दक्षिण एसियाली फुटबलमा तुलनात्मक रूपमा कमजोर मानिने भुटानसँग बराबरीको नतिजा सामना गर्दै नेपाली टोलीले साफ यु–१७ महिला च्याम्पियनसिपको यात्रा टुङ्ग्याएको छ।
लिगको अन्तिम खेलमा नेपालले आइतबार भुटानसँग १–१ को बराबरी नतिजा सामना गरेको थियो। यो नतिजासँगै नेपालले डबल राउन्ड रोबिन लिगको आधारमा भएको च्याम्पियनसिपको यात्रा टुङ्ग्यायो। चार राष्ट्र सम्मिलित लिगमा नेपाली टोलीले एक जित, एक बराबरी र चार हार सामना गर्यो।
एक मात्र जित नेपालले भुटानसँगको पहिलो भेटमा प्राप्त गरेको हो। तर, दोस्रो भेटमा भने नेपाली टोली अंक बाँड्न बाध्य भयो। यो टोलीलाई नेपालको उमेरसमूहका सबैभन्दा कमजोर टोलीका रूपमा हेरिएको छ। भूमिका बुढाथोकीको कप्तानीमा यो टोलीले यसै च्याम्पियनसिपमा भारतविरुद्धको पहिलो भेटमा ७–० को हार बेहोरेको थियो।
उनकै कप्तानीमा साफ यु–१५ च्याम्पियनसिपमा पनि नेपाली टोली भारतसँग १०–० ले पराजित हुन पुगेको थियो। अहिले टोलीमा रहेका अधिकांश खेलाडी यु–१५ को टोलीमा थिए। यु–१७ मा पनि नेपाली टोलीले भुटानमा खराब नतिजा जारी राख्यो। नेपालले भारतसँगको दोस्रो खेलमा ५–० को फराकिलो हार सामना गरेको थियो। यस क्रममा नेपाली चेलीले भारतको पोस्टमा एउटा पनि गोल गर्न सकेनन्।
बंगलादेशसँगको पहिलो खेलमा भने नेपाली टोली ३–० ले पराजित हुन पुगेको थियो। दोस्रो भेटमा नेपालले एक गोल गर्यो तर नतिजा भने ४–१ ले गुमाउन पुग्यो। दक्षिण एसियाली फुटबलमा एक समय नेपालको जुनसुकै उमेरसमूहका टोली पनि पूर्ण हाबी हुने गर्दथ्यो। तर, पछिल्लो समय भने नेपाली टोली भुटानसँग संघर्ष गर्दै आइरहेको छ।
यसै च्याम्पियनसिपमा पनि नेपालले सो अवस्था दोहोर्यायो। नेपालले कमजोर मानिने भुटानसँग पहिलो खेलमा २–१ को संघषपूर्ण जित निकालेको थियो। खेलमा पछि परेको स्थितिलाई उल्ट्याउँदै नेपालले त्यो जित रचेको हो। दोस्रो भेटमा भने नेपालले अग्रता लिएको थियो। तर, त्यो अग्रता जोगाउन सकेन। यो नतिजासँगै ६ खेलबाट चार अंक जोडेको नेपालले तेस्रो स्थानमा रहेर प्रतियोगिता सकाएको हो।
भुटान समान खेलबाट दुई अंकका साथ पुछारमा रह्यो। चाङ्लिमिथाङ रंगशालामा नेपालकी बबिता कार्कीले गोल गरेकी थिइन्। भुटानका लागि सोनाम याङचिनले गोल फर्काइन्। दुवै गोल पहिलो हाफमा भएका हुन्। खेलको १५औं मिनेटमा बबिताको गोलबाट नेपालले अग्रता लिएको थियो।
भुटानी डिफेन्डरले पेनाल्टी बक्समा फुत्काएको बललाई नेपालले गोलमा परिणत गरेको हो। कप्तान भूमिकाले दिएको कट ब्याकमा बबिताले वान टच मार्फत गोल गरेकी हुन्। तर, त्यो अग्रताले पहिलो हाफ पार गर्न सकेन। पहिलो हाफको थप समयमा घरेलु टोलीले गोल फर्कायो। याङचिनले भुटानलाई बराबरीमा ल्याइन्।
कर्नर प्रहारमा याङ्चिनले गोल गर्दै भुटानलाई खेलमा फर्काइन्। यसपछि पहिलो हाफमा १–१ को बराबरीमा रह्यो। तर, दोस्रो हाफमा नेपाल खेलमा फर्कने आशा गरिएको थियो। दुवै टोलीले उत्कृष्ट अवसर बुनेका थिए। यद्यपि, गोलमा परिणत हुन भने सकेन। यससँगै यस च्याम्पियनसिपमा नेपालले २१ गोल सामना गर्यो। जुन भुटानको भन्दा एक गोलले कम हो।
यस क्रममा नेपालले चार मात्र गोल गर्न सफल भयो। भुटानले पनि विपक्षीको पोस्टमा समान चार गोल नै गरेको छ। आइतबार सम्पन्न साफ यु–१७ च्याम्पियनसिपको उपाधि भारतले उचाल्यो। लिगको अन्तिम खेलमा आइतबार बंगलादेशसँग ३–२ ले पराजित भए पनि भारतलाई यो नतिजा उपाधि जित्न पर्याप्त बन्यो। किनकि एक खेलअगाडि नै भारतले उपाधि जितिसकेको थियो। यस च्याम्पियनसिपमा भारतकी अनुस्का कुमारी सर्वाधिक (७) गोलकर्ता बनिन्।
प्रकाशित: १६ भाद्र २०८२ ०७:४२ सोमबार




-600x400.jpg)
