२८ श्रावण २०८३ बिहीबार
image/svg+xml
खेल

चार वर्षदेखि रोकिएको खेलाडी पुरस्कार एकमुष्ट वितरण

कर्णाली प्रदेश खेलकुद विकास परिषद्ले चार वर्षदेखि रोकिएको खेलाडी पुरस्कार एकमुष्ट वितरण गरेको छ।

विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा पदक जितेका करिब १५० खेलाडीलाई पदकका आधारमा पुरस्कार दिइएको परिषद्ले जनाएको छ। परिषद्का लेखा अधिकृत लव विक्रम शाहका अनुसार यसपटक पुरस्कारमा  ५० लाख बढी रुपैयाँ खर्च भएको छ।

अन्तर्राष्ट्रिय प्रतियोगिताका स्वर्ण, रजत र कास्य पदक विजेतालाई क्रमशः २ लाख ५० हजार, २ लाख र ७५ हजार रुपैयाँ तथा एसियाली खेलकुदमा कास्य विजेतालाई १ लाख रुपैयाँ दिने व्यवस्था छ। राष्ट्रियस्तरका प्रतियोगितामा स्वर्ण, रजत र कास्य पदक विजेतालाई क्रमशः २० हजार, १५ हजार र १० हजार रुपैयाँका दरले पुरस्कार वितरण गरिएको छ।

१४औँ, १५औँ र १६औँ राष्ट्रपति रनिङ शिल्ड तथा प्रथम अन्तरप्रदेश खेलकुद प्रतियोगिताका पदक विजेताले समेत पुरस्कार पाएका छन्। यसपटक सबैभन्दा बढी पुरस्कार कराँतेकी एलिसा रास्कोटीले ११ लाख ७० हजार रुपैया बढी रकम  प्राप्त गरेकी छन्। प्रियंका शाहीले ३ लाख ५ हजार, उसुका दीपक हमालले १ लाख ५० हजार, कराँतेकी कृतिका कटुवालले १ लाख २७ हजार तथा दीपक विकले ५० हजार रुपैयाँ पाएका छन्।

कबड्डीकी बिनिता पण्डित क्षेत्रीले १ लाख रुपैयाँ पुरस्कार पाएकी छन्। परिषद्ले पुरस्कारबाट छुटेका खेलाडीलाई आगामी पुरस्कार रकमसँगै सम्मान गर्ने जनाएको छ। समयमै पुरस्कार वितरण गरी खेलाडीलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा थप उत्साहित बनाउने परिषद्को भनाइ छ।

प्रकाशित: २८ श्रावण २०८३ १३:१९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App