नेपाल प्रिमियर लिग (एनपिएल) को फ्रेन्चाइज टोलीको कर्णाली याक्सले आफ्ना धार्मिक स्थल तथा पर्यटकीय क्षेत्रमा ट्रफी यात्रा सम्पन्न गरेको छ।
कर्णाली याक्स स्पोटर्स प्रालि एनपिएलको दोस्रो संस्करणअगावै कर्णाली प्रदेशका विभिन्न क्षेत्रमा एनपिएलको ट्रफी टुर गराएको हो। कर्णाली याक्सले कर्णाली प्रदेश क्रिकेट संघसँगको समन्वयमा पहिलो दिन (मंगलबार) सल्यानको कुपिण्डे ताल र खलंगा बजारमा ट्रफी यात्रा गरेको थियो।
दोस्रो दिन सुर्खेतको काँक्रेविहारसँगै वीरेन्द्रनगर परिक्रमा गराइएको थियो। सो क्रममा हजारौं विद्यार्थी र स्थानीयले ट्रफी नजिकैबाट अवलोकन गर्ने अवसर पाए। बिहीबार प्रसिद्ध धार्मिकस्थल देउतीबज्यै मन्दिरमा पुर्याएर ट्रफीलाई सुदूरपश्चिम पठाइएको थियो। कार्यक्रममा स्थानीय निकायका प्रतिनिधिहरूको पनि उत्साहजनक रूपमा सहभागिता रह्यो।
बुधबार काँक्रेविहारबाट कर्णाली प्रदेशका सामाजिक विकासमन्त्री घनश्याम भण्डारी र आर्थिक मामिला तथा योजनामन्त्री राजीवविक्रम शाहले ट्रफी अनावरण गरेका थिए। ट्रफी यात्राका कर्णाली याक्सका प्रतिनिधिसँगै कन्सल्ट्यान्ट प्रशिक्षक राजु बस्नेत, एनालिष्ट रवि थापा तथा खेलाडीहरू विपिनप्रसाद शर्मा, युनिससिंह ठकुरी, पवन सर्राफ, युवराज खत्री, इमरान शेख र दीपक डुम्रे सहभागी थिए। पहिलो संस्करणमा कर्णाली याक्सले दोस्रो क्वालिफायरसम्मको यात्रा तय गरेको थियो। यस संस्करण पनि कर्णालीले आफ्नो तयारी सुरु गरिसकेको छ।
प्रकाशित: २२ कार्तिक २०८२ ०८:११ शनिबार





