गण्डकी प्रदेश खेलकुद परिषद् (गखेप)का दुई जना कार्यकारिणी सदस्यले पदक वितरणमा भएको त्रुटि र लापरबाहीको जिम्मेवारी सदस्य सचिवले लिनुपर्ने बताएका छन्।
गखेप कार्यकारिणी सदस्यद्वय भेनिस थापा र कञ्चन थापा कोइरालाले पदक वितरणमा भएको विवादप्रति आफूहरूको ध्यानाकर्षण भएको जनाउँदै त्यसको सम्पूर्ण जिम्मेवार सदस्य सचिव भएको बताएका हुन्।
थापा र कोइरालाले बुधबार संयुक्त रूपमा एक विज्ञप्ति जारी गर्दै पदक वितरणमा भएको गल्ती, कमजोरी वा लापरबाहीमा आफूहरूको संलग्नता नरहेको स्पष्ट पारेका छन्।
उनीहरूले प्रदेश सरकारको सामाजिक विकास, युवा तथा खेलकुद मन्त्रालयले बनाएको छानबिन समितिले छानबिनपश्चात निकालेको निष्कर्षमा आफूहरू सहमत भएको जनाउँदै सो प्रतिवेदन कार्यान्वयन गर्न मागसमेत गरेका छन्।
विज्ञप्तिमा भनिएको छ,‘पदक वितरणमा गम्भीर त्रुटि, लापरबाही तथा प्रक्रियागत कमजोरी भएको निष्कर्षसहित छानबिन समितिले प्रतिवेदन बुझाएको सम्बन्धमा हामी सदस्य द्वयको निर्णय प्रक्रिया वा कार्यान्वयनमा संलग्नता छैन। यसको सम्पूर्ण जिम्मेवारी निर्णय गर्ने र कार्यान्वयन गर्ने पदाधिकारीले लिनुपर्छ।’
पदक सिफारिस समितिको सिफारिस बिना नै पदक वितरण गरिएको थाहा पाउँदा आफूहरू अचम्मित भएको उनीहरूले बताएका छन्।
हामीलाई पदक सिफारिस समितिबाट सिफारिस भइआएको भनेर प्रस्ताव गरिएको थियो,उनीहरूले विज्ञप्तिमा भनेका छन्,‘त्यस आधारमा उपस्थितिमा हस्ताक्षर गरेका हौँ, तर निर्णयमा होइन।’
उनीहरूले पदक वितरण सम्बन्धी निर्णयमा उपस्थितिमा गरिएको हस्ताक्षरलाई प्रयोग गरिएको उनीहरूको स्पष्टोक्ति छ।
‘उपस्थितिमा गरिएको हस्ताक्षरलाई निर्णयमा प्रयोग गरी हाम्रो सहमति वा स्वीकृति रहेको देखाउनु तथ्यसम्मत होइन’,उनीहरूले विज्ञप्तिमा भनेका छन्।
सदस्यद्वय थापा र कोइरालाले पदक प्रदेशको गौरव भएको बताउँदै त्यसको गरिमा जोगाएर वितरण हुनुपर्नेमा आफूहरू स्पष्ट रहेको जनाएका छन्।
‘पदक खेलाडीको मेहनतसँगै प्रदेश र राष्ट्रको गौरवसँग जोडिएको विषय भएकाले यसको वितरण विधि, प्रक्रिया र मापदण्डअनुसार हुनुपर्छ भन्नेमा हाम्रो स्पष्ट मत छ’,उनीहरूले भनेका छन्।
त्यसैले छानबिन समितिको प्रतिवेदनका आधारमा सत्य तथ्य निष्पक्ष रूपमा परीक्षण गरी दोषीलाई कानुनबमोजिम कारबाही गर्न र निर्दोषलाई दोषारोपणबाट मुक्त गर्न उनीहरूले सरकारसँग आग्रहसमेत गरेका छन्।
प्रकाशित: ३ भाद्र २०८३ १९:१७ बुधबार




-600x400.jpg)
