३ वैशाख २०८३ बिहीबार
image/svg+xml
खेल

विवादित अभिव्यक्तिलाई ‘मजाक’ भन्दै करणले माफी मागे, संघद्वारा कारबाहीको माग

नेपाली राष्ट्रिय क्रिकेट टोलीका सदस्य करण केसीलाई नेपाल क्रिकेट अम्पायर्स तथा स्कोरर्स संघ (कुसान) ले कारबाहीको माग गरेको छ। 

राष्ट्रिय टोलीका अनुभवी बलर करणले सामाजिक सञ्जालमा अम्पायरमाथि निन्दनीय अभिव्यक्ति दिएको भन्दै अम्पायर्स तथा स्कोरर्स संघले कारबाही माग गरेको हो। 

राष्ट्रिय टिमका सिनियर खेलाडी करणले अम्पायरलाई पिटेको खण्डमा कति खेलसम्म प्रतिबन्ध होला भन्ने सामाजिक सञ्जालमा पोस्ट गरेका थिए। ‘यदि कुनै पनि खेलाडीले अम्पायरलाई गल्तीले पिट्यो भने कति खेल प्रतिबन्ध हुन्छ ? जानकारीको लागि ? खेलाडीको ज्ञान र सुरक्षाका लागि’ उनले सामाजिक सञ्जालमा राखिएको पोस्टमा कमेन्ट गरेका थिए। 

विवादपछि उनले माफी माग्दै सामाजिक सञ्जालमा लेखेका छन्, ‘यदि खेलाडी र अम्पायरबिच हातपात हुँदा के हुन्छ होला ? भनेर मजाकका रूपमा लिएको एउटा जिज्ञासा व्यक्त गरेको थिएँ। क्रिकेटमा अम्पायर, कोच र खेलाडी सबै एउटै परिवारजस्तो हुने भएकोले उक्त मजाक गरेर लेखिएको अभिव्यक्तिले कसैलाई ठेस पुगेको भए क्षमायाचना गर्दछु।’

संघले शनिबार प्रेस विज्ञप्ति जारी गर्दै करनको उक्त अभिव्यक्तिप्रति गम्भीर ध्यानाकर्षण भएको उल्लेख गरेको छ। साथैयस्तो कार्य निन्दनीय भएको भन्दै घोर भर्त्सनासमेत गरेको छ। यस्तो अभिव्यक्तिले अम्पायरहरूको पेशागत सुरक्षा तथा आत्मसम्मानमा ठेस पुर्‍याउने भएकाले निरुत्साहित गर्न नेपाल क्रिकेट संघ (क्यान) समक्ष कडा कारबाही गर्न अम्पायर्स तथा स्कोरर्स संघले आग्रह गरिएको छ। 

करणले ट्रोल क्रिकेट नेपाल नामक फेसबुक पेजमा सन्दीप लामिछानेले अम्पायरसँग विवाद गरेको विषयमा राखेको पोस्टमा कमेन्ट गरेका थिए। प्रधानमन्त्री कप एकदिवसीय क्रिकेटमा शुक्रबार बागमती र मधेश प्रदेश बिचको खेलमा बागमतीका बलर प्रतीश जिसीले मधेशका आदिल आलमविरुद्ध गरेको एलबिडब्लु अपिल गरेका थिए। तर अम्पायरले नटआउट दिएका थिए। यसपछि बागमतीका कप्तान सन्दीप लामिछाने र अम्पायरबिच विवाद भएको थियो। 

प्रकाशित: २९ चैत्र २०८२ १२:३५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App