नेपाल प्रिमियर लिग (एनपिएल) को फ्रेन्चाइज टोली कर्णाली याक्सले आगामी संस्करणको लागि सहप्रायोजकको रूपमा एसियन पेन्ट्सको साथ पाएको छ।
कर्णाली याक्स स्पोटर््स प्रालीले काठमाडौंमा मंगलबार पत्रकार सम्मेलन गर्दै एसियन पेन्ट्ससँग दोस्रो संस्करणका लागि सहकार्य घोषणा गरेको हो। कर्णाली याक्समा निर्देशक गृहेन्द्र घिमिरे र एसियन पेन्ट्स मार्केटिङ सहायक प्रवन्धक आस्था सत्यालले सम्झौतापत्रमा हस्ताक्षर गरे।
नेपाल क्रिकेट संघ (क्यान) ले आगामी मंसिर १ गतेदेखि एनपिएलको दोस्रो संस्करण आयोजना गर्ने तयारी गरिरहेको छ। यसै दोस्रो संस्करणका लागि कर्णाली याक्सले एसियन पेन्ट्ससँग सहकार्य अगाडि बढाएको हो। कर्णालीका निर्देशक घिमिरेले पेन्ट्ससँग जोडिन पाउँदा खुसी लागेको उल्लेख गरे। साथै उनले दोस्रो संस्करणका लागि कर्णाली तयार रहेको बताए। एनपिएलको पहिलो संस्करणमा कर्णाली याक्स दोस्रो क्वालिफायरसम्म यात्रा गर्न सफल भएको थियो।
यस संस्करणमा पनि कर्णालीले राम्रो प्रदर्शन गर्ने लक्ष्य राखेको छ। सहप्रायोजन सम्झौता कार्यक्रममा एसियन पेन्ट्सका मार्केटिङ सहायक प्रबन्धक अंकिता श्रेष्ठ पनि उपस्थित थिइन्। यसअघि कर्णाली याक्सले हस्पिटालिटी पार्टनरमा होटल याक एण्ड यति, नेबिको र प्लम्बर पाइप्ससँग सहकार्य अगाडि बढाइसकेको छ।
दोस्रो संस्करणका लागि कर्णालीले तीन विदेशी खेलाडी अनुबन्ध गरिसकेको छ। कर्णालीले जेम्स वाट र म्याक्स ओ डाउडलाई अनुबन्ध गरेको छ। वाट र डाउडले पहिलो पटक एनपिएल खेल्दैछन्। कर्णालीले अस्ट्रेलियाका विलियम बासिष्टोसँग पनि सम्झौता नवीकरण गरेको छ। अघिल्लो सिजन उनले राम्रो प्रदर्शन गरेका थिए। क्यानले दोस्रो संस्करणका लागि फ्रेन्चाइज टोलीको सहरमा ट्रफी टुरको योजना सार्वजनिक गरेको थियो।
त्यसमध्ये केही स्थानमा ट्रफी टुर भइसकेको छ। कर्णाली याक्सले अब कर्णाली प्रदेशका विभिन्न स्थान, धार्मिकस्थल र पर्यटकीय क्षेत्रमा आगामी नोभेम्बर २ तारिखमा ट्रफी टुर गर्दैछ। कर्णाली त्यसपछि नोभेम्बर ५ मा ट्यालेन्ट हन्ट गर्ने तयारीमा छ।
कर्णाली याक्सले दोस्रो संस्करणका लागि पनि ज्ञानेन्द्र मल्ललाई नै प्रशिक्षकमा निरन्तरता दिएको छ। कर्णालीको कन्सल्ट्यान्टमा राजु बस्नेत छन्। नेपाली क्रिकेटको सबैभन्दा अनुभवी खेलाडी सोमपाल कामी मार्की रहेको कर्णाली याक्सले यस सिजन गुल्सन झा, नन्दन यादव, विपिनप्रसाद शर्मा, दीपेन्द्र रावत, अर्जुन घर्ती र युनिससिंह ठकुरीलाई रिटेन गरेको छ। मिनी अक्सनबाट पवन सर्राफ, युवराज खत्री, इमरान शेख र दीपक डुम्रेलाई अनुबन्ध गरेको थियो।
प्रकाशित: १२ कार्तिक २०८२ ०७:२८ बुधबार





