चीनमा यसै साता सम्पन्न कराते वान प्रिमियर लिग (लेशान २०२६) मा उत्कृष्ट प्रदर्शन गर्दै नेपालकी एरिका गुरुङले रजत पदक जितेपछि प्रिमियर लिग स्ट्यान्डिङ (ग्रान्ड विनर) मा ऐतिहासिक फड्को मारेकी छिन्। विश्व कराते महासंघ (डब्लुकेएफ) ले सार्वजनिक गरेको २०२६ को पछिल्लो वरीयताअनुसार ग्रान्ड स्टयान्डिङतर्फ एरिका महिला कुमिते ६८ केजीमाथि तौलसमूहमा दोस्रो स्थानमा उक्लिएकी हुन् ।
डब्लुकेएफमा वरीयतामा भने एरिका नवौं स्थानमा उक्लिएकी छन् । यो वरीयतामा यसअघि उनी ११औं स्थानमा थिइन्। एरिका निरन्तर उत्कृष्ट प्रदर्शनका कारण प्रिमियर स्टान्डिङमा सीधै दोस्रो स्थानमा पुगेकी हुन् । विश्व नम्बर एक बन्ने लक्ष्यमा रहेकी एरिकाले डब्लुकेएफका वरीयाता प्राप्त प्रतियोगितामा सफलाता पाइरहॅंदा मात्र लक्ष्य पूरा हुनेछ । यसै वर्ष मात्र कराते वान प्रिमियर लिगमा दोस्रो रजत पदक जितेकी छन् । उनले यस सिजन प्रिमियर लिगमा लगातार प्रभावशाली प्रदर्शन गर्दै आफूलाई विश्वकै शीर्ष खेलाडीमध्ये स्थापित गरेकी छन् । चीनमा भएको प्रतियोगितामा एरिकाले सेमिफाइनलसम्म सशक्त जित निकाल्दै फाइनलमा स्थान बनाएकी थिइन् ।
फाइनलमा भने उनी हालकी विश्व नम्बर एक खेलाडी सोफिया बेरुल्तसेभासँग २-१ ले पराजित भइन् । कजाखस्तानकी सोफियाले २९७० अंकसहित शीर्ष स्थान मजबुत बनाइरहँदा एरिका १५०० अंकका साथ दोस्रो स्थानमा छिन् । तेस्रो स्थानमा इङ्ल्यान्डकी रोशेल वाल्टर्स (१२०० अंक) छन्।
महिला कुमिते ६८ केजीमाथि तौलसमूहमा यसपटक प्रतिस्पर्धा अत्यन्त कडा देखिएको छ । चौथो स्थानमा युक्रेनकी डारिया बुलाय, क्रोएसियाकी निकोलिना गोलोम्बोस र स्पेनकी मारिया टोरेस गार्सिया समान १०५० अंकसहित संयुक्त रूपमा रहेका छन् । यसले शीर्ष स्थानको दौड झन् प्रतिस्पर्धात्मक बनेको संकेत गर्दछ।
अब सबैको ध्यान मोरक्कोको राबाटमा हुने अन्तिम प्रिमियर लिगतर्फ केन्द्रित भएको छ । जहाँ २०२६ का ग्रान्ड विनरको टुंगो लाग्नेछ । एरिका गुरुङका लागि यो प्रतियोगिता ऐतिहासिक बन्ने अवसर हो । किनकि उनी विश्व नम्बर एक बन्ने लक्ष्यसहित मैदान उत्रिनेछिन् । नेपालका लागि एरिकाको यो उपलब्धि कराते इतिहासकै ठूलो र महत्वपूर्ण छ। अन्तर्राष्ट्रिय मञ्चमा नेपाली खेलाडीको बढ्दो उपस्थितिले देशको खेलकुद क्षेत्रमा सकारात्मक सन्देश दिएको छ।
एरिका गुरुङले अन्तिम प्रतिस्पर्धामा शीर्ष स्थान कब्जा गर्न सके जापानमा हुने आगामी एसियन गेम्सका लागि पनि महत्वपूर्ण हुनेछ । उनी र प्रशिक्षक कुशल श्रेष्ठको अबको लक्ष्य राबाटतर्फ केन्द्रित हुनेछ ।
प्रकाशित: २ वैशाख २०८३ ११:४८ बुधबार





