नेपाली क्रिकेटमा आज (बिहीबार) दुई फरक टोलीकै खेल रहेको छ। अस्ट्रेलियामा रहेको नेपाल ‘ए’ टोलीले टप एन्ड टी-२० शृंखलाअन्तर्गत हैदराबाद किङ्समेन एकेडेमीको सामना गर्दैछ भने राष्ट्रिय टोलीले एसीसी पुरुष प्रिमियर कपको तयारीमा मेलिसयासंग अभ्यास खेल खेल्ने छ।
डार्विनस्थित गार्डेन्स ओभलमा हुने नेपाल ‘ए’ र हैदराबाद किङ्समेन एकेडेमीबीचको खेल आज (बिहीबार) बिहान ९ः१५ बजे स्थानीय समयअनुसार सुरु हुनेछ। प्रतियोगितामा नेपाल ‘ए’ ले आफ्नो प्रदर्शन सुधार्दै अघि बढ्ने लक्ष्य राखेको छ।
नेपाल ‘ए’ टोली यसपटक टप एन्ड टी–२० शृंखलामा प्रतिस्पर्धा गर्न अस्ट्रेलिया पुगेको हो। दुर्इ खेलमा जित हात पारेको नेपाली टोली अब बाकी दुर्इ खेल नै जितेर सेमिफाइनल प्रवेश गर्ने दाउमा रहेको छ।
उता, एसीसी पुरुष प्रिमियर कपको तयारीमा रहेको राष्ट्रिय टोलीले दोस्रो अभ्यास खेलमा आजै मलेसियाको सामना गर्नेछ। यसअघि भएको पहिलो अभ्यास खेलमा नेपालले प्रभावशाली जित निकालिसकेको छ। वर्षाका कारण ५० ओभरको खेल ४८ ओभरमा झारिए पछि नेपालले २२८ रनको लक्ष्य पाएको थियो। नेपालले उक्त लक्ष्य २८ ओभरमा एक विकेट गुमाएर पूरा गर्दै नौ विकेटको शानदार जित निकालेको थियो।
नेपालको जितमा आसिफ शेखले अविजित १६१ रनको उत्कृष्ट इनिङ्स खेले। उनको आक्रामक ब्याटिङसँगै अर्जुन कुमालले पनि अर्धशतकीय योगदान दिएका थिए।
मलेसियाविरुद्धको जितसँगै राष्ट्रिय टोलीले प्रिमियर कपअघि आफ्नो तयारीलाई बलियो बनाएको छ। प्रतियोगिता अगस्ट ३० देखि मलेसियामा सुरु हुँदैछ, जहाँ नेपाल समूह ‘ए’ मा बहराइन, हङकङ, मलेसिया र साउदी अरेबियासँगै रहेको छ।
प्रकाशित: ११ भाद्र २०८३ ०७:०४ बिहीबार





