भारतमा सम्पन्न चौथो दक्षिण एसियाली सिनियर एथलेटिक्स च्याम्पियनसिपमा पदकविजेता नेपाली खेलाडी सम्मानित भएका छन्।
नेपाल एथलेटिक्स संघले शुक्रबार काठमाडौंमा एक कार्यक्रम आयोजना गर्दै च्याम्पियनसिपमा पदक जित्न सफल खेलाडीलाई सम्मान गरेको हो। भारतको झारखण्डमा गत कात्तिक ८ गते सम्पन्न च्याम्पियनसिपमा नेपाल दुई रजत र चार कांस्य पदकसहित तेस्रो भएको थियो। सोही सफलता दिलाउने खेलाडी सम्मानित भएका हुन्।
संघले रजत पदक विजेताई २५ हजार र कांस्य पदक विजेतालाई १५ हजार नगद रुपैयाँसहित सम्मान गरेको छ। संघ महासचिव सञ्जीव तुलाधार र सचिव आरके विष्ट लगायतले खेलाडीलाई सम्मान गरे।
संघले खेलाडीले दिलाएको यो सफलतामा सम्मान रकम सानो भए पनि उनीहरूलाई प्रोत्साहन गर्न यस किसिमको कार्यक्रम आयोजना गरिएको उल्लेख गरेको छ। च्याम्पियनसिपमा गत आइतबार सोमबहादुर कुमाल र राजन रोकायाले रजत पदक जितेका हुन्।
सोमबहादुरले पुरुष आठ सय मिटर र राजनले १० हजार मिटर दौडमा नेपाललाई रजत पदक दिलाएका थिए। सन्तोषी श्रेष्ठले दुई कांस्य पदक जितेकी थिइन्। उनले १० हजार मिटर दौडमा राष्ट्रिय कीर्तिमानसहित कांस्य पदक जितेकी हुन्। सन्तोषीले महिला पाँच हजार मिटर दौडमा पनि राष्ट्रिय कीर्तिमानसहित कांस्य पदक जितेकी थिइन्। सन्तोषीले यस विधामा कान्छीमाया कोजुको नाममा रहेको १५ वर्ष पुरानो राष्ट्रिय कीर्तिमानसमेत तोडेकी थिइन्।
मुकेश पालले पाँच हजार मिटरमा र नेपाली टोलीले चार गुणा चार सय मिटर मिक्स रिलेमा पदक जितेका थिए। चार गुणा चार सय मिटर मिक्स रिलेमा नेपालको यो पहिलो अन्तर्राष्ट्रिय पदक पनि हो। सोमबहादुरसहित रामप्रसाद थारू, जयरानी थारू र रमिताकुमारी थारूले उक्त सफलता दिलाएका हुन्।
संघले उक्त कार्यक्रममा आगामी जनवरीसम्म ४८ जना प्रशिक्षकका लागि लेभल वान कोर्स आयोजना गर्ने जानकारी दिएको छ। संघका उपाध्यक्ष तथा सशस्त्रका पूर्वआइजिपी शैलेन्द्र खनाल र नेपाल आर्मीका अवकाश प्राप्त रथी सन्तोषकुमार ढकाललाई क्रमशः अनुशासन आयोग र प्राविधिक निर्देशकको जिम्मेवारी दिइएको जानकारी दिएको छ।
प्रकाशित: १५ कार्तिक २०८२ ०८:०६ शनिबार





