काठमाडौंमा जारी नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो संस्करणका खेल क्रमश: थप रोचक बन्दै गएका छन् ।
एनपीएल सिजन- २ मा बिहिबार भएको दिनको पहिलो खेलसहित २३ औँ खेल सकिएको छ।
त्रिवि क्रिकेट मैदानमा सम्पन्न दिनको पहिलो खेलमा पोखरा एभेन्जर्सलाई पराजित गर्दै राजधानी टोली काठमाडौं गुर्खाज प्लेअफमा पुगेको छ।
निकै रोमान्चक बनेको खेलमा १३ रनले विजयी हुँदै काठमाडौंले बाजी मार्यो। जसले काठमाडौंलाई प्लेअफमा आफनो स्थान सुरक्षित पार्न सफल बनायो । खेलपछि पत्रकारसँगै बोल्दै काठमाडौंका भीम सार्कीले टोली प्लेअफमा पुग्दा निकै खुसी लागेको बताए। ‘टिम प्लेअफमा पुगेको छ धेरै खुसी लागेको छ, टोलीले गरेको योजना पूरा पनि भएको छ हामी पूरै टोली नै अहिले खुसी छौँ’, उनले भने।
बिहीबार टस हारेर ब्याटिङको निम्तो पाएको काठमाडौंले ८ विकेट गुमाएर १६५ रन बनाएको थियो।
प्लेअफमा पुग्ने लक्ष्य लिएर मैदान उत्रिएको काठमाडौंले पोखलाई चुनौतीपूर्ण लक्ष्य प्रदान गरेको हो। त्यसपछि पोखरालाई रोक्दै काठमाडौंले बोकेको आफ्नो त्यो लक्ष्य पूरा गर्यो।
यस सिजनको उद्घाटन खेलमै साविक विजेता जनकपुर बोल्ट्सलाई पराजित गर्दै काठमाडौंले एनपीएलको सुरुआत गरेको थियो। जनकपुरलाई ५ विकेटले हराएको काठमाडौं आफनो दोस्रो खेलमा सुदूरपशिचम रोयल्ससँग २९ रनको फराकिलो अन्तरले पराजित भएको थियो।
त्यसपछि आफ्नो तेस्रो खेलमा काठमाडौंले यस सिजनमा बलियो देखिएको विराटनगर किंग्सको सामना गर्यो जसमा पनि काठमाडौं ५ विकेटले विमुख बन्न पुग्यो।

चौथो खेलमा लुम्बिनी लायन्सलाई २२ रनले पराजय गरेसँगै काठमाडौं लयमा फर्कियो। लुमबिनीलाई २२ रनले पराजित गरेको काठमाडौंले चितवन राइनोजलाई आफनो पाँचौ खेलमा ५३ रनको फराकिलो अन्तरले पराजित गर्यो।
जसले गर्दा काठमाडौंले आफूले आफूलाई सावित गर्यो। त्यससपछि कर्णाली याक्सलाई ५ विकेटले हराएको काठमाडौंको प्लेअफको सम्भावना एकदमै बढी थियो।
पोखरासँग खेल सम्पन्न भएसँगै काठमाडौंले लिग चरणको सबै खेलहरु सकाएको छ। जहाँ काठमाडौंले ५ खेलमा जित र दुईमा हार व्यहोरेको छ।
‘लिग चरणको सुरुवाती खेलहरुमा हामी केही कुरामा सन्तुलित थिएनौँ तर अहिले खेलिरहँदा नतिजा हाम्रो पक्षमा आउन थालेको छ’ भीम भन्छन् ‘समग्रमा हेर्दा अहिले सबै मिलेको जस्तो लाग्छ।’
एनपीएलको पहिलो सिजनमा काठमाडौं नेटरनरेटले पछि पर्दा प्लेअफमा पुगेको थिएन । यसपटक भने राजधानी टोली जारी एनपीएलमा प्लेअफमा पुग्ने दोस्रो टोली बनेको हो।

पोखराविरुद्ध भीमको विस्फोट ब्याटिङ
काठमाडौंका भीम सार्कीले त्रिवि क्रिकेट मैदानमा सनसनी मच्चाए। उनको विस्फोट ब्याटिङको मद्दतले काठमाडौंले पोखराविरुद्ध चुनौतीपुर्ण लक्ष्य प्रदान गर्न सम्भव भयो।
छैटौँ नम्बरमा क्रिजमा आएका भीमले मात्र १९ बलमा अर्धशतक पूरा गरे । एनपीएलको यो सिजनमा संयुक्त रुपमा भीमले १९ बलमा अर्धशतक पुरा गरेका हुन्। पोखराका बलरहरु काठमाडौंमाथि हाबी भइँरहदा भीमले आफ्नो ब्याट जादुयी रुपमा चलाए।
उनले गरेको विस्फोटक ब्याटिङले पोखरा दबाबमा थियो। ५ विकेट गुमाउँदा काठमाडौंले मात्र ७९ रन बनाएको थियो। जसमा काठमाडौंका ओपनर बेन चार्ल्सवर्थ संयमित भएर ब्याटिङ गरेका थिए।
उनी आएपछि यी दुई मिलेर काठमाडौंको इनिङसलाई उकालेका हुन्। भीमले १९ बलमा ४ छक्का र ५ चौका प्रहार गरेका हुन्। ‘टिमको रन एकदमै कम थियो, मलाई व्यक्तिग हिसाबबाट पनि रन एकदमै कम लागिरहेको थियो, कसरी स्करोटबोर्डमा टिमको रन बढी बनाम भन्ने थियो’ भीम भन्छन्, ‘स्कोरबोर्डमा विपक्ष टोलीको रन बढी हुँदा त्यो टोली दबाबमा पर्छ।’
उनी २३ बलमा ५५ रन बनाउँदै मैदान छाडेका थिए। उनी मैदान प्रवेश गर्दा टोलीको अवस्था निकै नाजुक थियो। पोखराको बलरले काठमाडौंलाई सस्तमै समेटिरहेको थियो। त्यसपछि उनी र बेन मिलेर ७६ रनको उत्कृष्ट साझेदारी गरे। त्यस्तै, बेनले ५५ बलमा ६४ रन बनाए।
नायक बनेका शाहब

पोखराको लागि शाहब आलम खलनायक बने। जित्नै पर्ने दबाबमा मैदान उत्रिएको पोखरालाई सस्तमै समेट्न शाहबले प्रमुख भूमिका खेले।
उनी एक्लैले पोखराको ६ विकेट लिए। रन बनाउन संघर्ष गरिरेहको पोखराको ब्याटिङ लाइन शाहबले ध्वस्त पारिदिए। काठमाडौंले लिएको १६६ रनको लक्ष्य पछाइरहेको पोखरा निर्धारित २० ओभरमा मात्र १५२ रनमै अलरआउट भयो। शाहब पोखरामाथि यति हाबी भए, उनले ४ ओभरमा मात्र २५ रन खर्चिएर ६ विकेट लिए ।
उनको तारिफ गर्दै भीमले भने, ‘काठमाडौंको जितको एउटा कारण शाहबको बलिङ पनि हो।’
‘शाहबले घरेलु क्रिकेटमा एकदमै राम्रो बल्लिङ गर्छ मलाई उमाथि विश्वास थियो, म्याच जिताउँछ भनेर घरेलु टोली एउटै भएको कारणले गर्दा पनि मलाई थाहा छ टोलीलाई चाहेको बेला उसले विकेट लिन सक्छ’ भीमले भने।
शाहबले अन्तमि ओभरमा ह्याट्रिक पूरा गरेका थिए। जारी सिजनमा उनले गरेको नै पहिलो ह्याट्रिक विकेट हो।
यति मात्र नभई उनी जारी एनपीएलमा एउटै खेलमा ६ विकेट लिने पहिलो खेलाडी समेत बने। शाहबले अन्तिम ओभरमा बल्लिङमा आएर उत्कृष्ट प्रदर्शन गरे।
शाहबले अन्तिम ओभरको पहिलो बलमा पोखराका ५४ रन बनाएका धवनलाई आउट गरे। त्यसपछि दोस्रो बलमा पोखरका विपिन खत्रीलाई आउट गरेर त्यसपछि तेस्रो बलमा शाहबले आकाश चन्दलाई आउट गर्दै ह्याट्रिक विकेट लिए।
उनको यो प्रदर्शन अहिले चर्चामा छ। भीम र बेनसँगै उनले पनि आज काठमाडौंका लागि महत्वपूर्ण योगदान गरे।
प्रकाशित: १८ मंसिर २०८२ १७:४९ बिहीबार


-600x400.jpg)

