१३ चैत्र २०८२ शुक्रबार
image/svg+xml
खेल

लिग–२ः नेपालको अर्को हार, युएईसँग पाँच विकेटले स्तब्ध

आइसिसी विश्वकप क्रिकेट लिग–२ मा नेपालले अर्को हार ब्यहोरेको छ। युएईसँगको आजको खेलमा नेपाल पाँच विकेटले पराजित भएको छ।  

नेपालले दिएको २३४ रनको लक्ष्यलाई युएईले ४३ ओभर ३ बलमा पाँच विकेट गुमाउँदै पूरा गरेको छ।  यसअघि टस जितेर कप्तान रोहित पौडेलको शतकको मद्दतले नेपालले ५० ओभर खेल्दै १० विकेट गुमाएर २३३ रन जोडेको थियो।  

जवाफी ब्याटिङमा उत्रिएको युएईका ब्याटर सुरुवातदेखि नै आक्रमक अन्दाजमा उत्रिएका थिए। युएईका लागि ओपनर आर्यान्स शर्माले सर्वाधिक ९८ रन जोड्दा अर्का ओपनर अलिशान सराफूले ४५ रन जोडे। यस्तै मोहम्मद वासिमले २६ रनको योगदान दिए।  

नेपालका लागि सबैजसो बलर निष्प्रभावी रहे। सन्दीप लामिछानेले २ विकेट लिँदा दीपेन्द्रसिंह ऐरी र करन केसीले एकएक विकेट लिए।  

यसअघि नेपालले सुरुका चार ओभर राम्रो ब्याटिङ गरे पनि त्यसपछि नेपाली इनिङ निकै सुस्त रह्यो। कप्तान रोहितले सम्हालिँदै १०९ रनको पारी खेल्दा आशिफ शेखले ३५, आरिफ शेखले २७ र दीपेन्द्रसिँह ऐरीले २३ रनको योगदान दिए।  

युएईका लागि जाहिद अलीले चार, जुनैद सिद्दिकी तीन र मोहम्मद रसिद र हैदर अलीले एक–एक विकेट लिएका थिए।  

लिग–२ अन्तर्गत नेपालले युएईमा अमेरिका र युएई सम्मिलित यो त्रिकोणीय श्रृंखला खेल्दैछ। जहाँ नेपालको यो लगातार दोस्रो हार हो। यसअघि अमेरिकासँग पनि नेपालले फराकिलो हार ब्यहोरेको थियो।  

आज अंक तालिकाको पुछारमा रहेको युएईसँग पनि यसरी फराकिलो हार भोगेपछि नेपालका लागि झन् चुनौती थपिएको छ।  

जारी त्रिकोणीय श्रृंखलामा नेपालले युएई र अमेरिकासँग एकएक खेल खेल्नेछ।  

प्रकाशित: १३ कार्तिक २०८२ १८:२७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App