नेपालविरुद्धको तीन खेलको टी-२० शृंखलामा वेस्ट इन्डिजले सान्त्वना जित निकालेको छ । तेस्रो तथा अन्तिम खेलमा मंगलबार नेपाललाई १० विकेटले पराजित गर्दै क्यारेबियन टोलीले शृंखला क्लिनस्विप हुनबाट बचाएको हो । नेपालले पहिलो खेलमा १९ र दोस्रोमा ९० रनको जित निकालेको थियो ।
दुबईको शारजहामा नेपालले दिएको १२३ रनको लक्ष्य वेस्ट इन्डिजले १२.२ ओभरमा बिना क्षति भेट्टायो । उसको जितमा आमिर जाङ्गोले ७४ र एक्किम अगेष्टले ४१ रनको योगदान गरे । जाङ्गोको यो टी२० आईमा पहिलो अर्धशतक हो ।
यसअघि पहिला ब्याटिङ गरेको नेपालले १९.५ ओभरमा सबै विकेट गुमाएर १२२ रन बनाएको थियो । नेपालका लागि कुशल भुर्तेलले ३९ रन जोडे । क्याप्टेन रोहित पौडेलले १७, सन्दीप जोराले १४, कुशल मल्लले १२ र गुल्शन झाले १० रन बनाए । अन्यले दोहोरो अंकको स्कोर गर्न सकेनन् ।
क्यारेबियन टोलीका लागि रमोन सिमोन्ड्सले ४ तथा अकिल हुसेन, जासन होल्डर र जेडिह ब्लाड्सले समान एक विकेट लिए । दुई जना रन आउट भए ।
प्रकाशित: १४ आश्विन २०८२ २३:१९ मंगलबार





