुल आठ खेलाडी थिए। क्वार्टरफाइनलमा एरिकाले सहजै जित रचिन्। उनले जोर्डनकी नासिर यारालाई ७–१ ले हराउँदै सेमिफाइलमा पुगेकी हुन्।

सेमिफाइनलमा उनको प्रतिस्पर्धी थिइन् सोफ्या बेरुल्स्तेभा। उनीसँग एरिका २–१ ले पराजित भइन्। यो हारपछि एरिकाको कांस्य पदक जित्ने सम्भावना थियो। जहाँ उनको प्रतिस्पर्धी थिइन्, साउदी अरेबियाकी मोस्तफा डिना। यो प्रतिस्पर्धामा पनि एरिकाले सेमिफाइनलजस्तै नियति सामना गरिन्। अन्तिम १२ सेकेन्ड बाँकी छँदा एरिका पछि परिन्।

यतिबेलासम्म एरिका ७–५ ले अगाडि थिइन् तर दुई सेकेन्ड बाँकी हुँदा मोस्तफाले इप्पोन (३ अंक) लिँदै एरिकालाई निरास बनाइन्। हारपछि नेपाली टोलीमा निकै निराशा छाएको थियो। जुन निरासा एरिकाका लागि पनि रह्यो। १९औं एसियाड, प्रिमियर लिग र एसियन च्याम्पियनसिप रजत जितेकी एरिका खाली हात घर फर्कदै छिन्।

मीन र राकेश पनि चुके 

राम्रो सुरुआत देखाउँदै पदकको सम्भावना देखाएका नेपालका मीनबहादुर तामाङ र राकेश मानन्धर असफल भए। तोयाहासी जिम्नाजियममा भएको पुरुष कुमुतेतर्पm ६० केजीमुनि तौलसमूहका मीनबहादुर र ५५ केजीमुनि तौलसमूहका राकेश मानन्धर कांस्य पदकको प्रतिस्पर्धामा पराजित भएका हुन्। दुवैले सेमिफाइनलमा पराजित भएपछि कांस्य पदकको लागि प्रतिस्पर्धा गरेका थिए तर कांस्यको प्रतिस्पर्धामा राकेश मलेसियाका कालियाना सुन्दरम र मीनबहादुर साउदी अरेबियाका अल बसिर बी साउद अब्दुलाजिजसँग २–० ले पराजित हुन पुगे।

नेपालले आइतबार करातेको चार विधामा असफल भयो। व्यक्तिगत कातातर्फ सानुमाया थिङको खेल नै करातेमा नेपालको पहिलो प्रतिस्पर्धा रह्यो। जसका सानुमायाले राम्रो प्रदर्शन गर्न सकिनन्। उनी पहिलो चरणमै दक्षिण कोरियाकी चोइ हान ५–० ले पराजित भइन्। पाँचवटै जजले चोईको पक्षमा नतिजा दिए। यससँगै नेपालले हारबाट करातेको सुरुआत गरेको थियो।  

प्रकाशित: ५ आश्विन २०८३ ०८:०१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App