नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत पोखरा एभेन्जर्सविरुद्धको खेलमा सुरुवाती आक्रामकता देखाएको जनकपुर बोल्ट्स १० ओभरको समाप्तिमा दबाबमा परेको छ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा ड्रिङ्क्स ब्रेक हुँदासम्म जनकपुरले २ विकेट गुमाएर ५७ रन बनाएको छ।
टस हारेर पहिले ब्याटिङ गरेको जनकपुरले पहिलो ६ ओभरको पावरप्लेमा बिनाक्षति ४५ रन जोडेर सानदार सुरुवात गरेको थियो। तर, त्यसपछिका ओभरहरूमा पोखराका अनुभवी अलराउन्डर शाकिब अल हसन चम्किएपछि जनकपुरको रनगतिमा ब्रेक लाग्यो।
जनकपुरले पछिल्ला ४ ओभरमा १२ रन मात्र जोड्न सक्यो भने दुई महत्त्वपूर्ण विकेट गुमायो।
पोखरालाई खेलमा फर्काउने क्रममा शाकिबले २ ओभर बलिङ गर्दै मात्र ३ रन खर्चेर २ विकेट लिएका छन्। उनले सातौं ओभरमा मोइन अलीलाई २१ रनमा र नवौं ओभरमा सैफ हसनलाई १ रनमै बोल्ड आउट गरे।
हाल क्रिजमा ओपनर त्रित राज दास ३० बलमा ५ चौकासहित २८ रन बनाएर टिकिरहेका छन् भने उनलाई कप्तान हरमित सिंहले ५ रन बनाएर साथ दिइरहेका छन्।
पोखराका लागि अर्का स्पिनर मेहदी हसनले पनि किफायती बलिङ गर्दै २ ओभरमा १ मेडनसहित ४ रन मात्र दिएका छन् भने कप्तान कुशल भुर्तेलले १ ओभरमा ४ रन खर्चेका छन्।
प्रकाशित: १५ कार्तिक २०८३ १७:५१ आइतबार





