१०औं राष्ट्रिय खेलकुदअन्तर्गत क्रिकेट प्रतियोगितामा बिहीबार पुरुषतर्फको उद्घाटन खेलमा सहआयोजक कर्णाली प्रदेश विजयी भएको छ । कालुन्चोक मैदानमा भएको उद्घाटन खेलमा कर्णालीले सुदूरपश्चिम प्रदेशलाई छ विकेटले हरायो ।
कर्णालीले टस जितेर सुदूरपश्चिमलाई व्याटिङको निम्तो दिएको थियो । सुदूरले निर्धारित ओभरमा आठ विकेटको क्षतिमा १२७ रन बनायो । सुदूर पश्चिमका लागि ओपनर अभिषेक पालले सर्वाधिक २८ रन बनाए । २७ बल खेलेका उनले पाँच चौका प्रहार गरे । अर्का ओपनर खड्क बोहोरा दुई रनमै आउट हुँदा तेस्रो क्रममा व्याटिङ गर्न आएका दिपक बोहोराले १८ रन बनाए ।
यस्तै किरणकुमार ठगुन्नाले १४, दिपक रोकायाले १३, कप्तान नारायण जोशी र वशन्तसिंह कार्कीले समान ११–११ रन बनाए भने सौर्य श्रेष्ठले सात, अशोक धामीले छ, लोकेन्द्र चन्दले तीन रनको योगदान दिए ।
सुदूरपश्चिमलाई सस्तैमा रोक्ने क्रममा कर्णालीका बलरहरुले कसिलो बलिङ गरे । कर्णालीका दिनेश अधिकारीले चार ओभर बलिङ गर्दै १४ रन खर्चिएर दुई महत्वपूर्ण विकेट लिए । यस्तै राजकुमार शाही र दिवान पुनको खातामा पनि दुई–दुई विकेट गह्यो भने युनिषविक्रम सिंह ठकुरी र प्रकाश जैसीले एक–एक विकेट लिए ।
१२८ रनको लक्ष्य पछ्याएको कर्णालीले १३.३ ओभरमा चार विकेट गुमाउँदै लक्ष्य पूरा गर्यो । चौथो क्रममा व्याटिङ गर्न आएका विपिन रावलले ६० रनको नटआउट पारी खेल्दै कर्णालीलाई विजय गराए । ३५ बल खेलेका विपिनले चार चौका र चार छक्का प्रहार गरे । ओपनर दिनेश रावतलाई शून्यमै गुमाएको कर्णालीको सुरुवाती तीन विकेट २८ रन बनाउँदा सस्तैमा गुमाएको थियो । मनिष थापा १३ र निस्चल रावल आठ रनमै आउट भएका थिए ।
चौथो विकेटका लागि विपिन र कप्तान रविन्द्रजंग शाहीले महत्वपूर्ण ५२ रनको साझेदारी गरे । कर्णालीले ८० रन बनाउँदा कप्तान रविन्द्र १३ रनमा आउट भएका थिए । रविन्द्र आउट भएपछि विपिनले दिनेश अधिकारीसँग मिलेर कर्णालीलाई जित दिलाए । आठ बल खेलेका दिनेशले एक छक्का र एक चौकाको मद्दतमा १५ रनको नटआउट पारी खेले ।
सुदूरपश्चिमका भोजराज भट्टले दुई तथा कप्तान नारायण जोशी र सूर्य श्रेष्ठले एक–एक विकेट लिए । नटआउट ६० रन बनाएका विपिन प्लेयर अफ द म्याच भए ।
प्रकाशित: १० मंसिर २०८३ १४:४१ बिहीबार



-600x400.jpg)

