५ फाल्गुन २०८२ मंगलबार
image/svg+xml
खेल

आइसिसी टी ट्वान्टी विश्वकप: सुखद बहिर्गमनको लक्ष्यमा नेपाल

नेपाली टोली भारतमा जारी आइसिसी टी ट्वान्टी विश्वकपको आफ्नो अन्तिम खेलमा स्कटल्यान्डविरुद्ध जित निकाल्दै सुखद बहिर्गमन हुने लक्ष्यमा छ।

तीन खेलमा पराजित समूह ‘ए’ को नेपालले अब अन्तिम खेलमा मंगलबार चिरपरिचित स्कटल्यान्डविरुद्ध खेल्दै छ। मुम्बईको वाङखेडे स्टेडियममा खेल साँझ ७ः १५ बजे सुरु हुनेछ। यो पिचमा स्कटल्यान्डले पहिलोपल्ट खेल्दै छ भने नेपाली टोलीको तीन खेल यसैमा भएको हो। त्यसैले स्कटल्यान्डका लागि वाङ्खेडे नयाँ चुनौती हुनेछ। नेपाल समूहको सबैभन्दा कमजोर र खराब प्रदर्शन गरेको टोली हो। स्कटल्यान्डले भने एक मात्र जित इटालीविरुद्ध आत्मसात् गरेको थियो। यस समूहबाट वेस्ट इन्डिज र इङ्ल्यान्ड सुपर आठमा पुगिसकेका छन्। बाँकी तीन टोली नेपाल, स्कल्यान्ड र इटालीको विश्वकप यात्रा समूहचरणबाटै अन्त्य भइसकेको छ तर नेपालले समूहमा सबैभन्दा कमजोर प्रदर्शन गरिरहेको छ।

नेपालले समूहका तीन खेलमा इङ्ल्यान्ड, इटाली र वेस्ट इन्डिजसँग हार बेहोरेको छ। स्कटल्यान्डले तीन खेलमा एक जित आत्मसात् गरेको छ। स्कटिस टोलीले पहिलो खेलमा वेस्ट इन्डिज र तेस्रो खेलमा इङ्ल्यान्डसँग नतिजा सुम्पिएको थियो। तर, दोस्रो खेलमा भने स्कटल्यान्डले इटालीमाथि ७३ रनको फराकिलो जित निकाल्दै दसौं संस्करणको विश्वकपमा पहिलो जित आत्मसात् गरिसकेको छ। तीनै खेलमा स्टकल्यान्डले राम्रो ब्याटिङ गरेको छ भने नेपाली टोलीको प्रदर्शन दुई खेल (इटाली र वेस्ट इन्डिज) मा खराब रह्यो। स्कटल्यान्डले इटालीविरुद्ध दुई सय रनको आँकडा पार गरेको थियो। साथै स्कटल्यान्डले बलिया टोली इङ्ल्यान्डसँग १५५ र वेस्ट इन्डिजविरुद्ध १४७ रनको योगफल बनाएको छ। स्कटिस टोलीले तीनै खेल कोलकाताको इडन गार्डेन्समा खेलेको हो। अब स्कटल्यान्डले नयाँ पिचमा अनुभव गर्दै छ।

जहाँ उसले समूहको सबैभन्दा कमजोर टोलीविरुद्ध चुनौती प्रस्तुत गर्नेछ। यद्यपि, स्कटल्यान्ड र नेपालले एकअर्कालाई राम्रोसँग चिनेका छन्। ५० ओभर र सीमित ओभरको क्रिकेटमा दुवै एसोसिएट राष्ट्रले चुनौती दिँदै आएका छन् तर विश्वमञ्चमा भने नेपाली टोली र स्कटिस टोली पहिलोपल्ट प्रतिस्पर्धा गर्न लागेका हुन्। सबै फरम्याटमा गरेर दुईबीच ११ पल्ट भिडन्त भएको छ।

त्यसमा ६ खेलको नतिजा स्कटल्यान्ड र पाँच नेपालको पक्षमा छ। पछिल्लोपल्ट गत जुनमा त्रिदेशीय टी ट्वान्टी शृंखलामा पनि स्कटल्यान्ड र नेपालबीच प्रतिस्पर्धा भएको थियो। दुई खेलको प्रतिस्पर्धा नेपाल र स्कटल्यान्डको पक्षमा समान एक नतिजा रह्यो। यी दुईबीच यो फरम्याटमा भएको दुई मात्र टी ट्वान्टी आई हुन्।

यस फरम्याटमा तेस्रोपल्ट स्कटल्यान्ड र नेपाल प्रतिस्पर्धा गर्दै छन्। त्यो पनि साँझ स्लो पिचमा खेल हुनेछन्। जहाँ स्पिनरलाई मद्दत पुग्न सक्नेछ। ब्याटरका लागि भने कठिन बन्न सक्नेछ। नेपालले इङ्ल्यान्डसँग बाहेक इटाली र वेस्ट इन्डिजसँग कमजोर ब्याटिङ गरेको छ। दुवै खेलमा नेपालका शीर्ष ब्याटर धराशयी भएका थिए। तर, स्कटल्यान्डसँग सुधारिएको खेल अपेक्षा गरिएको छ। नेपाली टोलीको ब्याटिङ कन्सल्टन्ट निक पोथसले गत जुनमा भएको शृंखलाका कारण उनीहरूबारे बुझ्न सहज हुने विश्वास व्यक्त गरेका छन्। ‘गत जुनमा भएको शृखलाले स्कटल्यान्डका खेलाडीबारे बुझ्न मद्दत मिलेको छ। उनीहरू राम्रो र क्षमता भएको टिम हो। तर, राम्रो राणनीतिसहित जित निकाल्न चाहन्छौं,’ दक्षिण अफ्रिकी ब्याटिङ कन्सल्टेन्ट पोथले प्रिम्याच कन्फरेन्समा भने।

नेपाली टोलीले ब्याटिङ स्किल राम्रोसँग बुझ्न नसकेको पनि उनको भनाइ छ। त्यसैले पछिल्ला खेलमा सहज नभएको उनी बताउँछन्। ‘रणनीति मैदानमा लागू नहुँदा पछिल्ला दुई खेल राम्रो हुन सकेन। खेलाडीले ब्याटिङ स्किल बुझेनन्। माथिल्लो स्तरको क्रिकेट खेल्न नेपाली टोलीले धेरै मेहनत गर्नुपर्छ। पावरप्लेमा छिटो विकेट जानु नै रणनीति सही रूपमा लागु नहुनु हो,’ पछिल्ला हारबारे उनको बुझाइ छ।

पोथसले सुखद अन्त्यसहित आइसिसी विश्व लिग–२ (एकदिवसीय) का लागि तयार हुने पनि विश्वास व्यक्त गरेका छन्। ‘स्कटल्याडसँग अंक बटुल्दै एकदिवसीयमा जान चाहन्छौं,’ पोथसले प्रि म्याच प्रेस कन्फ्रेन्समा भनेका छन्। कप्तान रिची बेरिङ्टन, ओपनर जर्ज मुन्सी, मिकाइल जोस र टम ब्रुस स्कटल्यान्डको ब्याटिङमा महत्त्वपूर्ण खेलाडी हुन्।

स्पिनर माइकल लिस्क, मध्य गतिका बलर ब्राड कुरी र मार्क वाट बलिङमा प्रभाव राख्न सक्ने खेलाडीका रूपमा चिनिन्छन्। स्कटल्यान्डका टम ब्रुसले नेपालविरुद्ध जित निकाल्दै विश्वकपको यात्रा टुङ्ग्याउने लक्ष्य रहेको बताए। ‘नेपाल राम्रो टोली हो। त्यसैले प्रतिस्पर्धात्मक खेल हुने आशा छ। उनीहरूलाई समर्थकको राम्रो साथ मिल्नेछ। तर, हाम्रो टोली यसका लागि तयार छ। जित निकाल्दै विश्वकपको अन्त्य गर्न चाहन्छौं,’ चार वर्षअघि मात्र न्युजिल्यान्डबाट खेल्दै आएका ब्रुसले भने। उनले गत वर्षदेखि मात्र स्कटल्यान्डबाट थालेका हुन्।

नेपालको बलिङ र ब्याटिङ दुवैमा कमजोर प्रदर्शन भइरहेको छ।पछिल्ला दुई खेलमा ओपनरद्वय आसिफ शेख र कुशल भुर्तेल छिट्टै पभेलियन फर्किएका थिए। त्यसैले नेपालको ब्याटिङ नै धरासयी बन्न पुगेको थियो। त्यसले स्कटल्यान्डसँग भने राम्रो सुरुआत भए पनि मात्र जितका आधार बन्न सक्नेछ। ब्याटिङमा दीपेन्द्रले वेस्ट इन्डिजविरुद्ध अर्धशतक प्रहार गरेका थिए। यो नै विश्वकपमा नेपालका लागि दोस्रो अर्धशतक हो। उनी लयलाई जारी राख्ने लक्ष्यमा हुनेछन् भने तेस्रो विश्वकप खेलेका सोमपाल कामी पनि यसपल्ट पहिलो विकेटको खोजीमा हुने आशा गरिएको छ।

नेपालका प्रिमियर स्पिनर सन्दीप लामिछानेले विश्वकपमा आफ्नो प्रभाव जमाउन सकेका छैनन्। तर, विश्वकपको अन्तिम खेलमा उत्कृष्ट प्रदर्शन गर्दै देशलाई पहिलो जित दिलाउने उनको पनि लक्ष्य हुनेछ। जित निकाल्दै विश्वकपमा सुखद अन्त्य गर्ने लक्ष्य भएकाले प्रशिक्षक स्टुआर्ट लले कुनै नयाँ खेलाडीलाई अवसर नदिन पनि सक्छन्। जहाँ यसै विश्वकपबाट शेर मल्लले डेब्यु गर्दै विकेट पनि लिएका थिए।

प्रकाशित: ५ फाल्गुन २०८२ ०६:१७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App