नेपाल र बंगलादेशबीच हुने दुई मैत्रीपूर्ण फुटबल खेलको शृंखला बराबरीमा सकिएमा पेनाल्टी सुटआउटबाट विजेताको टुंगो लगाइने भएको छ।
अखिल नेपाल फुटबल संघ (एन्फा) ले बिहीबार पत्रकार सम्मेलन गर्दै यसबारे जानकारी दिएको हो।
एन्फाका अनुसार, यदि दुवै खेलको निर्धारित समयको नतिजा बराबरीमा टुङ्गिएमा सिधै पेनाल्टी सुटआउटमार्फत निर्णय लिइनेछ। खेल मैत्रीपूर्ण भएतापनि विजेता टोलीलाई ट्रफी र मेडल प्रदान गरिने एन्फाले जनाएको छ।
नेपाल र बंगलादेशबीचको मैत्रीपूर्ण खेलहरू आगामी भदौ २१ र २४ गते काठमाडौंको दशरथ रंगशालामा हुँदैछन्। दुवै खेल नेपाली समयअनुसार साँझ ५:३० बजे सुरु हुनेछन्।
उक्त खेलका लागि बंगलादेशको राष्ट्रिय फुटबल टोली बुधबार राति नै काठमाडौं आइपुगिसकेको छ।
प्रकाशित: १९ भाद्र २०८२ १७:४२ बिहीबार





