स्पेनिस ला लिगाअन्तर्गत गएराति भएको खेलमा एल्चेले एस्पान्योललाई ३-१ गोलले पराजित गरेको छ। एस्पान्योलको घरेलु मैदानमा भएको खेलमा एल्चेले सुरुवातदेखि नै आक्रामक प्रदर्शन गर्दै महत्वपूर्ण तीन अंक जोडेको हो।
खेल सुरु भएको पाँचौँ मिनेटमै एल्चेले अग्रता लिएको थियो। फेडेरिको रेडोन्डोले गोल गर्दै पाहुना टोलीलाई सुरुवाती अग्रता दिलाए। त्यसपछि २५औँ र २८औँ मिनेटमा फर्नान्डो निनोले लगातार दुई गोल गरेपछि एल्चे पहिलो हाफमै ३-० ले अघि बढ्यो।
दोस्रो हाफमा एस्पान्योलले खेलमा फर्कने प्रयास गरेको थियो। ७१औँ मिनेटमा भिक्टर चुस्तको आत्मघाती गोलमार्फत एस्पान्योलले एक गोल फर्कायो। तर त्यसपछि थप गोल गर्न नसकेपछि घरेलु टोली ३-१ ले पराजित भयो।
खेलको सुरुवातमै एल्चे १० खेलाडीमा सीमित भए पनि एस्पान्योलले त्यसको फाइदा उठाउन सकेन। एल्चेका रेडोन्डोले छैटौँ मिनेटमै रातो कार्ड पाएपछि पाहुना टोली बाँकी खेल १० खेलाडीमा खेलेको थियो। त्यसका बाबजुद एल्चेले प्रभावकारी प्रदर्शन गर्दै स्पष्ट जित निकाल्यो।
यस नतिजासँगै एल्चेले महत्वपूर्ण तीन अंक जोड्दा एस्पान्योलका लागि भने घरेलु मैदानमा निराशाजनक नतिजा बनेको छ।
ला लिगाको छैटौँ चरणपछि बार्सिलोना १८ अंकसहित शीर्ष स्थानमा छ। उसले अहिलेसम्म खेलेका सबै छ खेलमा जित निकाल्दै २८ गोल गरेको छ। रियल म्याड्रिड १५ अंकसहित दोस्रो तथा रियल बेटिस पनि १५ अंकसहित तेस्रो स्थानमा छन्। सेभिल्ला १३ अंकसहित पाँचौँ स्थानमा छ।
आज शनिबार ला लिगामा चार खेल हुँदैछन्। पहिलो खेलमा ओसासुनाले रायो भाल्लेकानोसँग प्रतिस्पर्धा गर्नेछ। त्यसपछि एथ्लेटिक बिल्बाओ र अलाभेसबीच खेल हुनेछ। तेस्रो खेलमा सेल्टा भिगोले रासिङ सान्तान्देरको सामना गर्नेछ।
आजको सबैभन्दा आकर्षक खेल भने सेभिल्ला र बार्सिलोनाबीच हुनेछ। सेभिल्लाको घरेलु मैदानमा हुने खेलमा अपराजित बार्सिलोना लगातार सातौँ लिग जितको खोजीमा हुनेछ। बार्सिलोनाले जारी सिजनमा अहिलेसम्म खेलेका सबै छ लिग खेल जितेको छ।
सेभिल्ल र बार्सिलोनाबीचको खेलमा दुवै टोलीका लागि तीन अंक महत्वपूर्ण हुनेछ। बार्सिलोना शीर्ष स्थानमा आफ्नो पकड कायम राख्ने लक्ष्यमा रहँदा सेभिल्ला घरेलु मैदानमा लिगको शीर्ष टोलीलाई रोक्दै अंकतालिकामा आफ्नो स्थिति बलियो बनाउने योजनामा हुनेछ।
प्रकाशित: ३ आश्विन २०८३ ०७:०३ शनिबार



-600x400.jpg)

