सावित्रा भण्डारी ‘साम्बा’ को दुई गोल प्रेरणामा नेपालले त्रिदेशीय प्रतियोगितामा घरेलु टोली भारतमाथि २–१ को जित निकालेको छ।
सिलोङस्थित जवाहरलाल नेहरु रंगशालामा सोमबार भएको खेलमा कप्तान तथा स्ट्राइकर सावित्रा चम्किएपछि नेपालले घरेलु टोलीमाथि जित निकालेको हो। नेपाली टोलीले खेलको सुरुमै गोल गर्दै दबाब बनाएको थियो। अन्ततः नेपालले जित पनि निकाल्दै इरान र भारत सम्मिलित त्रिदेशीय शृंखलाको सुखद अन्त्य गर्यो।
नेपाली टोलीले दुई गोलको अग्रता लिएको थियो। भारतका लागि फरवार्ड करिष्मा पुरुषोत्तम सिर्भोइकारले गोल फर्काए पनि हार टार्न सकिनन्। यो जितसँगै नेपाल त्रिदेशीय प्रतियोगितामा उपविजेता बन्यो। घरेलु टोली भने जितविहीन रह्यो। नेपालले पहिलो खेलमा इरानसँग ३–० को हार सामना गरेको थियो। भारतले पनि पहिलो खेलमा इरानसँग २–० ले नतिजा सुम्पिएको थियो।
त्यसैले दुवै टोली सोमबार जित निकाल्दै प्रतियोगितामा सुखद अन्त्य गर्ने लक्ष्यमा थिए। तर, भारतको लक्ष्य पूरा हुन सकेन। यससँगै नेपाली महिला टोलीले भारतसँग कुल १९ भेट पूरा गर्यो। जहाँ नेपाल छिमेकी प्रतिद्वन्द्वविरुद्ध चौथो पल्ट जित निकाल्न सफल भयो। यो जितले नेपालका लागि विशेष अर्थ राख्दछ।
किनकि नेपालले महिला साफ च्याम्पियनसिप २०२६ को तयारीका गरिरहेको छ। यो प्रतियोगिता अगाडि मुख्य प्रशिक्षक नवीन न्यौपानेले साफ सम्मकै लागि आफूले जिम्मेवारी पाएको र त्यसको तयारीका लागि टोली बनाउने उल्लेख गरेका थिए। त्यसैले दक्षिण एसियाली फुटबलको बलिया टोलीमध्ये एक भारतसँगको जितले नेपाली महिला टोलीको आत्मबल पनि बढ्नेछ।
एसियन कप २०२६ को तयारी गरिरहेको भारतका लागि भने यो हारले ठुलो धक्का लागेको छ। भारतले आगामी वर्ष अस्ट्रेलियामा एसियन कप खेल्दै छ। यसैको तयारीका लागि भारतले घरेलु भूमिमा त्रिदेशीय प्रतियोगिता आयोजना गरेको हो। यद्यपि, घरेलु टोलीले दुवै खेलमा हार बेहोर्यो। नेपालले खेलको सुरुमै गोल गर्दै घरेलु टोलीमाथि दबाब बनाएको थियो।
कप्तान सावित्राले खेलको दोस्रो मिनेटमै गोल गर्दै नेपाललाई अग्रता दिलाइन्। सेन्टरब्याक विमला विकको लामो दूरीको पासलाई सदुपयोग गर्दै उनले गोल गरेकी हुन्। सावित्राले सुरुमा छातीबाट बललाई नियन्त्रणमा लिइन् र भारतीय गोलकिपर इलाङबाम पान्थोइ चानु अगाडि बढेको अवस्थामा बललाई दोस्रो बारको जाली चुमाइन्।
भारतले १४औं मिनेटमै खेलमा फर्कने प्रयास गर्यो। डिफेन्डर रञ्जना चानुले पेनाल्टी बक्स बाहिरबाट गरेको शक्तिशाली प्रहार नेपालकी गोलकिपर अञ्जना रानामगरले बचाइन्। फरवार्ड स्लिन्डा कोमको पासमा चानुले अवसर बनाए पनि सफलता पाउन सकिनन्। पहिलो रोजाइकी गोलकिपर अञ्जिला तुम्बापो स्थानमा नेपालले अञ्जनालाई अवसर दिएको थियो। ४३औं मिनेटमा नेपालले अग्रता दोब्बर बनाउने अवसर पायो। तर, भारतीय गोलकिपर पान्थोइ चानु बाधक बनिन्।
सावित्राले दोस्रो बारमा गरेको लोअर प्रहार पान्थोइ चानुले बचाइन्। मिडफिल्डर दीपा शाहीले दिएको थ्रु पासलाई सावित्राले प्रहार गरेकी हुन्। लगत्तै विमलाले डिफेन्सिभ लाइनबाट गरेको लामो दूरीको प्रहार पनि चानुले बचाइन्। यससँगै पहिलो हाफमा नेपालले १–० को अग्रता लियो। दोस्रो हाफको सुरुमै नेपालले दोस्रो गोल गर्दै दबाब बढायो। ६३औं मिनेटमा सावित्राले उत्कृष्ट फ्रिकिकबाट गोल गरिन्। करिब २५ यार्डबाट सावित्राको प्रहार पहिलो बारको टप कर्नर हुँदै जाली चुम्यो।
यससँगै सावित्राले भारतविरुद्ध आफ्नो दशौं गोल पूरा गरिन्। भारतकी कप्तान संगीता बास्फोरेले मिडफिल्डर प्रीति राईलाई फउल गरेपछि नेपालले फ्रिकिक अवसर पाएको हो। त्यसमा नेपालले सफलता पनि पायो। ७६औं मिनेटमा नेपालको तीन गोलको अग्रता बनाउने प्रयास सफल भएन। दीपाको कर्नर प्रहारमा विमलाको हेडर क्रसबारभन्दा केही माथिबाट बाहिरिन पुग्यो। ८१औं मिनेटमा करिष्माको गोलबाट भारतले खेलमा फर्किने अवसर पायो।
डिफेन्डर किरण पिस्डाको फ्रिकिक पासलाई उनले सदुपयोग गरेकी हुन्। पेनाल्टी बक्समा अनमार्क करिष्माले वान टचमा अञ्जनालाई बिट गर्दै गोल गरिन्। तर, त्यसपछि भारतले थप गोल गर्न सकेन र नेपालले २–१ को जित निकाल्यो।
प्रकाशित: ११ कार्तिक २०८२ ०८:०३ मंगलबार





