२६ फाल्गुन २०८२ मंगलबार
image/svg+xml
खेल

लिङ्गार्ड कोरिन्थियन्समा अनुबन्ध

ब्राजिलको फुटबल क्लब कोरिन्थियन्सले इङ्ल्यान्ड तथा म्यानचेस्टर युनाइटेडका पूर्वफरवार्ड जेसी लिङ्गार्डलाई अनुबन्ध गरेको छ।

लिङ्गार्ड दक्षिण कोरियाको क्लब एफसी सिओलबाट फ्री ट्रान्सफरमा कोरिन्थियन्समा आएका हुन्। उनी सन् २०२४ देखि उक्त क्लबबाट खेल्दै आएका थिए। कोरिन्थियन्सले इन्स्टाग्राममा ३३ वर्षीय खेलाडी लिङ्गार्ड क्लबको नम्बर ७७ जर्सी समातेको तस्बीर राख्दै युनाइटेड किङ्डमदेखि फाभेलासम्म भन्दै पोस्ट गरेको छ।

लिङ्गार्डले आफ्नो व्यावसायिक करियर म्यानचेस्टर युनाइटेडबाट सुरु गरेका थिए। उनले रेड डेभिल्सका लागि दुई सय ३२ खेल खेल्दै ३५ गोल गरेका थिए। त्यसपछि उनले छोटो समयका लागि ब्राइटन, लेस्टर सिटी, वेस्ट ह्याम युनाइटेड, डर्बी काउन्टी र नटिङ्घ फरेस्टबाट पनि खेलेका थिए।

‘मेरो पहिलो अनुभूति निकै खुसीको छ र म खेल सुरु गर्न निकै उत्साहित छु,’ लिङ्गार्डले भने। ‘यो नौलो अनुभूति हो। मैले कोरिन्थियन्सका समर्थकहरूलाई अहिलेसम्म अनलाइन मात्र देखेको थिएँ  तर प्रत्यक्ष त्यहाँ पुग्नु अद्भुत अनुभव हो,’उनले भनेका छन्।

लिङ्गार्डले एफसी सिओलका लागि ६७ खेलबाट १९ गोल गरेका थिए। उनले इङ्ल्यान्ड राष्ट्रिय टोलीका लागि ३२ खेलमा ६ गोल गरेका छन्। क्लबका अधिकारीहरूले उनी बुधबार हुने ब्राजिलियन लिगको घरेलु खेलमा कोरिटिबाविरुद्ध खेल्न योग्य हुने आशा गरेका छन्। कोरिन्थियन्समा उनले आफ्नो म्यानचेस्टर युनाइटेड पूर्वसहकर्मी मेम्फिस डिपेसँग खेल्नेछन्।

डच फरवार्ड डिपे सन् २०२४ देखि साओ पाउलोस्थित क्लबबाट खेलिरहेका छन्। कोरिन्थियन्स वर्तमान ब्राजिलियन कपको विजेता हो र यस वर्षको कोपा लिबर्टाडोरेस उपाधिका प्रमुख दाबेदारमध्ये एक मानिएको छ। ब्राजिलियन लिगमा कोरिन्थियन्स चार खेलबाट सात अंकसहित तेस्रो स्थानमा छ। संयुक्त दोस्रो स्थानमा रहेका पाल्मेइरास र साओ पाउलोभन्दा उनीहरू तीन अंकलेपछि छन्।

प्रकाशित: २४ फाल्गुन २०८२ १३:३८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App