अखिल नेपाल फुटबल संघ (एन्फा) ले आगामी पुष ९ गतेदेखि पुरुष राष्ट्रिय लिग काठमाडौंमा आयोजना गर्ने भएको छ। सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा सोमबार एन्फा र क्लब बिच सम्पन्न बैठकले आगामी पुष ९ गते राष्ट्रिय लिग गर्ने सहमति गरेको हो। एन्फाको गत साधारण सभाले आगामी पुष १ गतेदेखि होम एन्ड अवे अवधारणामा सहिद स्मारक ‘ए’ डिभिजन लिग आयोजना गर्ने उल्लेख गरेको थियो।
तर, एन्फा र क्लब बिच लिगको विषयमा सहमति हुन नसक्दा पटक पटक लिग सारिँदै आएको थियो। तयारी नपुग्ने र बजेट पनि अभाव रहेको भन्दै उक्त प्रस्तावमा लिग खेल्न अस्वीकार गर्दै आएका थिए। अन्ततः यस वर्ष पनि नेपालको शीर्ष डिभिजन लिग नहुने भएको छ। पछिल्लो पल्ट २०७९ सालमा शीर्ष डिभिजन लिग भएको थियो।
एन्फाभित्र आन्तरिक राजनीतिका कारण त्यसयता लिग हुन सकेको छैन। सोमबार एन्फा र क्लब बिचको बैठकले अर्को वर्षको पुष ३ गते सहिद स्मारक ‘ए’ डिभिजन लिग गर्ने सहमति गरेको छ। अब यस वर्ष राष्ट्रिय लिग हुने भएको छ। राष्ट्रिय लिगमा कुल १० क्लबले प्रतिस्पर्धा गर्नेछन्। गत (२०७९) ‘ए’ डिभिजन लिगको शीर्ष ६ क्लब र हेटौडामा आगामी १९ गतदेखि सुरु हुने एन्फा प्रिसिडेन्ट लिगका शीर्ष चार टोलीले राष्ट्रिय लिग खेल्नेछन्। गत संस्करणको ‘ए’ डिभिजन लिगमा चर्च ब्वाइज डेब्युमै च्याम्पियन भएको थियो। त्यसपछि लिगमा दोस्रोदेखि छैटौं स्थानमा क्रमशः मच्छिन्द्र, नेपाल पुलिस, जावलाखेल, सातदोबाटो र न्युरोड टिम (एनआरटी) थिए।
यही टोलीले नै राष्ट्रिय लिगमा प्रतिस्पर्धा गर्नेछन्। विभागीय टोली त्रिभुवन आर्मी र सबैभन्दा धेरै शीर्ष डिभिजन लिग विजेता मनाङ मर्स्याङ्दी पनि उक्त राष्ट्रिय लिगमा हुने छैन। शीर्ष डिभिजन लिगका १४ मध्ये आठ क्लब राष्ट्रिय लिगमा हुने छैनन्। राष्ट्रिय लिग च्याम्पियनले एएफसी क्लब च्याम्पियनसिप लिग खेल्ने सोमबारको बैठकले निर्णय भएको छ।
प्रेसिडेन्ट लिग विजेताले १० लाख
एन्फा प्रेसिडेन्ट लिगको विजेताले १० लाख रुपैयाँ प्राप्त गर्ने भएका छन्। अखिल नेपाल फुटबल संघ (एन्फा) ले आइतबार हेटौडामा पत्रकार सम्मेलन आयोजना गर्दै प्रेसिडेन्ट लिगको सम्पूर्ण तयारी पूरा भएको जनाएको हो। मकवानपुरको हेटौँडास्थित गौरिटार रंगशालामा आगामी कात्तिक १९ देखि मंसिर २ सम्म हुने उक्त प्रतियोगिता सुरु हुँदै छ।
प्रतियोगिताको उद्घाटन खेलमा चित्लाङ एफसी र देउराली युवा क्लबबिच प्रतिस्पर्धा हुनेछ। प्रेसिडेन्ट लिगको उपविजेताले पाँच लाख, फेयर प्ले अवार्ड जित्ने टोली र सर्वोत्कृष्ट खेलाडीले समान ५० हजार, सर्वाधिक गोलकर्ता र उत्कृष्ट गोलकिपरले समान २५ हजार रुपैयाँ प्राप्त गर्नेछन्। प्लेयर अफ द म्याचले पाँच हजार रुपैयाँ पाउनेछन्।
एन्फाले प्रतियोगिताको तयारीका लागि हरेक टोलीलाई सात लाख रुपैयाँ प्रदान गरिएको उल्लेख गरेको छ। प्रतियोगितामा सहभागी १० टोलीलाई दुई समूहमा विभाजन गरिएको छ। राउन्ड रोबिन लिगपछि समूहका शीर्ष दुई टोलीले सेमिफाइलनमा स्थान बनाउनेछन्। सेमिफाइनल पुग्ने चारै टोली राष्ट्रिय लिगका लागि छनोट हुनेछन्। बाँकेको नेपालगञ्जमा साढे चार वर्षअघि प्रेसिडेन्ट लिगको पहिलो संस्करण भएको थियो।
प्रकाशित: १८ कार्तिक २०८२ ०८:४५ मंगलबार





