२५ श्रावण २०८३ सोमबार
image/svg+xml
खेल

राष्ट्रिय टोलीबाट हटाइएका कुशल भुर्तेल नेपाल ‘ए’ मा

निरन्तरको कमजोर फर्मका कारण नेपाली राष्ट्रिय क्रिकेट टोलीबाट हटाइएका ओपनर कुशल भुर्तेल नेपाल ‘ए’ टोलीमा समावेश भएका छन्।

अस्ट्रेलियामा आयोजना हुने ‘टप एन्ड टी-२०’ प्रतियोगिताका लागि नेपाल क्रिकेट संघ (क्यान) ले घोषणा गरेको १५ सदस्यीय नेपाल ‘ए’ टोलीमा भुर्तेल परेका हुन्।

सोमबार मात्रै खराब प्रदर्शनका कारण मुख्य राष्ट्रिय टोलीबाट फालिएका भुर्तेललाई पुनरागमनको अवसर दिँदै क्यानले अनिल कुमार साहको कप्तानीमा नेपाल ‘ए’ टोली सार्वजनिक गरेको हो।

टोलीमा भुर्तेलसँगै राष्ट्रिय टोलीको अनुभव बटुलिसकेका कुशल मल्ल, पवन सर्राफ र रशिद खानजस्ता खेलाडीहरूलाई पनि राखिएको छ।

अस्ट्रेलिया भ्रमणका लागि घोषित नेपाल ‘ए’ टोलीमा कप्तान अनिल कुमार साह, कुशल भुर्तेल, तृतराज दास, मयन यादव, पवन सर्राफ, दीपक डुम्रे, कुशल मल्ल, लोकेश बम, रशिद खान, नारायण जोशी, आकाश चन्द, शाहब आलम, विपिन खत्री, युवराज खत्री र रिजन ढकाल रहेका छन्।

अस्ट्रेलियाको डार्बिनमा आगामी अगस्ट २१ देखि ३० सम्म सञ्चालन हुने ‘टप एन्ड टी-२०’ प्रतियोगितापछि नेपाल ‘ए’ टोलीले साउथ अस्ट्रेलिया, तास्मानिया र न्युजिल्यान्ड ‘ए’ टोलीविरुद्ध मैत्रीपूर्ण शृंखला समेत खेल्ने क्यानले जनाएको छ।

प्रकाशित: २५ श्रावण २०८३ २०:४९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App