२५ आश्विन २०८३ आइतबार
image/svg+xml
खेल

अल्ट्रा ट्रेल रेसको उपाधि मनकुमार रोका र कल्पना बुढालाई

पोखरामा सम्पन्न अल्ट्रा ट्रेल रेसको उपाधि मनकुमार रोका मगर र कल्पना बुढा मगरले जितेका छन्। नेपाली सेनाको पश्चिम पृतना हेडक्वार्टर विजयपुर र नेपाल भूतपूर्व खेलाडी मञ्चको संयुक्त आयोजनामा आइतबार पोखरामा सम्पन्न अल्ट्रा ट्रेल रेसमा पुरुषतर्फ रोका मगर र महिलातर्फ बुढा मगरले उपाधि चुमेका हुन्।

शाहवंशीय इतिहाससँग जोडिएका पोखराका पाँच कोट कास्कीकोटसहित सराङकोट, झुप्राङकोट, अर्मलाकोट र काहुँकोटलाई साहसिक खेलकुदको गन्तव्य बनाउँदै पोखराको समग्र पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो।

५० किलोमिटरको अल्ट्रा ट्रेल रेसमा निर्धारित दूरी पाँच घण्टा २१ मिनेट ५४ सेकेन्डमा पार गर्दै उपाधि जितेका रोका मगरले नगद एक लाख ५० हजार रुपैयाँसहित पदक र प्रमाणपत्र प्राप्त गरे।

पाँच घण्टा २२ मिनेट ३७ सेकेन्डमा दूरी पार गर्दै तिलकबहादुर सुनुवार दोस्रो भए। उनले एक लाख रुपैयाँ प्राप्त गरे। पाँच घण्टा २९ मिनेट १२ सेकेन्डमा दूरी पार गर्दै दलबहादुर कुँवर तेस्रो भए। उनले ७५ हजार रुपैयाँ प्राप्त गरे। पाँच घण्टा ४३ मिनेट ४१ सेकेन्डमा दूरी पार गर्दै रमेश लिम्बू चौथो भए। उनले २५ हजार रुपैयाँ प्राप्त गरे। यस्तै, छ घण्टा १८ मिनेट ३८ सेकेन्डमा दूरी पार गर्दै अर्जुनराज कुलुङ पाँचौँ भए। उनले १५ हजार रुपैयाँसहित पदक र प्रमाणपत्र प्राप्त गरे।

सात घण्टा १७ मिनेट २४ सेकेन्डमा निर्धारित दूरी पार गरेकी कल्पना बुढा मगर महिलातर्फ विजेता बनिन्। उनले नगद एक लाख ५० हजार रुपैयाँसहित पदक र प्रमाणपत्र प्राप्त गरिन्। सात घण्टा २१ मिनेट ३७ सेकेन्डमा दूरी पार गर्दै निर्मला राई दोस्रो भइन्। उनले एक लाख रुपैयाँ प्राप्त गरिन्। सात घण्टा २४ मिनेट २० सेकेन्डमा दूरी पार गर्दै सन्देशा बुढा तेस्रो भइन्। उनले ७५ हजार रुपैयाँ प्राप्त गरिन्। आठ घण्टा ३८ मिनेट ३२ सेकेन्डमा दूरी पार गर्दै कोपिला श्रेष्ठ चौथो भइन्। उनले २५ हजार रुपैयाँ प्राप्त गरिन्। आठ घण्टा ४५ मिनेट ४७ सेकेन्डमा दूरी पार गर्दै निरुता कोइराला पाँचौँ भइन्। उनले १५ हजार रुपैयाँसहित पदक र प्रमाणपत्र प्राप्त गरिन्।

१६ किलोमिटर पुरुषतर्फ धिरजबहादुर बुढा प्रथम भए। उनले निर्धारित दूरी एक घण्टा सात मिनेट ५३ सेकेन्डमा पूरा गर्दै २५ हजार रुपैयाँसहित पदक र प्रमाणपत्र प्राप्त गरे। एक घण्टा आठ मिनेट एक सेकेन्डमा दूरी पार गर्दै श्रीकास राई दोस्रो भए। उनले १५ हजार रुपैयाँ प्राप्त गरे। एक घण्टा आठ मिनेट छ सेकेन्डमा दौड पूरा गर्दै निरोज भट्ट तेस्रो भए। उनले १० हजार रुपैयाँसहित पदक र प्रमाणपत्र प्राप्त गरे।

१६ किलोमिटर महिलातर्फ दीपा बस्नेत प्रथम भइन्। उनले एक घण्टा ३० मिनेट चार सेकेन्डमा दूरी पार गर्दै २५ हजार रुपैयाँ प्राप्त गरिन्। एक घण्टा ३० मिनेट ३४ सेकेन्डमा दूरी पार गर्दै विपना लामा दोस्रो भइन्। उनले १५ हजार रुपैयाँ प्राप्त गरिन्। एक घण्टा ३९ मिनेट छ सेकेन्डमा दौड पूरा गर्दै सञ्जिला राई तेस्रो भइन्। उनले १० हजार रुपैयाँसहित पदक र प्रमाणपत्र प्राप्त गरिन्।

यसअघि पोखरा–२४ स्थित ऐतिहासिक स्थल कास्कीकोटबाट सुरु भएको अल्ट्रा ट्रेल रेस सराङकोट, विन्ध्यवासिनी मन्दिर, जौबारी पुल, पानी ट्याङ्की, घर्मी डाँडा, ढिकीडाँडा, झुप्राङकोट, बलायङखर्क, महापुरुष डाँडा, छोरेपाटन डाँडा, अर्मलाकोट, कुरागाउँ, पिपलडाली, र्‍यालेचौर र काहुँकोट हुँदै नेपाली सेनाको फूलबारी ब्यारेकमा पुगेर सम्पन्न भएको थियो। 

प्रकाशित: २५ आश्विन २०८३ २०:२६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App