२७ फाल्गुन २०८२ बुधबार
image/svg+xml
खेल

इडवार्डोको ह्याट्रिकबाट मच्छिन्द्र शीर्ष स्थानमा

जोनाथन इडवार्डोको ह्याट्रिकबाट मच्छिन्द्र क्लब जारी राष्ट्रिय लिगमा सातौं जितसँगै लिगमा अंकतालिकाको शीर्ष स्थानमा उक्लिएको छ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा मंगलबार भएको दोस्रो खेलमा मच्छिन्द्रले लिगकै सबैभन्दा कमजोर टोली देखिएको नव जनजागृति क्लबलाई ४–० ले सहजै हरायो। मच्छिन्द्रको जितमा जोनाथनले ह्याट्रिक पूरा गरे। रेजिन सुब्बाले एक गोल थपे। यो जितसँगै मच्छिन्द्र शीर्ष स्थानमा उक्लियो। ९ खेलबाट मच्छिन्द्रले २२ अंकसहित शीर्ष स्थानमा उक्लिएको छ। जुन दोस्रो स्थानमा रहेको एपिएफको भन्दा एक अंकले बढी हो।

मच्छिन्द्रले पूर्ण रूपमा बल आफ्नो नियन्त्रणमा राखेर खेल्यो। पहिलो हाफमा मच्छिन्द्रले एक गोल मात्र गरेको थियो तर दोस्रो हाफमा भने मच्छिन्द्र आक्रामक बन्यो र तीन गोल थप्यो। मच्छिन्द्रले खेलको ११औं मिनेटमा जोनाथन इडवार्डोको गोलबाट अग्रता लिएको थियो। पहिलो हाफमा मच्छिन्द्र १–० ले अगाडि रह्यो।

५०औं मिनेटमा जोनाथनले पेनाल्टी गोलबाट अग्रता दोब्बर बनाए। मच्छिन्द्र ६२औं मिनेटमा ३–० ले अगाडि बढ्यो। रेजिन सुब्बाले तेस्रो गोल गरेका हुन्। ८१औं मिनेटमा जोनाथनले ह्याट्रिक पूरा गरे। एलिक श्रेष्ठले नजिकैबाट गरेको प्रहार नव जनजागृति क्लबका गोलकिपर खोमबहादुर श्रेष्ठले खुट्टाले रोके। त्यो बल डिफ्लेक्ट भएर जोनाथनको खुट्टामा पुग्यो। उनले त्यो बललाई वान टचमार्फत जाली चुमाए। ८७औं मिनेटमा मच्छिन्द्रका सौरभ लिम्बूले खाली पोस्टमा गोल गर्न चुके। नव जनजागृतिका डिफेन्डर र गोलकिपर खोमबहादुर नै बिट भएको अवस्थामा पाएको बललाई सौरभले खाली पोस्टमा जाली चुमाउन चुके। उनको वान टच सट पहिलो बार हुँदै बाहिरिन पुग्यो।

एक मिनेटपछि नै जोनाथनले मच्छिन्द्रका लागि पाँचौं गोल गरे तर त्यो गोल अफसाइड घोषित भयो र मच्छिन्द्रले ४–० को जित निकाल्यो। यससँगै नव जनजागृतिले नवौं खेलमा पनि हार बेहोर्‍यो। लिगको पुछारको टोली नव जनजागृतिले अंक खाता खोल्न सकेको छैन। त्यसअघि दिनको पहिलो खेलमा मनाङ मर्स्याङ्दी क्लबले चित्लाङ एफसीलाई हरायो। एन्फा कम्प्लेक्समा नै भएको खेलमा मनाङले चित्लाङमाथि २–० नतिजा निकालेको हो। मनाङका लागि सिरब लो तामाङ र सुमित मल्लले गोल गरे। पहिलो हाफ गोलरहित बराबरीमा नै सकियो तर दोस्रो हाफमा दुई गोल निस्कियो।

खेलको ४९औं सिरबको गोलबाट मनाङले अग्रता लियो। खेल साँघुरो जिततर्फ नै अग्रसर भएको थियो तर इन्जुरी समयमा सुमितले गोल गरे। मनाङले चित्लाङलाई २–० ले हरायो। यो जितपछि मनाङले १० खेलबाट १२ अंक छ। मनाङ आठौं स्थानमा उक्लिएको छ। चित्लाङको दसौं खेलमा यो पाँचौं हार हो। सात अंकसहित चित्लाङ १३औं स्थानमा छ।  

प्रकाशित: २७ फाल्गुन २०८२ ०७:१३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App