केल्मी नेपालले सशस्त्र प्रहरी बल नेपाल खेलकुद तथा शारीरिक सुगठन शिक्षालयअन्तर्गत रहेको विभागीय टोली नेपाल एपिएफ क्लबसँग प्रायोजकको रूपमा निरन्तरता दिएको छ।
सोमबार एक कार्यक्रम बीच एपिएफका अध्यक्ष सशस्त्र प्रहरी बल वरिष्ठ उपरिक्षक कमलप्रसाद तिउसिना र कामारु ट्रेडिङ प्रालिका प्रबन्ध निर्देशक उत्तम न्यौपानेले सम्झौता पत्रमा हस्ताक्षर गर्दै प्रायोजकको रूपमा सहकार्य गरेका हुन्।
उक्त सम्झौता पाँच वर्षको हुने भएको छ। मुख्य प्रायोजनबापत कामारुले एपिएफको महिला तथा पुरुष फुटबल र भलिबल टोली, यु–१६, यु–१८ पुरुष टोली, ब्याडमिन्टन टोली र ग्रासरुट फुटबल कार्यक्रमका लागि खेलपोसाक तथा सामग्री उपलब्ध गराउनेछ।
साथै कामारुले एपिएफमा आबद्ध कर्मचारी, पूर्वकर्मचारी, अमर सशस्त्र प्रहरीका परिवार, नेपाल एपिएफ स्कुल, सशस्त्र प्रहरी परिवार महिला संघ, नेपाल एपिएफ क्लबमा आबद्ध सदस्य, खेलाडी, प्रशिक्षकलाई खेलपोसाक तथा सामाग्री खरिदमा विशेष छुट पनि प्रदान गर्नेछ।
कामारु ट्रेडिङ नेपालका लागि अन्तर्राष्ट्रिय खेल सामाग्री उत्पादक कम्पनी केल्मीको आधिकारिक विक्रेता हो। एपिएफले खरिद गर्ने पोसाकबाहेक अन्य खेल सामाग्री पनि ३५ प्रतिशत छुट पाउने उल्लेख गरिएको छ।
प्रकाशित: २१ श्रावण २०८२ ०७:१५ बुधबार



-600x400.jpg)

