२७ फाल्गुन २०८२ बुधबार
image/svg+xml
खेल

राष्ट्रिय महिला भलिबल प्रतियोगिता पुस २३ देखि

शेरबहादुर खड्का स्मृति प्रतिष्ठानको आयोजनामा नवौँ संस्करणको राष्ट्रिय महिला भलिबल प्रतियोगिता हुने भएको छ ।  

यही पुस २३ देखि २६ गतेसम्म त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा सञ्चालन हुने प्रतियोगितामा विभिन्न पाँच टोलीले सहभागिता जनाउने आयोजकले जनाएको छ ।  

आज आयोजित पत्रकार सम्मेलनमा आयोजक समितिका अध्यक्ष रञ्जन खड्काले प्रतियोगितामा साविक विजेता नेपाल पुलिस क्लब, सशस्त्र प्रहरी बलको एपीएफ क्लब, न्यु डायमन्ड युथ स्पोर्टस क्लब, त्रिभुवन आर्मी क्लब र एभरेष्ट भलिबल क्लब सहभागी हुने जानकारी दिए।  

नेपाल भलिबल सङ्घको प्राविधिक सहयोगमा सञ्चालन हुने प्रतियोगिताका सहभागी टोलीलाई दुई समूहमा विभाजन गरी लिगकम नकआउटका आधारमा खेल सञ्चालन गरिने आयोजकले जनाएको छ ।  

प्रतियोगिताका विजेता टोलीलाई रु पाँच लाख प्रदान गरिनेछ । त्यसैगरी उपविजेता टोलीले दुई लाख ५० हजार प्राप्त गर्नेछ भने तेस्रो हुनेले एक लाख २५ हजार प्रदान गरिने आयोजकले जनाएको छ ।  

प्रतियोगिताको सर्वोत्कृष्ट घोषित हुने खेलाडीलाई ५० हजारसँगै अन्य आकर्षक पुरस्कार प्रदान गरिने छ । विधागततर्फ उत्कृष्ट हुनेलाई जनही २५ हजार र हरेक खेलको प्लेयर अफ द म्याचलाई १५ हजार नगद पुरस्कार प्रदान गरिने छ ।  

नवौँ संस्करणको उद्घाटन समारोहमा एक जना राष्ट्रिय खेलाडीलाई ५० हजार नगदसहित शेरबहादुर खड्का स्पेशल अवार्डबाट सम्मानित गरिनेसमेत आयोजकका अध्यक्ष रञ्जन खड्काले बताए । यो प्रतियोगिता सञ्चालनका लागि करिब ४० लाख लाग्ने आयोजकले जनाएको छ ।

 

 

प्रकाशित: १० पुस २०८२ १६:३० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App