अस्ट्रेलियामा जारी टप एन्ड टी–२० सिरिजमा नेपाल ‘ए’ले आज बंगलादेश हाई पर्फर्मेन्स टोलीसँग प्रतिस्पर्धा गर्दैछ। डार्विनस्थित मरारा स्टेडियममा हुने खेल नेपाली समयअनुसारदिउँसो २ः१५ बजे सुरु हुनेछ।
प्रतियोगिताको पहिलो खेलमा आयोजक नर्दर्न टेरिटोरी स्ट्राइकसँग ८ विकेटले पराजित भएको नेपाल ‘ए’ आज बंगलादेशविरुद्ध बलियो प्रदर्शन गर्दै जितको लयमा फर्कन चाहन्छ। पहिलो खेलमा ब्याटिङ र बलिङ दुवैमा अपेक्षाअनुसार प्रदर्शन गर्न नसकेको नेपालका लागि आजको खेल महत्वपूर्ण बनेको छ।
नेपालको ब्याटिङमा कुशल भुर्तेल, अनिल साह, लोकेश बम र कुशल मल्ल मुख्य आकर्षण हुनेछन्। यस्तै पवन सर्राफ र त्रितराज दासले मध्यक्रम सम्हाल्ने अपेक्षा छ। बलिङमा आकाश चन्द, शाहब आलम, रिजन ढकाल, राशिद खान र नारायण जोशीले जिम्मेवारी पाउने सम्भावना छ।
यता, बंगलादेशको टोलीमा तीव्र गतिका बलर अबु हैदर रोनी, रिपोन मन्डोल र मृत्तुन्जय चौधरीसँगै अलराउन्डर एसएम मेहेरोब र राकिबुल हसन पनि महत्वपूर्ण खेलाडीका रूपमा रहेका छन्। ब्याटिङमा इर्फान शुक्कुर, जिशान आलम र शामिम हुसेनबाट ठूलो योगदानको अपेक्षा गर्न सकिन्छ।
नेपालका लागि बंगलादेशको आक्रामक ब्याटिङ र तीव्र बलिङ मुख्य चुनौती बन्न सक्छ। तर डार्विनको परिस्थितिमा नेपाली खेलाडीले सुरुआती ओभरमा विकेट निकाल्दै दबाब सिर्जना गर्न सके खेल आफ्नो पक्षमा पार्ने अवसर रहनेछ।
नेपाल ‘ए’ले यस सिरिजमा बंगलादेशपछि हबार्ट हरिकेन्स एकेडेमी, एसीटी कमेट्स, एचएच किङ्समेन एकेडेमी र भिक्टोरिया सीए–११ सँग पनि खेल्नेछ। त्यसैले आजको खेल नेपालका लागि जितसँगै प्रतियोगितामा आत्मविश्वास फर्काउने महत्वपूर्ण अवसरका रूपमा रहेको छ।
प्रकाशित: ६ भाद्र २०८३ ०६:२६ शनिबार





