चेल्सीका प्रशिक्षक इन्जो मारेस्काले टोलीमा नियमित रूपमा आफूले गर्ने ठूला परिवर्तनप्रति इङ्ल्यान्डका पूर्वस्टार वाइन रुनीको आलोचनालाई खण्डन गरेका छन्।
टोलीमा सात खेलाडी परिवर्तन गरेको दिन चेल्सीले बुधबार बाकुमा भएको च्याम्पियन्स लिगमा कराबागसँग २–२ गोलको निराशापूर्ण नतिजा सामना गर्नुपरेको थियो। यो लगातार पाँचौं खेल हो, जहाँ इटालियन प्रशिक्षक मारेस्काले त्यति नै मात्र परिवर्तन गरेका छन् तर, रुनीले मारेस्काको यो रणनीतिलाई बिखण्डनकारी भन्दै आलोचना गरेका छन्। यस सिजन सबै प्रतियोगितामा गरेर चेल्सीले आफ्नो सुरुआती टोलीमा ८५ वटा विकल्प प्रयोग गरेको छ, जुन कुनै पनि प्रिमियर लिग क्लबले गर्ने परिवर्तनभन्दा धेरै हो। चेल्सीपछि धेरै खेलाडी परिवर्तन गर्ने क्लब लिभरपुललाई मानिन्छ, जसले ६९ पटक परिवर्तन गरेको छ। एक सञ्चारमाध्यमसँग कुराकानीमा रुनीले एकअर्कासँग खेलाडीले बुझ्न नपाउँदै प्रशिक्षकले खेलाडी परिवर्तन गरेको उल्लेख गरेका छन्।
आगामी खेलमा आफ्नो सहकर्मी को हुन्छ भन्नेमा खेलाडी नै विश्वस्त हुन नसक्ने रुनीको आरोप छ। म्यानचेस्टर युनाइटेड र इङ्ल्यान्डका पूर्वस्ट्राइकर रुनीको आरोपमा मारेस्काले आफ्नो निर्णयप्रति पूर्ण बचाउ गरेका छन्। साथै उनले आगामी शनिबार प्रिमियर लिगमा प्रशिक्षकविहीन रहेको वुल्भ्ससँगको खेलअगावै टोलीमा परिवर्तन भइसकेको उल्लेख गरे।
‘हामी अहिले यस्तो युगमा छौं, जहाँ जसले जे चाहना राख्यो त्यही भन्न सक्छन्,’ मारेस्काले रुनीको टिप्पणीबारे भने,‘क्लबमा आउँदादेखि नै खेलाडीको रोटेसन गर्ने मेरो रणनीति छ। जब जित हुन्छ, त्यो रणनीति कसैलाई मन नपर्ने हुँदैन तर हार हुँदा त्यही प्रयोग मन पर्दैन। त्यसैले मेरो रणनीति कसैले मन नपराउँदा म बुझ्छु।’
चेल्सीका प्रशिक्षक मारेस्काले खेलाडी परिवर्तन गरेर खेल्ने रणनीति आफूलाई मन पर्ने भनी जोड पनि दिएका छन्। ‘रोटेसन गरेर खेल्ने प्रवृत्ति मलाई मन पर्छ। केही वर्षअघिको जस्तो फुटबल छैन। अहिले शारीरिक र मानसिक रूपमा फुटबल खेल्ने शैली फरक छ। एक सिजनमा एउटै खेलाडीलाई ६५ खेल खेलाउन सहज हुँदैन,’ मारेस्काले आफ्नो खेल रणनीतिको बचाउ गर्दै भनेका छन्।
उनले केही वर्षअगाडि रुनीले भनेजस्तो शैली र रणनीति सही हुने पनि उल्लेख गरे तर, अहिले आधुनिक फुटबल शैलीमा धेरै परिवर्तन आएको उनको बुझाइ छ। ‘तपाईंहरू किन यति धेरै परिवर्तन भन्न सक्नु हुन्न। केही वर्ष यो सम्भव पनि थियो,’ उनले भने, ‘त्यति बेला फुटबल शारीरिक रूपमा कठिन थिएन। मैले २० वर्ष खेलेँ। अहिले धेरै परिवर्तन भइसकेको छ र रोटेसन आवश्यक छ।’
मारेस्काले फुटबलको एक सिजनलाई म्याराथनका रूपमा लिनुपर्ने धारणा राखेका छन्। ‘एक सिजनको फुटबललाई म्याराथनका रूपमा लिनुपर्छ। जब फेब्रुअरी र मार्चमा पुग्छौं। अन्तिमतिर रहेका धावकले जस्तो फरक किसिमले सोच्नुपर्छ। किनकि फुटबलको एक सिजनलाई लामो दौडका रूपमा लिनुपर्छ,’ मारेस्काले भनेका छन्।
बाकुमा मारेस्काले डिफेन्स लाइनमा लिएको निर्णय धेरै आलोचित पनि बन्यो। उनले डिफेन्समा १९ वर्षे जोरेल हाटोलाई अवसर दिएका थिए, जहाँ चेल्सीले बेहोरेको दुवै गोल उनकै कारण भएको थियो। ‘ब्राजिलका अन्तर्राष्ट्रिय खेलाडी आन्द्रे सान्तोस र नेदरल्यान्ड्सका हाटोलाई रोटेसनमा राखिएको थियो। त्यसमा गल्ती देखाइयो।
त्यस्तै गरी फरवार्डमा इस्टेभाओ पनि राखिएको थियो । त्यसबारे केही पनि आएन। किनकि उनले गोल गरेका थिए,’ उनले भनेका छन्।
मारेस्काले प्रतिभावान् युवा खेलाडीलाई अवसर दिनुपर्ने धारणा पनि राखे। साथै उनीहरू गल्तीबाट नै अगाडि बढ्ने मारेस्काको भनाइ छ। यही खेलाडीहरूले जिताउँदा समस्या नहुने तर हार सामना गर्दा रोटेसनको कारणले भन्दै आलोचना हुने प्रशिक्षक मारेस्का बताउँछन्। चेल्सी अहिले इङ्लिस प्रिमियर लिगको सातौं स्थानमा छ। अब चेल्सी आगामी खेलमा पुछारको वुल्भ्सविरुद्ध प्रतिस्पर्धा गर्दै छ।
प्रकाशित: २२ कार्तिक २०८२ ०७:०७ शनिबार





