नेपाल प्रिमियर लिग (एनपिएल) को दोस्रो संस्करणको विजेता लुम्बिनी लायन्सले यही पुस ५ गतेदेखि लुम्बिनी प्रदेशका विभिन्न जिल्लामा ट्रफी सेलिब्रेसन टुर सुरु गर्ने भएको छ।
लुम्बिनी लायन्सले आज सार्वजनिक गरेको तालिका अनुसार बाँके र बर्दियाबाट सुरु हुने टुर पुस १५ गते रुपन्देहीमा आए पूरा हुनेछ।
तालिका अनुसार पुस ५ गते नेपालगञ्जको बागेश्वरी मन्दिरदेखि गुलेरियासम्म र भन्सागढीदेखि कोहलपुरसम्म ट्रफी प्रदर्शन गरिनेछ। पुस ६ गते दाङको तुल्सिपुर–घोराहीमा टुर आयोजना हुनेछ।
पुस ७ गते रुकुमको रुकुमकोट–खलङ्गासम्म, पुस ८ गते रोल्पाको लिवाङ–सुलिचौरसम्म, पुस ९ गते प्युठानको भिङ्ग्रीदेखि स्वर्गद्वारीसम्म, पुस १० गते विजुवार बरुङ्लादेखि चकचके दरभाङ र भालुवाङसम्म टुर रहने जनाइएको छ।
साथै, पुस ११ गते कपिलवस्तुको चन्द्रौटा–कृष्णनगर–तौलिहवा–गोरुसिङ्गेसम्म, पुस १२ गते अर्घाखाँचीको सुपादेउराली मन्दिरदेखि सन्धिखर्कसम्म, पुस १३ गते गुल्मीको तम्घासमा, पुस १४ गते पाल्पाको तानसेन बजार, पुस १५ गते नवलपरासीको बर्दघाट–सुनवलसम्म र पुस १५ गते नै रुपन्देहीको भैरहवादेखि लुम्बिनीसम्म टुर आयोजना गरिनेछ।
लुम्बिनी लायन्सका अनुसार पुस १६ गते बुधबार बुटवलको सिद्धबाबा मन्दिरदेखि ट्राफिक चोकसम्म टुर आयोजना हुनेछ भने मेगा कन्सर्ट पनि आयोजना हुनेछ।
एनपिएलको दोस्रो संस्करणको फाइनलमा लुम्बिनी लायन्सले सुदूरपश्चिम रोयल्सलाई छ विकेटले पराजित गरेको थियो। लुम्बिनीले त्यससअघि दोस्रो क्वालिफायरमा विराटनगर किङ्स र प्लेअफको एलिमिनेटरमा काठमाडौं गोर्खाजलाई पराजित गरेको थियो।
एनपिएलको पहिलो संस्करणको जनकपुर बोल्ट्सले जितेको थियो।

प्रकाशित: ३ पुस २०८२ १८:३५ बिहीबार





