अविनाश स्याङ्तानको गोल प्रेरणामा मच्छिन्द्र क्लब एन्फा राष्ट्रिय लिगमा आठौं जित निकाल्दै अंकतालिकाको शीर्ष स्थानमा उक्लिएको छ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शुक्रबार भएको खेलमा मच्छिन्द्रले विभागीय टोली नेपाल पुलिस क्लबमाथि १–० को जितसँगै लिगको शीर्ष स्थानमा उक्लिएको हो। मच्छिन्द्रका लागि अविनाश स्याङ्तानले गोल गरे। यो नै मच्छिन्द्रलाई तीन अंक दिलाउन पर्याप्त बन्यो। पुलिस र मच्छिन्द्र दुवैले धेरै अवसर सिर्जना गरेका थिए तर एक मात्र गोल निस्कियो। त्यो गोल पहिलो हाफमा नै भएको हो।
३४औं मिनेटमा अविनाशले गोल गर्दै अग्रता दिलाए। त्यसपछि पहिलो हाफमा थप गोल हुन सकेन र मच्छिन्द्र १–० ले अगाडि रह्यो। दोस्रो हाफमा पुलिसले खेलमा फर्कने प्रयास गरे पनि सफलता पाएन। दुवै तर्फबाट गोल निस्किएन र मच्छिन्द्रले साँघुरो जित निकाल्यो।
मच्छिन्द्रका जोनाथन इडवार्डोको प्रहार र एलिक श्रेष्ठको फ्रिकिकलाई पुलिसका गोलकिपर अमित टमटाले उत्कृष्ट बचाउ गरेका थिए। मच्छिन्द्रको जितमा अविनाश प्लेअर अफ दी म्याच पनि भए। यो जितसँगै मच्छिन्द्र १० खेलबाट २५ अंक जोड्दै शीर्ष स्थानमा उक्लियो। जुन समान खेलबाट दोस्रो स्थानमा रहेको एपिएफको भन्दा एक अंकले मात्र बढी हो।
समान खेलबाट पुलिस ८ अंकसहित १२औं स्थानमा छ। सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलमा प्लानिङ ब्वाइज युनाइटेडले चित्लाङ एफसीमाथि ५–२ को फराकिलो जित निकाल्यो। प्लानिङ ब्वाइजका लागि पापा केबेले दुई तथा एलेक्स विलियन, निङ्मा घिसिङ र प्रताप सिंह राईले समान एक गोल गरे।
चित्लाङका सोलोमोन इलेसान्मीले दुई गोल गरे पनि आफ्नो टोलीको हार टार्न सकेनन्। चित्लाङले अग्रता जोगाउन नसकेको हो। उल्टै लगातार पाँच गोल बेहोर्यो। खेलको २२औं मिनेटमा सोलोमोनको गोलबाट चित्लाङले अग्रता लियो तर त्यो अग्रता लामो समय टिक्न सकेन। सात मिनेटभित्र प्लानिङ ब्वाइजले आक्रामक खेल खेल्दै तीन गोल गरेपछि चित्लाङ पूर्ण दबाबमा पर्यो। २९औं मिनेटमा पापाले गोल गर्दै प्लानिङलाई १–१ को बराबरीमा ल्याए। चार मिनेटपछि एलेक्सले प्लानिङको दोस्रो गोल गर्दै अग्रता दिलाए। ३६औं मिनेटमा निङ्माको गोलबाट प्लानिङले ३–१ को अग्रता लियो तर तीन मिनेटपछि सोलोमोनले गोल गर्दै चित्लाङलाई खेलमा फर्काउने संकेत गरे।
यद्यपि, पहिलो हाफमा थप गोल हुन सकेन र प्लानिङ ३–१ ले अगाडि रह्यो। दोस्रो हाफमा प्लानिङ ब्वाइजले दुई गोल गर्दै चित्लाङमाथि रबाफिलो जित निकाल्यो। ६९औं मिनेटमा कप्तान प्रतापसिंह र ८७औं मिनेटमा पापा केबेले गोल गरे। यससँगै प्लानिङ ब्वाइज ५–२ को फराकिलो जित रच्न सफल भयो। प्लानिङ ब्वाइजका पापा केबे प्लेअर अफ दी म्याच भए। यो जितपछि प्लानिङ ब्वाइज ११ खेलबाट २२ अंकसहित तेस्रो स्थानमा उक्लिएको छ। जुन एक खेल कम खेलेको शीर्ष स्थानको मच्छिन्द्रभन्दा तीन अंकले कम हो। चित्लाङ ११ खेलबाट सात अंकसहित १५औं स्थानमा छ। जारी लिगमा चित्लाङको यो छैटौं हार हो।
दिनको अन्तिम खेलमा लालीगुराँस एसोसिएसनले मनाङ मस्र्याङ्दी क्लबसँग गोलरहित बराबरीमा खेल्यो। यससँगै लालीगुराँसले तेस्रो स्थानमा उक्लने अवसर गुमायो। लगातार चौथो खेलमा बराबरीपछि लालीगुराँसको शीर्ष स्थान दाबेदारी कमजोर भएको छ। जारी लिगमा अपराजित दुई टोलीमध्ये एक लालीगुराँसको ११ खेलबाट २१ अंक छ। मनाङ ११ खेलबाट ९ अंकसहित १३औं स्थानमा छ।
प्रकाशित: ३० फाल्गुन २०८२ ०७:२८ शनिबार





